लामो सयमदेखि मुर्झाएको अमेरिकाको गैरआवासीय नेपाली संघलाई ब्युताएर यसलाई संस्थागत बनाउने र यसको आकारलाई केही सयबाट बढाएर १० हजारभन्दा माथि पुर्याउने अभियन्ता हुन् खगेन्द्र क्षेत्री । उनकै प्रयासले गैरआवासीय नेपाली संघ अमेरिका संसारकै सबैभन्दा ठूलो एनआरएन राष्ट्रिय समन्वय समिति बन्यो । काठमाडौंमा एनआरएन भवन निर्माण र भूकम्प राहत तथा उद्दार कार्यमा पनि उनले निर्णायक भूमिका गरे । अहिले उनी संघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार हुन् ।
सन् १९६० मा गुल्मीमा जन्मेका खगेन्द्र क्षेत्री गुल्मी, नवलपरासी र काठमाडौं हुदै अमेरिका पुगेका हुन् । पेशाले कानून व्यवसायी उनी विगत ३५ वर्षदेखि अमेरिकामा कानुनी व्यवसायमा छन् । अमेरिकामा पहिलो नेपाली कानून व्यवसायी क्षेत्रीले विश्वप्रसिद्ध कोलम्बिया युनिभर्सिटीबाट कानूनमा मास्टर र फोर्डम युनिभर्सिटीबाट जुरिष्ट डक्टरेट गरेका छन् । अमेरिकामा सुरपर लयरबाट सम्मानित उनी पहिलो र एकमात्र नेपाली एटोर्नी हुन् । अमेरिकी बार एसोसियसन, न्युयोर्क बार एशोसियसन जस्ता प्रतिष्ठित पेशागत संस्थाको सदस्य क्षेत्रीले इन्डो–नेपाल बार एशोसियसनको महासचिवको महत्वपूर्ण जिम्मेवारी पनि निर्वाह गरिसकेका छन् । स्वतन्त्र कानून व्यवसाय सुरु गर्नुअघि उनले केही समय न्युयोर्क सिटीको मानवअधिकार आयोगमा रहेर काम गरेका थिए ।
कानून व्यवसायलाई अमेरिकामा रहेका नेपालीको सेवा गर्ने समाजसेवाको माध्यम बनाएका उनले आफ्नो सेवालाई अमेरिकाका तीन राज्य न्युयोर्क, टेक्सास र क्यालिफोर्नियामा फैलाएका छन् । पछिल्लो समय नेपालमा पनि सेवा बिस्तार गरेका उनले यसबीचमा हजारौं नेपालीलाई अमेरिकामा कानूनी हैसियतका साथ गौरवपूर्ण जीवन बिताउने स्थितिमा पु¥याएका छन् ।
अमेरिकाको नेपाली डायस्पोराका विभिन्न संघसंस्था र फोरममा रहेर काम गर्दै आएका उनी अमेरिका–नेपाल मेडिकल फाउण्डेसन र नेपाल–अमेरिका मैत्री संघको बोर्ड मेम्बरका रुपमा पनि कार्यरत छन् । उनले प्रवासमा रहने नेपालीको सबैभन्दा पुरानो संस्था नेपाली जनसम्पर्क समिति, अमेरिकाको सभापतिको भूमिका पनि निर्वाह गरे । एलायन्स फर डेमोक्र्सी एन्ड ह्युमन राइट्सको संस्थापक अध्यक्ष क्षेत्रीले नेपाल सेन्टरको संयोजकको जिम्मेवारी पनि वहन गरे ।
अमेरिकाका नेपालीको सही प्रतिनिधित्व गर्ने ठानेर नै उनलाई गैरआवासीय नेपाली संघ, अमेरिकाले आसन्न सातौ महाधिवेसनमा उपाध्यक्षको उम्मेद्वारका रुपमा प्रस्तुत गरेको छ । उनी आफ्नो उम्मेद्वारीको औचित्य पुष्टि गर्दै भन्छन्, मेरो उम्मेद्वारी संसारमै सबैभन्दा बढी सदस्य रहेको एनआरएन अमेरिकाको एनआरएन आइसीसीमा सम्मानजनक प्रतिनिधित्वको प्रश्न हो । र, संसारभरका एनआरएन एनसीसी र एनआरएन एनसीसी अमेरिकाबीचको सहकार्यको प्रारम्भ विन्दु पनि हो ।
गैरआवासीय नेपाली संघमा उद्यमी र व्यापारी मात्र हैन, व्यवासायिक व्यक्तित्वहरुको पनि उपस्थिति हुनुपर्ने बताउँदै उनी भन्छन्, म कानून व्यवसायी हुँ । मैले एकपटकको नेपाली सधैंको नेपालीकाु मूल मर्ममा रहेर सुरुदेखि नै काम गरेको छु । फलस्वरुप हामीले गैरआवासीय नागरिकताको संवैधानिक प्रत्याभूति पनि पाएका छौं । तर, त्यसलाई कानुन बनाएर लागू गर्नुपर्ने महत्वपूर्ण र जटिल काम बाँकी छ । त्यही काम सम्पन्न गर्न पनि संघलाई मेरो आवश्यकता छ भन्ने मलाई लागेको छ ।
गैरआवासीय नेपाली संघमा पसेपछि सधैभरी त्यही बसिरहने प्रवृतिको आलोचना गर्दै उनी भन्छन्, संघलाई कर्मचारीतन्त्रजस्तो बढुवा प्रवृतिमा चलाउने या पेन्सन नपाकुन्जेल त्यही पदमा बसिरहने अखडा बनाउनु हुँदैन । त्यसो भयो भने नयाँ सोच र कोण भएका र संस्थामा रहेर योगदान गर्न चाहने नयाँ व्यक्तिले मौका नै पाउँदैनन् । र, यो एउटा पुरातनवादी र औपचारिक संस्था मात्र बन्छ ।
गैरआवासीय नेपाली संघलाई भौगोलिक हिसावले पनि समावेसी बनाउनुपर्ने बताउँदै उनी भन्छन्, ‘सांगठनिक हिसावले ६ क्षेत्रमा बाँड्ने तर भए भरका पदाधिकारी एउटै क्षेत्रबाट मात्रै राख्ने, मलाई यो प्रवृति पनि ठीक लागेको छैन । यदि त्यसो हो भने यो कसरी ग्लोबल हुन्छ । कुनै एउटा देशको या क्षेत्रको एनआरएन मात्र हुन्छ । यो सोचले हाम्रा अग्रजहरुले बनाउन चाहेको जस्तो एनआरएन बन्दैन, एक किसिमको सिन्डिकेट मात्र बन्छ ।’
उत्तर अमेरिका क्षेत्रले यसपटक पदाधिकारीमा उचित स्थान पाउनुपर्ने तर्क गर्दै उनी भन्छन्, ‘सन् २०११ देखि उत्तर अमेरिका क्षेत्रले पदाधिकारीमा कुनै स्थान नै पाएको छैन । यसै क्षेत्रको संयुक्त राज्य अमेरिका विश्वकै सबैभन्दा ठूलो सदस्य संख्या भएको एनआरएन राष्ट्रिय समन्वय समिति हो भने क्यानाडा उर्वरशील नेपाली डायस्पोरा हो । यी दुई मुलुक रहेको उत्तर अमेरिका क्षेत्रलाई बाहिर पारेर एनआरएनको पदाधिकारी बोर्ड पूर्ण हुन्छ भन्ने मलाई लाग्दैन । विश्वभरबाट छानिएर आएका प्रवुद्ध प्रतिनिधिले यसबारेमा विचार पु¥याउनैपर्छ ।’
एनआरएनका अग्रजहरुले आफूमाथि न्याय गर्ने बताउँदै उनी भन्छन्, ‘एनआरएनको सांगठनिक बिस्तारमा पछि परेको अमेरिकालाई संसारकै सबैभन्दा बढी सदस्य भएको एनआरएन एनसीसी बनाएँ । यसको सांगठनिक मात्र हैन, संसथागत विकास पनि गरें । नौ महिनामा साधारणसभा गरेर नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण गरे ।
एनआरएनको भवन निर्माणमा होस् या भूकम्पको पीडामा मल्हम लगाउन होस्, हामीले नै सबैभन्दा बढी आर्थिक सहयोग गर्यौं । मलाई लाग्छ, मेरो यो मेहेनत र संस्थाप्रतिको प्रतिवद्धता उहाँहरुले पनि देख्नु नै भएको छ । यस्तो अवस्थामा उहाँहरुले टिम बनाउँदा मलाई बाहिर पार्नु हुने छैन भन्ने मेरो विश्वास हो ।’
प्रजातन्त्रमा कुनै पनि संस्थामा रहेको हरेक सदस्यलाई विधानले दिएको अधिकारको उपयोग गर्दै उम्मेद्वार हुने अधिकार रहेको बताउँदै उनी भन्छन्, ‘म सबै उम्मेद्वारको प्रजातान्त्रिक अधिकारको सम्मान गर्छु । चुनावलाई म पनि स्वस्थ अभ्यास गर्छु र प्रतिस्पर्धी साथीहरुबाट पनि त्यस्तै अभ्यासको अपेक्षा गर्दछु ।’
अमेरिकाका एक सय १५ मतदाता यो निर्वाचनमा निर्णाक हुने बताउँदै उनी भन्छन्, ‘यो मतको सम्मान गर्न पनि विश्वभरका एनआरएन नेता तथा प्रतिनिधिहरुलाई अनुरोध गर्दछु ।’ अमेरिकी मतदातालाई आफ्नो स्वाभिमान जगाउन आव्हान गर्दै उनी भन्छन्, हामीले हामी समेतको ग्लोबल एनआरएन बनाउने हो । हाम्रो पहिलो र एकमात्र एजेण्डा त्यही हुनुपर्छ । हामीले फर्कदा हाम्रो उपस्थिति क्षेत्रीय संयोजक या उपसंयोजकको पदेन हैसियतमा मात्र हैन, प्रष्टसँग देखिने पदाधिकारीमा पनि हुनुपर्छ ।’
प्रस्तुति: सूर्य थापा, न्यूयोर्क
















प्रतिक्रिया