साना, २१ असोज । साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले यमनमा गरेको हवाई कारबाही एक विवाह समारोहमा परेको समाचार छ ।
सो कारबाहीमा परी कम्तीमा पनि १३ जना सर्वसाधारणको ज्यान गएको एक समाचारमा जनाइएको छ ।
सो समारोहमा सहभागी भइरहेका सर्वसाधारण व्यक्ति मारिएका हुन् । यमनको राजधानी सानाबाट करिब १०० किलोमिटर दक्षिणमा पर्ने सानबानमा सो हमला भएको थियो ।
बुधबार साँझ दर्जनौँ गाउँले विवाह समारोहमा सहभागी भई मनोरञ्जन गरिरहेका बेला यसरी सेनाले हवाई कारबाही गरेको थियो ।
उक्त समारोहलाई नै लक्षगरी गरिएको सो सैनिक हमलामा परी अरू पनि कैयौँ नागरिक घाइते भएका बताइएको छ ।
घाइते भएकामध्ये अधिकांशको अवस्था अत्यन्तै नाजुक रहेको पनि पाइएको समाचारमा जनाइएको छ ।
यस विषयमा साउदी सेनाले भने कुनै प्रतिक्रिया दिएको छैन । उक्त सेनाले गएको मार्च महिनादेखि यमनमा सुरु गरेको यस्तो हवाई कारबाही अन्त्यन्तै विवादास्पद हुँदै आएको छ ।
अधिकारवादीहरुले साउदी सेनाले यसअघि पनि पटकपटक यसरी निर्दाेष नागरिकमाथि नै हमला गर्ने गरेको पाइएको बताउँदै आएका छन् ।
पछिल्लो समयमा यमनमा हुथीहरुले विद्रोह सुरु गरेपछि साउदी सेना यमनमा भित्रिएको हो । गत मार्च महिनामा हुथीले यमनी राष्ट्रपतिलाई नै भगाएका थिए ।
यमनी राष्ट्रपति नै यसरी साउदी अरेबियाको शरणमा पुगेपछि साउदी अरेबियाले सेना पठाएको हो ।
साउदी अरेबियाको शरणका लागि त्यहाँ पुग्नुभएका राष्ट्रपति आबेदरब्बो मन्सोउर हादी ६ महिनापछि भने हाल स्वदेश फर्किनु भएको छ । तर यमनमा हिंसा भने रोकिएको छैन ।
यमनको वैधानिकता पुनः प्राप्ति भई वैधानिक राष्ट्रपति पदमा अहिले पनि हादी नै भएको यमनी सरकारले बताउँदै आएको छ ।
हुथी विद्रोही समूहले राजधानी साना र आदेन सहरसमेत कब्जा गरेपछि गत मार्च महिनामा राष्ट्रपति हादी शरणको खोजीमा साउदी अरेबिया पुग्नुभएको हो ।
उहाँको अनुरोधमा साउदी अरेबियाले यमनी हुथी विद्रोहीविरुद्ध गत मार्चदेखि नै हवाई आक्रमण सुरु गरेको थियो । यमनका प्रधानमन्त्री खालेद बहालगायत कयौँ मन्त्रीहरु पनि यमन फर्किसकेका छन् । रासस/सिन्ह्वा















प्रतिक्रिया