काठमाडौं । गैरआवासीय नेपाली संघको काठमाडौंमा बनाउन लागिएको भवनका लागि रकम संकलन अभियान तिब्र पारिएको छ । अभियान अन्र्तगत हङकङ, मकाउ र चीनका गैरआवासीय नेपाली संघले रकम संकलन गरिरहेका छन् ।
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको उपस्थीतिमा जुन २० तारिखमा हङकङमा आयोजित डिनर बैठकमा एनआरएन हङकङ १७ लाख रुपैयाँ संकलन गरेको छ ।
एनआरएन हङकङको आयोजनामा भएको उक्त कार्यक्रममा भवन निर्माणका लागि सहयोग जुटाउन दिलिप गुरुङको संयोजकत्वमा भवन निर्माण सहयोग संकलन समिति समेत गठन गरिएको छ । सो अबसरमा एनआरएन हङकङलाई दिइएको ३० लाखको लक्ष्य सजिलै पुरा हुने एनआरएन हङकङका पदाधिकारीले अध्यक्ष घलेलाई जानकारी दिएका छन् । कार्यक्रममा भवन निर्माण योजना र त्यसमा भइरहेको प्रगतिबारे एनआरएन अध्यक्ष घलेले जानकारी गराउनुभएको थियो ।
मकाउले दोब्बर सहयोग गर्ने
यसैगरी, एनआरएन एनसीसी मकाऊले पनि काठमाण्डौमा निर्माण हुन लागेको भवनका लागि आफुलाई दिइएको लक्ष्यभन्दा दोब्बर सहयोग गर्ने घोषणा गरेको छ । नेपालीहरुको संख्या कम भएको र एनसीसीसको आकार पनि सानो भएकाले भवन निर्माण कार्यदलले मकाउलाई २ हजार अमेरिकी डलरको लक्ष्य दिएको थियो ।
एनआरएन आईसीसी अध्यक्ष घलेको उपस्थीतिमा जुन २२ तारिख मकाउमा भएको छलफल कार्यक्रममा एनसीसी मकाउका अध्यक्ष सुदर्शन थापाले ४ हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गर्नुभयो ।
‘काठमाण्डौमा एनआरएन भवन बन्नु हाम्रो सपना साकार हुनु हो, त्यसैले हामीलाई दिइएको लक्ष्यभन्दा दोब्बर सहयोग गर्ने घोषणा गर्दछु ।’ थापाले भन्नुभयो ।
एनसीसी चाइनाले संकलन गर्यो २ लाख रुपैयाँ
यसैवीच एनआरएन एनसीसी चाइनाले पनि एनआरएन भवन निर्माणका लागि २ लाख रुपैयाँ संकलन गरिसकेको छ भने केन्द्रले दिएको लक्ष्यअनुसार थप रकम संकलन अभियानलाई तिब्र बनाएको छ ।
एनआरएन आईसीसी अध्यक्ष शेष घलेको उपस्थीतिमा भएको डिनर कार्यक्रममा एनसीसीकी कार्यवाहक अध्यक्ष अमृता थापाले २ लाख रुपैयाँ सहयोग संकलन भइसकेको जानकारी दिनुभएको हो ।
अनुमानित १५ करोड रुपैयाँ लागतमा बनाउन लागिएको भवनका लागि एनआरएन अध्यक्ष शेष घलेको अध्यक्षतामा भवन निर्माण कार्यदल बनाइएको छ । जसले आगामी दुई बर्षभित्र काठमाण्डौमा भवन निर्माण सम्पन्न गर्ने योजना बनाएको छ । यसका लागि सम्बद्ध सवै देशका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्लाई रकम संकलनको लक्ष्य दिइएको छ । रकम संकलन अभियान अन्र्तगत अध्यक्ष घले हङकङ, चीन र मकाउ र थाइल्याण्डका बिभिन्न कार्यक्रममा सहभागी हुनुभएको हो ।














प्रतिक्रिया