नेकपा एमालेको नवौँ महाधिवशेनका लागि प्रतिनिधि छनोटका काम करिब–करिब सम्पन्न भएको छ, प्रतिनिधि छनोटलई कसरी लिनु भएको छ ?
तपाईं भने जस्तै अहिले करिब–करिब प्रतिनिधि छनोटका काम सम्पन्न भएको छ । मुलुकभरका अधिकाँश जिल्ला र विभिन्न तहबाट छनोट भएर आउनु भएका प्रतिनिधिहरु धेरै जसो सर्वसम्मत रुपम छनोट भएका छन् । हामीले मुख्य गरेर पार्टीको आठौँ महाधिवशेनपछि पार्टीको आन्तरिक लोकतन्त्रका नाममा तल्लो तहसम्म पनि भोटिङ गर्ने प्रचलन ल्यायौँ । तर, यो महाधिवेशनमा हाम्रो तल्लो तहदेखिका कमरेडहरुले प्रतिनिधि छनोटका सन्र्दभमा पनि अत्यन्त जिम्मेवार भएर प्रस्तुत भएको हामीले महसुस गरेका छौँ । अहिलेको प्रतिधिनि छनोटले पनि आन्तरिक लोकतन्त्रका नाममा पार्टीलाई विभाजन वा ध्रवीकृत गरेर जाने होइन, पार्टीलाई अझ बलियो वनाएर लैजानुपर्छ भन्ने सन्देश दिन खोज्नु भएको देखिएको छ । उहाँहरु पार्टी एकतावद्ध हुनुपर्छ भन्ने पक्षमा उभिनु भएको छ । यसले पनि पार्टीको तल्लो तहका कमरेडहरु पार्टी एकतावद्ध होस भन्ने पक्षमा दृढ रहेको संकेत गर्छ । नेकपा एमालेको शक्ति पनि कार्यकर्ता नै भएकाले जुन ढंगले प्रतिनिधि छनोट भएको छ । यसमा म सन्तुष्ट छु । त्यति मात्र होइन, अहिले जति पनि प्रतिनिधि छनोट भएर आउनु भएको छ । उहाँहरु पर्टीको विचार, नीति र सिद्धान्तलाई बोक्न सक्ने हुनुहुन्छ । अझ भनौँ छानिएर आएका प्रतिनिधि मध्ये पनि बहुमत भन्दा पनि बढी प्रतिनिधि हाम्रो विचार, नीति र सिद्धान्तसँग नजिक हुनुहुन्छ । उहाँहरु सबैले विचार, नीति र सिद्धान्तका हिसावमा माधवकुमार नेपाललाई नै अध्यक्षका रुपमा अघि सार्नु भएको छ । यसरी हेर्दा हामी प्रतिनिधि छनोट पछि अझ उत्साहित भएका छौँ ।
प्रतिनिधिको संख्याकै हिसावमा भन्दा माधवकुमार नेपाल कुन–कुन जिल्लामा बलियो भएको अनुमान गर्नुभएको छ ?
हामी मसिनो ढंगबाट कुन जिल्लाबाट, कुन–कुन जनवर्गीय संगठनबाट को–को नेपालको पक्षमा को–को ओलीको पक्षमा भनेर प्रतिनिधिलाई नै विभाजित गर्ने पक्षमा छैनौँ । तर, सरसर्ती हेर्दा ठूला अञ्चल जस्तैः कोशी, नारायणी, लुम्विनी, उपत्यका, बागमती, जनकपुर, महाकाली लगायतका अञ्चलमा हामीले सोचेभन्दा राम्रो नतिजा प्राप्त गरेका छौँ । अन्य अञ्चलमा पनि हामी बलियो देखिएका छौँ । मेची, गण्डकी, धौलागिरीलगायतका केही अञ्चलमा भने कडा प्रतिष्पर्धा छ । भारत प्रवासमा हाम्रो विचार समूहका करिब ९० प्रतिशत प्रतिनिधि आउने अनुमान छ । अन्य प्रवासमा पनि बहुमत छ । केन्द्रीय सम्पर्क कमिटी लगायतमा पनि उत्साहजनक रहको छ । केही साथीहरुले कव्जाको नीति अपनाएर भएपनि जित हासिल गर्ने चाहना राख्नुभएको होला । प्रतिनिधि छनोट क्रममा उहाँहरुले देखाको अशोभनीय शैलीले पनि त्यो कुराको संकेत गरेको छ । उहाँहरुको त्यो शैलीप्रति दुःख लागेको छ । त्यसरी पार्टी चल्न सक्दैन ।
तर, नेता केपी शर्मा ओली समूहले त करिब ७० प्रतिशत प्रतिनिधि नेतृत्व हस्तान्तरणको पक्षमा रहको दाबी गरेको छ नि त ?
मुलुकभरबाट प्रतिनिधि छनोटको परिणाम आएपछि नेता ओलीको विचार समूहका केही नेताहरुसँग मेरो भेट एमाले मुख्यालय बल्खुमा भएको थियो । उहाँहरु प्रतिनिधि छनोट अघिसम्म गौरवका साथ ७० प्रतिशत माथिका कुरा गर्नुहुन्थ्यो । तर, उहाँहरुमा त्यो उत्साह मैले बल्खुमा पाइन । उहाँहरु एकदम निराश, हतोत्साही र विचलित देखिनुहुन्थ्यो । उहाँहरुको मनोविज्ञानले पनि त्यही भनि रहेको थियो कि उहाँहरुले अनुमान गरेको जस्तो प्रतिनिधि छनोट भएको थिएन । त्यति मात्र होइन, उहाँहरु अर्को विकल्प खोज्नेसम्मको अवस्थामा रहको मैले पाएँ ।
एमाओवादीलाई तह लगाउनेदेखि पार्टीलाई यो स्थानसम्म ल्याउने भुमिका नेता ओलीकै रहको भन्दै उहाँलाई नै एकपटक नेतृत्व दिनुपर्छ भन्ने तर्क पनि त बाहिर आएको छ नि ?
२०५७–०५८ सालतिर माओवादी उग्ररुपमा प्रस्तुत भएका बेला उसँग त्यही ढंगले प्रस्तुत हुने नेता को थियो ? त्यो बेला नेता ओलीका विचार कुन खालका प्रस्तुत हुन्थे ? त्यतिबेला उहाँ कहाँ हुनुहुन्थ्यो त्यो इतिहास हेरे काफी छ । एमाओवादीलाई शान्तिप्रक्रियामा ल्याउने सन्र्दभमा होस् या माधवकुमार नेपाल प्रधानमन्त्री र भीम रावल गृहमन्त्री रहेका बेला काठमाडौँ कव्जा गर्न आन्दोलन गरेका माओवादीलाई साइजमा ल्याउने भुमिकामा होस योगदान कसको बढी थियो ? त्यति मात्र होइन एमाले अराजनीतिक जत्था बोकेर अरुलाई तह लगाउँदै हिड्ने पार्टी होइन । त्यसैले दुई–चार जना नेताका तिखा भाषणले एमाओवादी तह लाग्यो भन्ने तर्क जनताको बहुदलीय जनवादसँग मेल खाने तर्क होइनन् ।
अमुक–अमुक व्यक्तिका नाम लिएर त्यस्ता खालका तर्क गर्नुको कुनै औचित्य छैन । उहाँले नै एमाओवादीलाई तह लगाएको हो भने अहिले भारतमा मोदी सरकारका लागि सबैभन्दा बढी टाउको दुखाई भारतीय माओवादी बनेको छ । माओवादीलाई तह लगाउँन रोलमोडेलका रुपमा उतै मोदीले झिकाए भैहाल्यो नि ।
देश दौडाहाले मात्र पार्टीको नेतृत्व गर्न सकिन्न भन्ने आरोप ओली समूहले तपाईंहरुलाई लगाएका छन नि ?
त्यस्ता कुराको टिप्पणी गर्नु खासै जरुरी छ जस्तो मलाई लाग्दैन । हामीले अहिलेसम्म पनि नेता केपी शर्मा ओलीको स्वास्थ्यको विषयलाई लिएर केही पनि टिप्पणी गर्ने गरेका छैनौँ । बरु उहाँहरुले नै नेता ओलीको स्वास्थ्य अवस्थालाई अतिरञ्जनापूर्ण ढंगले टिप्पणी गर्ने गर्नुभएको छ । उहाँहरुले नै नेता ओलीलाई सिसाको घरभित्र राखेर भए पनि पार्टी चलाउँछौँ, उहाँलाई स्ट्रेचरमा बोकेर भएपनि अध्यक्ष बनाउँछौँ भनेर सस्ता खालका कुरा गर्ने गर्नुभएको छ । हामी त अहिले पनि उहाँ स्वस्थ्य हुनुहोस । अझै लामो समय बाँच्न सक्नुहोस । पार्टीमा क्रियाशील भएर काम गर्न सक्नुहोस भन्ने कामना गर्छौ । त्यसैले उहाँ अस्वस्थ्य भएकाले अध्यक्ष बन्न सक्नुहुन्न भन्ने हाम्रो तर्क हुँदै होइन । त्यसलाई उहाँहरुले नै अतिरञ्जनापूर्ण ढंगले चर्चा गर्नु भएको छ । अहिलेको सवाल भनेको परिवर्तित सन्दर्भमा पार्टीको नीति, विचार र दृष्टिकोणलाई कसले सही ढंगले बोक्न सक्छ भन्ने हो । यो कुरामा उहाँका कमजोरीहरु रहेका छन् । वदलिँदो समाजप्रति हेर्ने दृष्टिकोणमा उहाँ प्रष्ट हुनुहुन्न । २०६२–०६३ को जनआन्दोलनलाई हेर्ने दृष्टिकोणमा पनि उहाँ गलत हुनुहुन्छ । नेपाली समाज जसरी दु्रत गतिमा परिवर्तन भएको छ । त्यसलाई आत्मसात गरेर अघि बढ्ने सन्र्दभमा पनि उहाँका कमजोरी रहेका छन् । यी विविध कारणले हामीले माधवकुमार नेपाललाई अध्यक्ष बनउन खोजेका हौँ । हामी यो कुरामा कतै पनि अलमलमा परेका छैनौँ । अहिले पनि म उहाँलाई आरोप लगाउने पक्षमा छैन । उहाँ पनि हाम्रो पार्टीमा लामो समय योगदान गरेको नेता हो । तर, यो सन्दर्भमा उत्कृष्ट छान्ने हो भने नेपालको विकल्प नभएकाले हामीले माधवकुमार नेपाललाई अघि पार्टीको अध्यक्षका लागि अघि सारेको हो ।
माधवकुमार नेपाल नै अध्यक्ष बन्नुपर्ने कारण चाँहि के–के छन् ?
शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन, पार्टीभित्रका विभिन्न अन्तरविरोधलाई सामना गर्दै सबैलाई मिलाएर सन्तुलनकारी भुमिका खेल्न, समयम संविधान जारी गर्न, मुलुकलाई सम्वृद्धिको बाटोमा अघि बढाउन, पार्टीलाई कतै पनि नढल्किने विचार भएको पार्टी बनाउन पनि नेपालकै आवश्यकता हामीले ठानेका छौँ । त्यति मात्र होइन, एमालेलाई अव नेतृत्व मात्र होइन पुस्ता हस्तान्तरण चाहिएको छ । त्यसका लागि पनि हामीले छोटो उपयुक्त बाटो उहाँलाई यो पटक नेतृत्व दिँदा सहज हुन्छ भनेर अघि सारेको हो । अहिले चुनिएर आएका प्रतिनिधिको समर्थनले पनि आगामी नवौँ महाधिवेशनबाट नेता नेपाल अध्यक्ष बन्ने बाटो सहज बनेको छ । कुनै पनि प्रतिनिधिले उत्तेजनात्मक निर्णय गर्नुहुने छैन । उहाँहरुको निर्णय नै नेपालको जितका लागि हो ।
मुलुकभरबाट छनोट भएर आएका प्रतिनिधिलाई तपाई के भन्न चाहनुहुन्छ ?
पार्टीलाई विभाजन र धु्रवीकरणमा लैजाने काम तपाईँहरु कसैले पनि नगर्नु होस । पार्टीलाई स्थायी गुटबन्दीमा लैजाने हो भने त्यो पार्टी र कार्यकर्ता दुबैका लागि हानिकारक छ । नेकपा एमाले भनेको कार्यकर्ताले बनाएको पार्टी हो । तपाईंहरु सबै सकेसम्म महाधिवेशन हलमा पार्टीलाई सर्वसहमतिमा नेतृत्व चयन गराउनमा भुमिका खेल्नुहोस र यसले नै पार्टीको हितमा काम गर्ने छ ।
तपाईं कुन पदमा उठ्ने तयारीमा हुनुहुन्छ ?
म लामो समय विद्यार्थी राजनीतिमा काम गरेर आएको व्यक्ति हुँ । अहिले म केन्द्रीय कमिटीमा छु । म क्रियाशील रुपमा काम गरेका व्यक्ति भएकाले मेरो देशभरबाट आउनु भएका प्रतिनिधिहरुसँग एक खालको सम्वन्ध रहेको छ । योसँगै हामी महाधिवेशनका बेला छलफल गर्ने छौँ । कुन कमरेडले कुन जिम्मेवारी सम्हाल्दा उचित हुन्छ भनेर सल्लाह गरेर नै अघि बढ्ने छौँ ।












प्रतिक्रिया