सप्तरी, २१ असोज । विगत दुई महिनादेखि जारी मधेस आन्दोलनलाई समर्थन गर्ने सप्तरीका युवाहरूले मित्रराष्ट्र चीनको राष्ट्रिय झण्डा जलाएर भारतको पक्षमा नारावाजी गरेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नाकाबन्दीलाई भारतीय पक्षले सहयोग गरेपछि नेपाललाई चीनले सहयोग गर्ने इच्छा देखाएपछि त्यसको विरोधमा आन्दोलन पक्षधर उनीहरूले आक्रोशमा चीनको झण्डा जलाएका हुन् । बुधबार शंकर खिडहरी यादवको नेतृत्वमा जम्मा भएका उनीहरूले आफूहरू चीनविरुद्ध रहेको बताए ।
स्वतन्त्र मधेसी युवा समूह, सप्तरीको ब्यानर बोकेका मधेसी आन्दोलनकारीले चीनको विरोध र भारतको पक्षमा नारावाजी गरेका थिए । सप्तरी जिल्लाको पोर्ताहा, भारदह मधवापुरका युवाहरू चीनको झण्डा जलाउने कार्यमा संलग्न थिए ।
भारदह बजारमा भेला भएका मधेसी युवाहरूले चीनको विरोधमा चर्का नाराबाजी गरेका थिए । उनीहरू नेपालबाट चीन फिर्ता जा भनेका थिए । भारतले मधेसी आन्दोलनमा समर्थ गरेकोमा कसैले विरोध गर्न नहुने समेत उनीहरू जनाएका थिए ।
एक सयको संख्यामा भेला भएका मधेसी युवाहरूले चीन सरकारले मधेस विरोधी विज्ञप्ति प्रकाशित गरी मधेशी, थारुलगायतको मागलाई दमन गर्न खोजेको सरकारलाई मद्दत गरेको कारण झण्डा जलाइएको बताएका छन् ।












प्रतिक्रिया