काठमाडौं, २० भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा सभापति सुशील कोइरालाले सरकार गठनका विषयमा स्पष्ट धारणा नराखेपछि त्यस विषयमा आफू निकटका नेताहरुसँग गोप्य छलफल गर्नुभएको छ ।
काठमाडौंको बुढानीलकण्ठस्थित आफ्नै निवासमा नेता देउवाले आफू निकट दर्जन बढी केन्द्रीय सदस्यहरुसँग नयाँ सरकारको नेतृत्वका विषयमा छलफल गर्नुभएको हो । कांग्रेस नेता डा.प्रकाशशरण महतले भावी नयाँ सरकारका विषयमा पार्टीको बैठकमा सभापति कोइरालाले स्पष्ट नबताएपछि त्यस विषयमा छलफल आफूहरुले सामान्य रुपमा छलफल गरेको बताउनुभयो ।
‘अब बन्ने नयाँ सरकारका विषयमा आजको केन्द्रीय कार्यसमितिको बैठकमा स्पष्ट धारणा आएन’, उहाँले भन्नुभयो, ‘सरकार गठनका विषयमा कांग्रेसले आफ्नो स्पष्ट धारणा अगाडि ल्याउनुपर्छ । आफ्नो नेतृत्वमा सरकार बनाउने वा अरुलाई सहयोग गर्ने सबै कुरा छिटो स्पष्ट पार्नुपर्छ ।’
प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति कोइरालाले आफूलाई दोहर्याउन खोजेपछि देउवा समूहले अस्वीकार गर्दै आएको छ । कांग्रेसले सरकारको नेतृत्व गर्ने विषय आएमा कोइरालाले मार्गप्रसस्त गरी देउवालाई प्रधानमन्त्री छाड्नुपर्ने माग छ ।
देउवा समूहले नयाँ सरकारको नेतृत्व अरुलाई दिनुभन्दा कांग्रेसले नै लिनुपर्ने भन्दै पहल गर्न पनि जारी केन्द्रीय समितिमा दबाव दिने सहमति गरेको छ ।
बैठकमा डा.महतका साथै गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड, प्रदीप गिरी, विमलेन्द्र निधी, एन.पी. साउदलगायत दर्जन बढी नेताहरुको सहभागिता रहेको थियो ।












प्रतिक्रिया