– विमल योगी
काठमाडौं, २० असोज । प्रमुख तीन दलीय टोली र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सकारात्मक वार्ता भएको छ ।
बुधबार विहान सिंहदरबारमा भएको वार्तामा मधेसी मोर्चाले आन्दोलन रोक्ने संकेत गरेको छ । ‘हामीलाई सडकमा आन्दोलन गर्न रहर छैन् । हाम्रा मागलाई सरकारले गम्भीरताका साथ लिने हो भने आजै सहमति हुन्छ ।’ वार्तामा सहभागी सदभावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सञ्चारकर्मीसँग भने ।
उनले आजको वार्ता सकारात्मक भएपनि मधेसी मोर्चाको मागमा सरकारी पक्षबाट ठोस प्रस्ताव नआएकालेसहमति हुन नसकेको बताए । ‘आजको बैठकमा तीन दलीय वार्ता टोलीका सदस्यहरु विना तयारी आउनुभएको रहेछ । वार्ता सकारात्मक रह्यो तर, ठोस प्रस्ताव नआउँदा सहमति प्रक्रिया अगाडि बढ्न सकेन् ।’ सहअध्यक्ष कर्णले अहिले प्रचारप्रसार भइरहेको ३६ बुँदे, ३५ बुँदे माग मधेसी मोर्चाको नभएको स्पष्ट पारे । ‘आजको वार्ता एकदमै सकारात्मक छ, यसले हामीलाई सहमति नजिक पुर्याएको छ । अब ठोस प्रस्ताव आउनुप¥यो,’ उनले भने ।
यस्तै, वार्तामा सहभागी तीन दलीय टोलीका सदस्य नारायणकाजी श्रेष्ठले आजको वार्ता सकारात्मक रहेको बताए । ‘आजको वार्तामा मोर्चाले सहमतिमा आउने संकेत दिएको छ । वार्ताले अब छिट्टै सार्थकर्ता पाउँछ’ उनले भने ।
श्रेष्ठले मधेसी मोर्चालाई आन्दोलनको स्वरुप परिवर्तन गर्न आफूहरुले आग्रह गरेको बताए । ‘नाकाबन्दीले मुलुक र जनतालाई समस्या पार्यो, छिमेकी सम्बन्धलाई समस्या पार्यो भनेर आन्दोलन स्वरुप फिर्ता लिनस् भन्यौ । उहाँहरुले सकारात्मक जवाफ दिनुभएन् ।’ यस्तै, तीन दलीय वार्ता टोलीले विवादको मुख्य विषय सीमांकनलाई आयोगको जिम्मा लगाएर राजनीतिक सहमति गर्न प्रस्ताव गर्दा पनि मोर्चाले नमानेको श्रेष्ठले जानकारी दिए ।
वार्तामा मधेसी मोर्चाले उठाएका मागलाई तीन दलको शीर्ष बैठकमा छलफल गरेर शुक्रबार फेरि वार्ता गरिने उनले बताए । वार्तामा तीन दल तथा सरकारको तर्फबाट वनमन्त्री महेश आचार्य, एमाले नेता अग्नि खरेल र एमाओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए भने मोर्चाको तर्फबाट लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ल, लालबाबु राउत र राम नरेश राय थिए ।













प्रतिक्रिया