बागलुङ, १९ असोज गत वैशाखमा गएको भूकम्पमा परि बाँचेकाहरुको कथामा बनेको डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ को प्रदर्शनबाट पत्रकारिता पुरस्कार कोष स्थापना गरिएको छ । पत्रकार गणेश पाण्डेले निर्माण गरेको सो डकुमेन्ट्री प्रदर्शन गरि प्रेस चौतारी नेपाल, बागलुङ शाखाले कोष निर्माण गरेको हो ।
गत शुक्रबार प्रर्दशित डकुमेन्ट्रीको टिकट बिक्रीबाट संकलित रकमबाट रु. एक लाखको कोष बनाइएको चौतारीका अध्यक्ष उमाकान्त शर्माले बताउनुभयो । डकुमेन्ट्री प्रदर्शनबाट रु. एकलाख ३० हजार बचत भएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । ‘क्रियाशिल पत्रकारिता पुरस्कार कोष स्थापना गर्ने उद्देश्यले प्रदर्शन गरेका हौं’ अध्यक्ष शर्माले भन्नुभयो ‘कोषबाट हरेक वर्ष एक जना कृयाशिल पत्रकारलाई पुरस्कृत गर्नेछौं ।’ पुरस्कारको नाम क्रियाशिल पत्रकारिता पुरस्कार राखिएको छ । चौतारीले रु. एकहजार, पाँचसय र विद्यार्थी छुटमा टिकटहरु बिक्री गरेको थियो । तीन चरणमा गरि सयौं दर्शकहरु डकुमेन्ट्री हेर्नको लागि कालीगण्डकी सिनेमा हल पुगेका थिए ।
विद्यार्थीको चाप थेग्न नसकेपछि केही विद्यालयहरुमै समेत पुगेर प्रदर्शन गरिएको थियो । भूकम्पको प्रकोपमा परि बल्लतल्ल ज्यान जोगाएका व्यक्तिहरुको अनुभव समेटिएको डकुमेन्ट्रीमा उद्धारमा खटिएका साहसी सुरक्षाकर्मीका कथाहरुपनि समोवश थियो ।
भूकम्प गएको हप्तादिनपछि जिवितै उद्धार गरिएका घाइतेहरुको अनुभव सुन्दा–देख्दा दर्शकहरु स्तब्ध बनेका थिए । पाण्डेद्वारा निर्मित ‘भाग्यले बाँचेकाहरु’ यसअघि पनि देश–विदेशका विभिन्न ठाउँमा प्रर्दशन भइसकेको छ ।
प्रेस चौतारी नेपाल, बागलुङ शाखाले क्रियाशिल पत्रकारिता पुरस्कारसँगै पत्रकार कल्याणकारी कोषको पनि स्थापना गरिसकेको छ । रु. एक लाखकै कल्याणकारी कोषबाट पत्रकारहरुलाई भइपरी आउँदा आर्थिक सहायता प्रदान गर्ने गरिएको छ ।















प्रतिक्रिया