३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री बसेको होटलमा रकेट आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yeman_247422293

आदेन (यमन), १९ असोज । यमनको दक्षिणी सहर आदेनमा रहेको एक होटलमा बस्नुभएका यमनी प्रधानमन्त्रीलाई लक्ष्यगरी मङ्गलबार रकेट आक्रमण गरिएको समाचार छ ।

सो आक्रमणबाट प्रधानमन्त्री खालिद बहाभने सकुशल रहनुभएको बताइएको छ । त्यसमा परी कैयौँ व्यक्ति मारिएको आशङ्का गरिएको छ । सो होटलमा भएको आक्रमणमा परी केही व्यक्ति मारिएको र अरु केही घाइते भएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रत्यक्षदर्शीहरुले सो आक्रमण अत्यन्तै शक्तिशाली भएको भन्दै यसबाट मारिएका व्यक्तिको शव होटलमा देखिएको बताएका छन् ।

तर प्रहरीले भने सो होटललाई सुरक्षा घेरामा राखेर अनुसन्धान थालिएको र मारिने र घाइते हुने व्यक्तिको अवस्थाको बारेमा हालसम्म पूर्ण जानकारी नआएको बताएको छ ।

सुरक्षा अधिकारीहरुले उक्त भवनमा तीनवटा शक्तिशाली रकेट हमला भएको जानकारी दिएका छन् । यसको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन ।

केही दिनयतादेखि प्रधानमन्त्री बहा र उहाँका केही मन्त्रीहरु यमनको सो सहरमा बस्नुभएको छ । त्यहाँ जारी रहेको हुथी विद्रोहीहरुको आक्रमणबाट तुलनात्मक रुपमा सो सहरलाई सुरक्षित ठानेर उनीहरुलाई त्यहाँ राखिएको बताइएको छ ।

यमनमा पछिल्लो समयमा हुथी विद्रोहीहरुको विद्रोहका कारण समस्या उत्पन्न भएको छ । सो विद्रोहपछि यमनी राष्ट्रपति नै भागेर साउदी अरेबिया पुग्नुभएको थियो ।

तर अहिले भने उहाँ स्वदेश नै फर्किनुभएको छ । हाल उक्त विद्रोह केही मत्थर भएको भन्दै साउदी अरेबियाको नेतृत्वको सैनिक कारबाही पनि रोकिएको छ । रासस/एएफपी