लन्डन । अक्टोबर दोश्रो साता काठमाडौंमा हुन गैरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं महाधिवेशनमा संघको युरोप क्षेत्रीय संयोजकका प्रत्यासी कुल आचार्यलाई शुभकामना दिन लन्डनमा एक कार्यक्रम आयोजना गरिएको छ ।
युवा उद्यमी रवि लामिछानेको संयोजन तथा सभापतित्वमा आइतबार ब्लु अर्किड रेष्टुरेन्टमा आयोजित भेटघाटमा बेलायतस्थित एनआरएनका हस्तीहरुको उपस्थिति थियो ।
वक्ताहरुले आचार्य लगायत गैरआवासीय नेपाली संघको केन्द्रीय उपाध्यक्ष पदका प्रत्याशी लक्ष्यबहादुर गुरुङ, सचिव पदका प्रत्याशी सुरेन्द्र श्रेष्ठ तथा युरोप सहसंयोजक पदका प्रत्याशी थर्क सेनलाई पनि चुनावी सफलताको शुभकामना दिएका थिए। सो अवसरमा सबै उम्मेदवारहरुलाई टीका र खादा लगाइ शुभकामना दिइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि एनआरएन युकेका संरक्षक प्रा डा सूर्य सुवेदीले आचार्यलाई कूटनीतिक कुशलता र दूरदृष्टि भएका मेहनती व्यक्तिका रुपमा चित्रित गरे ।
उनले सबै उम्मेदवारहरुलाई शुभकामना दिंदै एनआरएनबाट नेपालले आर्थिक र बौद्धिक लगानीको अपेक्षा गरेको जनाए । उनले बेलायतबाटै एनआरएन अभियानको शुरुआत भएको जनाउँदै एनआरएनलाई थिङ्क ट्यांकका रुपमा विकास गर्न पनि सुझाव दिए ।
कार्यक्रममा बोल्दै एनआरएन युकेका पूर्व अध्यक्ष तथा हाल संघको युरोप क्षेत्रीय संयोजकका प्रत्यासी आचार्यले आफुले गएको दश वर्षदेखि लगातार बेलायतमा एनआरएनको झण्डा मुनि सामाजिक सेवाका कामहरु अगाडि बढाएको बताए।
उनले सबै साथीहरुको सहयोगबाट आफु विजयी भएमा एनआरएनएले अघि सारेको भूकम्प पीडितका लागि एक हजार घर निर्माण गर्ने अभियान, एनआरएनएको भवन निर्माण अभियान तथा बाग्मती नदीको किनारमा एनआरएनले बनाउन लागेको शंखमुल पार्क निर्माण अभियानमा सकृयरुपले लाग्ने वाचा गरे ।
शंखमुल पार्क निर्माण आयोजनामा उनी सहसंयोजक पनि छन्।
यसबाहेक आचार्यले युरोपमा रहेका नेपालीका समस्याहरुको समाधान गर्न कृयाशील रहने, कल्याणकारी कामहरुमा अरु तीव्रता दिने, भूपू गोर्खा आन्दोलनमा साथ दिने, तथा नेपाली नागरिकताको निरन्तरताको विषयमा थप जोड आफ्नो प्राथमिकता हुने बताए ।
हाल एनआरएनए आइसीसी कल्याणकारी समितिको सहसंयोजक समेत रहेका आचार्यले एनआरएनए यूके संग आबद्ध भै आफुले गरेका कामहरुको स्मरण पनि गरेका थिए।
सो अवसरमा नेपाल पत्रकार महासंघ, बेलायतका वरिष्ठ उपाध्यक्ष नरेश खपांगीमगर, एनआरएनए आइसीसी सल्लाहकारहरु मेजर रि डमर घले र विश्वआदर्श पण्डित, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, उपाध्यक्ष कुमारी गुरुङ, महासचिव विजय लिङ्देन, एनआरएनए युकेका संस्थापक अध्यक्ष महन्त श्रेष्ठ, पूर्व अध्यक्षहरु सूर्य गुरुङ, योगेन क्षेत्री, बुद्धिजीवी डा राघवप्रसाद धिताल, तमुधिं यूके अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङ लगायतका वक्ताहरुले सबै उम्मेदवारहरुलाई सफलताको शुभकामना दिंदै आगामी दिनमा पनि एनआरएन युके एकजुट भएर अगाडि बढ्न सुझाव दिएका थिए।
कार्यक्रमको सन्चालन एनआरएनए यूके पूर्व महासचिव रामशरण सिम्खडाले गरेका थिए ।
बेलायतबाट विश्व सम्मेलनमा भाग लिन एकसय भन्दा बढी प्रतिनिधिहरु नेपाल जान लागेको बताइएको छ ।















प्रतिक्रिया