काठमाडौं, ११ असार । शिक्षकहरू कक्षाकोठामा भन्दा राजनीतिक मञ्चमा व्यस्त हुने गरेको र विद्यालय दलको शक्ति परीक्षण गर्ने थलो बन्दै गएको भन्ने अभिभावकको गुनासोलाई एसएलसी नतिजाले छर्लंग पारेको छ।
यसपालिको एसएलसी परीक्षाको नतिजाले शिक्षक नेता कार्यरत सामुदायिक विद्यालयको अवस्था कमजोर देखाएको छ। शिक्षक नेता कार्यरत कतिपय विद्यालय त ‘निलु नै भएका छन्।
मधेसी जनअधिकार फोरमनिकट मधेसी शिक्षक फोरम बाँकेका जिल्ला अध्यक्ष दिलीप श्रीवास्तव कार्यरत नेपालगन्जको युद्ध संस्कृत माविबाट यसपालि कसैले पनि एसएलसी पास गर्न सकेनन्। गत वर्ष पनि नतिजा शून्य भएको उक्त स्कुलबाट यसपटक २३ विद्यार्थीले परीक्षा दिएका थिए।
राप्रपा नेपालनिकट शिक्षक परिषदका केन्द्रीय सदस्य जगदीश द्विवेदी प्रधानाध्यापक रहेको भवनीयापुरस्थित मावि महेन्द्रनगरले पनि एसएलसीमा कुनै विद्यार्थी उत्तीर्ण गराउन सकेन। १२ जना विद्यार्थीले एसएलसी परीक्षा दिएकामा सबै फेल भए।
लग्धहवा मावि खासकारकाँदोको नतिजा लगातार दोस्रोपटक निल भयो। उक्त विद्यालयबाट यसपालि ३१ विद्यार्थीले परीक्षा दिएका थिए। विद्यालयका प्रधानाध्यापक दीपककुमार चेम्जोङ कांग्रेसनिकट शिक्षक संघका जिल्ला तहका हर्ताकर्ता हुन् भने शिक्षक एकदेव पन्थी एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक संघका जिल्ला अध्यक्ष हुन्।
सरस्वती मावि भघौटना हिरमिनियाका १८ जनै विद्यार्थीले एसएलसी उत्तीर्ण गरेनन्। उक्त विद्यालयको नतिजा पोहोर पनि निल थियो। त्यस विद्यालयका प्रधानाध्यापक रमेशचन्द्र मिश्र मधेसी शिक्षक फोरम संघ हुँदै अहिले कांग्रेसनिकट शिक्षक संघमा आबद्ध छन्।
शिक्षक संघका मदन श्रीवास्ताव प्रधानाध्यापक रहेको राप्तीपारिको आदर्श मावि लक्ष्मणपुरले पनि एसएलसीमा विद्यार्थी उत्तीर्ण गराउन सकेन। उक्त विद्यालयबाट सात विद्यार्थीले परीक्षा दिएका थिए। त्यस्तै, १२ विद्यार्थी एसएलसीमा सहभागी भएको जोगागाउँ मावि परसपुरको नतिजा निल भयो।
उक्त विद्यालयका प्रधानाध्यापक मोहमद आल्मिन राई मदरसा इस्लाम संघ र एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक संगठनका सक्रिय सदस्य हुन्।
यो वर्ष एसएलसी परिणाम निल भएका बाँकेका आठ विद्यालयका प्रधानाध्यापक र शिक्षक कुनै न कुनै राजनीतिक दलनिकट शिक्षक संघरसंगठनमा सक्रिय छन्।
बाँकेका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाल विद्यालयका प्रअरशिक्षक पठनपाठनमा भन्दा अन्य काममा सामेल हुँदा एसएलसी नतिजामा प्रभाव परेको बताउँछन्।
‘विद्यालय समयमा शिक्षकले शिक्षाबाहेक राजनीति र अन्य कार्यमा सामेल हुन पाउँदैनन्,’ उनले भने, ‘पठनपाठन बिगारेर विद्यालय र विद्यार्थीको भविष्य बिगार्नु ठिक होइन, शिक्षकले सुध्रिनुपर्ने समय आयो।’
मोरङको स्थिति पनि बाँकेभन्दा फरक छैन। नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष केशव निरौलाले पढाउने मोरङको जनसेवा उच्चमाविबाट यसपालि १८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भए। उक्त विद्यालयबाट परीक्षा दिएका १ सय २० विद्यार्थीमध्ये २१ जना मात्र पास भएका हुन्। नागरिक दैनिकबाट















प्रतिक्रिया