बझाङ, ११ असार । हुम्लासित जोडिएको राइढुंगी तथा तिब्बतसित जोडिएको उरै भन्ज्याङबाट बाह्रैमास वन्यजन्तु र तिनका अंग तस्करी हुने गरे पनि प्रहरी र वन कार्यालयको उपस्थिति नाम मात्रको छ।
राइढुंगीमा हुम्लाका व्यापारीले तस्करलाई सघाउँछन्। उरै भन्ज्याङमा तिब्बती व्यापारीको सहयोग रहन्छ। यी दुवै नाकावरपरको सुरक्षार्थ सरकारले काँडा गाविसको धुलीमा सीमा प्रहरीचौकी राखेको छ। तर, प्रहरीलाई तस्करी नियन्त्रण त परै जाओस्, टिक्नै धौधौ छ। तीन–तीन महिनामा सुरक्षाकर्मी बदलिइरहन्छन्।
‘सबैलाई यहाँको मौसम फाप्दैन,’ सीमा प्रहरीचौकी धुलीका इन्चार्ज लोकेन्द्रसिंह पुजाराले भने, ‘कोही–कोही त महिनादिनभन्दा बढी बस्न सक्दैनन्, यसले चोरीसिकार नियन्त्रण प्रभावकारी हुन सकेको छैन।’
उनका अनुसार धुली सीमाचौकीमा २३ प्रहरीको दरबन्दी भए पनि ९ जना मात्र छन्। विकट क्षेत्रमा आउन कोही तयार नहुँदा थोरै जनशक्तिले काम चलाउनुपरेको पुजाराले बताए।
‘भएको जनशक्तिलाई टाढा गस्तीमा पठाउनु चुनौतीपूर्ण छ,’ उनले भने, ‘घटना भए जाने कि नजाने दोमन हुन्छ।’ पर्याप्त हतियार नहुँदा सुरक्षाकर्मी स्वयं तस्करबाट असुरक्षित रहेको उनी बताउँछन्। स्थानीय उत्पादनले एक महिनासमेत खान नपुग्ने ठाउँमा प्रहरीले सधैं खाद्यान्न समस्यासित जुध्नुपर्ने समस्या पनि उनले सुनाए।
केही समयअघि जिल्ला प्रहरीले विकट हिमाली भेग काँडा, दौलीचौर, सुरमा, दहबगरमा थप प्रहरीटोली पठाएको थियो। तर, चोरीसिकारी रोक्न होइन, यार्सा संकलनबापतको कर उठाउन।
प्रहरीले संकलित करको १० प्रतिशत रकम पाउने नियम छ। तर, भौगोलिक विकटताका कारण प्रहरी टोलीलाई संकलन क्षेत्र पुग्नै कठिनाइ पर्योि। राइढुंगीका लागि वैशाख २७ गते पठाइएको टोली जेठ अन्तिमसम्म पनि पुग्न सकेको थिएन। नागरिक दैनिकबाट















प्रतिक्रिया