काठमाडौं, ११ असार । सरकारले आगामी वर्षको बजेटमा पहाडैपहाड भएर देशको पूर्व-पश्चिम जोड्ने मध्यपहाडी लोकमार्गमा १० वटा व्यवस्थित र योजनावद्ध नयाँ सहर विकास गर्न महत्वाकांक्षी कार्यक्रम घोषणा गर्ने भएको छ ।
प्रत्येकमा कम्तीमा १र१ लाख जनसंख्या अटाउने गरी व्यवस्थित सहर विकास गर्न आगामी आर्थिक वर्षदेखि कार्यक्रम सुरु गर्न लागिएको जानकारी सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले जानकारी दिए ।
पहाडी जिल्लाबाट मानिसहरू राजधानी र तराईमा बसाइँ सर्ने बढो प्रवृत्तिले पहाडी भेग खाली हुँदै गएका कारण सरकारले मध्यपहाडी लोकमार्गका १० ठाउँमा नमुना सहर विकास गर्न लागेको हो ।
पूर्वको ताप्लेजुङको च्याङथापुदेखि सुदूर पश्चिमको बैतडीको झुलाघाट जोड्ने मध्यपहाडी लोकमार्गको ट्रयाक खोल्ने कार्य आगामी असार मसान्तमा पूरा हुँदैछ । लोकमार्ग १ हजार ७ सय ७६ किमी लामो हुनेछ ।
आधुनिक अस्पताल र शिक्षालयसहित सबै सहरी सुविधासहितको नयाँ बन्ने १० वटा सहरले पहाडी जिल्लाबाट राजधानी र तराईमा बसाइँ सर्ने क्रमलाई रोक्ने विश्वास सरकारको छ ।
नयाँ सहरमा पहाडबाहेक अन्य जिल्लाका मानिससमेत आकषिर्त भई बस्न आउन सक्ने सरकारी अधिकारी बताउँछन् । ती अधिकारीका अनुसार ती नयाँ सहरहरू मुलुकको नयाँ आर्थिक विकास केन्द्रका रूपमा विकास हुनेछन् ।
सहरी विकास मन्त्रालयले मध्यपहाडी लोकमार्गमा पर्ने पहाडी १० जिल्लामा नयाँ सहरको विकास गर्नेछ । सहरी विकास मन्त्रालयका अनुसार पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी-गल्छी, तनहुँको डुम्रे, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर, बैतडीको पाटनमा नयाँ सहर विकास गरिनेछ । कान्तिपुर दैनिकबाट















प्रतिक्रिया