काठमाडौं, १० असार । परराष्ट्र मन्त्रालयले मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनालीलाई ‘इराकमा बस्ने नेपालीको कल्याणका लागि परराष्ट्रमन्त्रीका विशेष प्रतिनिधि’मा नियुक्त गरेको छ ।
इराकमा विकसित गम्भीर अवस्थालाई ध्यानमा राख्दै उद्धारलाई तदारुकता र बढी समन्वयात्मक तरिकाबाट अघि बढाई नेपालीलाई सकुशल स्वदेश फर्काउने कार्यसमेतका लागि नेपाली राजदूतावास कुवेतमा मुकाम कायम गरी इराक तथा अन्य मुलुकमा भ्रमण गरी कार्यसम्पादन गर्ने जिम्मेवारी मैनालीलाई दिइएको मन्त्रालयले जनाएको छ ।
मैनाली आफ्नो जिम्मेवारी वहन गर्न चाँडै त्यसतर्फ जाने मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा जनाएको छ । इराकको पछिल्लो सुरक्षा अवस्थाका बारेमा त्यहाँ विकसित घटनाक्रम र त्यसले त्यहाँ रहेका नेपालीमा पारेको प्रभावका विषयमा मन्त्रालयले गम्भीरतापूर्वक अध्ययन तथा अनुगमन गर्ने कार्यलाई जारी राखेको बताइएको छ ।
यसै सन्दर्भमा इस्लामावाद तथा कुवेतस्थित नेपाली दूतावासले उद्धारको आवश्यकतामा रहेका नेपालीका विषयमा सङ्कलित सूचना तथा सम्पादित समन्वयात्मक कार्यका विषयमा मन्त्रालयमा सूचना प्राप्त भइरहेको विज्ञप्तिमा जनाइएको छ ।
मन्त्रालयमा जडान गरिएको टोल फ्रि टेलिफोन नं १६६०–०१–००१८६ तथा इमेल [email protected] मा नेपालभित्र तथा बाहिरबाट इराकमा रहेका नेपालीका विषयमा सूचना प्राप्त हुने क्रम जारी नै रहेको पनि बताइएको छ । मन्त्रालयले उल्लिखित माध्यमबाट सम्बद्ध सूचना उपलब्ध गराई उद्धारमा सहयोग गर्न सर्वसाधारणमा पुनः अनुरोध गरेको छ ।













प्रतिक्रिया