२९ आश्विन २०८३, बिहिबार

नेपाली जनता सामु किन गल्यो भारत ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganesh-Panday

समाचार टिप्पणी

छिमेकी भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी हटेको बताइएको छ । छिमेकीको घरमा खुसीको दियो बलिरहँदा रिसैरिसले मुुर्मिएको अर्को छिमेकी भारतले यदि अघोषित नाकाबन्दीलाई हटाउने निर्णय गरेकै हो भने नेपालमा गुम्दै गएको उसको शाख थोरै भए पनि बचाउन बेलामै बुद्धि पुर्‍याएको छ ।

असोज ३ गते नेपालमा नयाँ संविधान जारी भइरहँदा विश्वजगत खुसी बन्यो । तर, आफूलाई ‘बडे भाइ’ भन्ने भारत खुसी भएन । उसले संविधान जारी भएकोमा खुसी व्यक्त गर्नु त कहाँ हो, कहाँ ? अनपेक्षित रुपमा वक्तत्वबाजी र नेपालीमाथि हेपाहा प्रवृत्ति देखायो । साँच्चै भन्ने हो भने, नयाँ संविधान नेपाली जनताको जित थियो, हजारौँ नेपालीको त्याग र बलिदानीबाट आएको संविधान नेपाली नेताको मिलनबाट सम्भव भएको थियो, जुन भारतलाई चित्त नबुझ्नु स्वभाविकै थियो । नेपाली नेताहरुलाई भिडाएर आफ्नो स्वार्थ पूर्ति गर्न उद्दत भारतलाई नेपाली शीर्ष नेताले लोप्पा खुवाइदिएका थिए । र, खुट्टा दह्रो बनाउँदै आफ्ना जनताका लागि आफ्नै खुट्टामा उभिएर नयाँ संविधान जारी गरेका थिए । तर, छिमेकी भारत र मित्र राष्ट्रको नाममा नेपालीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरिरहेका स्वार्थी तत्वहरुले भनेझैँ संविधान आएन । त्यसपछि उनकै इशारामा उनका राजनीतिक ठेकेदारहरु उफ्रनु अस्वभाविक थिएन् ।

केही भाडाका व्यक्तिबाहेक आम मधेशी र तराईका विपन्न, सीमान्तकृत समुदायको मधेश आन्दोलनका नाममा भइरहेको बितण्डाप्रति खासै आकर्षण देखिएको छैन । भारतलाई जसलाई उपयोग गर्न खोज्दै थियो, उनीहरुकै वास्तविक धरातल विस्तारै कमजोर हुनु भारतले घुँडा टेक्नुको अर्को कारण हो ।

नेपाली नेताहरुले भनिरहेका छन्, नेपालको नयाँ संविधान विश्वकै उत्कृष्ट दस्तावेज हो । यो सहमतिको दस्तावेज हो । किनकी सबै राजनीतिक दलहरुले ‘मेरो गोरुको बाह्रै टक्का’ गरेको भए संविधान सम्भव नै थिएन । सम्भवतः सबै दलका भावना र आन्दोलनको समर्थनमा यो संविधान आएको थियो । नेपालको संविधान उत्कृष्ट छ भन्ने तर्कमा यसकारण पनि सहमत हुन सकिन्छ कि नेपाललाई अर्ति सिकाउने भारतकै संविधान पनि ६५ प्रतिशतको मात्र सहमतिमा जारी भएको थियो । अमेरिका र विश्वका शक्तिशाली राष्ट्रकै संविधान पनि शतप्रतिशत सहमतिमा बनेका हैनन् । न त भारतले भनेझैँ जनसंख्याका आधारमा उसको देशमा प्रदेशको सिमांकन र निर्वाचन क्षेत्र बाँडफाँड भएको थियो । के भूगोलमा सानो देश भन्दैमा भारतले भनेझैँ नेपालले मान्नुपथ्र्यो ? पक्कै पनि पर्दैन । संविधान भारतीयका लागि हैन्, नेपालीका लागि बनेको हो । त्यसैले त नेपाली जनताले संविधान जारी भएकोमा खुसी मात्रै व्यक्त गरेनन्, भारतको हेपाहा प्रवृत्तिविरुद्ध डटेर लड्ने अठोट पनि देखाए ।

अघोषित रुपमा नाकाबन्दी गरेको भारत गल्नुका केही कारण छन् । पहिलो, मित्रबाट एकाएक ‘शत्रु’ बनेको भारतका विरुद्ध सामाजिक सञ्जाल भरियो । नेपाली युवा, पेशाकर्मी, बुद्धिजीविहरुले सामाजिक सञ्जालमा चलाएको अभियानबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत नराम्रो धक्का पुग्यो । सामाजिक सञ्जालमा आफ्नो उपस्थिति देखाउन अति नै माहिर मोदी आफूविरुद्ध सामाजिक सञ्जालमार्फत भएको नैतिक दबाबबाट जानकार थिए ।

भारत र प्रधानमन्त्री मोदीविरोधी अभियान नेपालमा यसरी उर्लियो कि दशकौँपछि संसारभर छरिएका नेपालीहरु स्वतःस्फूर्त रुपमा एकजुट भए । नेपालका विभिन्न जिल्लामा मोदीको पुल्ला जल्यो । प्रवासी नेपालीहरुले पनि सशक्त रुपमा प्रतिवाद गरे । प्रवासी नेपालीहरुले विभिन्न कुटनीतिक नियोगमा भारतीय हस्तक्षेपको खुलेरै विरोध गरेका थिए । जसका कारण अन्तरराष्ट्रिय रुपमा समेत भारतमाथि दबाब बढ्यो ।

दोस्रो कारण हो, चीनप्रतिको नेपाली सद्भाव बढ्नु । एउटा छिमेकी रिसाउँदा अर्कोको शरण लिनु प्राकृतिक नियम नै हो । भारत विरोधी अभियान उत्कर्षमा पुगिरहँदा उत्तरतर्फको छिमेकी चीनसँग नेपालको सामिप्यता झनै बढ्यो । चीनसँगको नाका खोल्ने दबाब चर्को बन्यो भने यही मौकामा चिनियाँ चलखेल पनि राजधानीमा ह्वात्तै देखियो, जुन भारतका लागि सह्यै हुने कुरै भएन । नेपालको राजनीतिमा नांगो नाच नाच्न रमाउने भारतका लागि स्वाभिमानी नेपालीहरुले चीनप्रति सद्भाव राख्नु अर्को झड्का थियो । आफैले लगाएको अघोषित नाकाबन्दीबाट भारत पछाडि हट्न बाध्य हुनुको अर्को कारण हो यो ।

दिनहरु जति बित्दैछन्, नेपालमा भारतविरोधी भावना उति नै उच्च हुँदैछ । यसको अर्थ नेपालमा भारतीय कुटनीतिक मिसन असफल हुँदैछ । भारतलाई लाग्दो हो, नेपालीहरु २०४५ सालका झैँ छन् । तर, २७ बर्षको अवधिमा नेपालीमा प्रविधि र चेतनाको स्तर निकै नै माथि उठिसकेको छ । विकासको गति पनि उस्तै छ । आफ्ना पुर्खाले त कहिल्यै विदेशीसामु घुँडा टेकेनन् भने अहिलेको पुस्ताले अरुको हस्तक्षेप रुचाउने कुरै भएन । अहिलेको पुस्ता नेपाली भएर बाँच्नमै आफ्नो स्वाभिमान ठान्छ । बरु, दुःख पाएको छ, खाडी, अमेरिका र युरोप चहार्छ, तर स्वदेश हुँदा होस् या विदेशमा हरेक नेपालीले पलपलमा आफ्नो मातृभूमिलाई सम्झेको छ । उसको दिलमा नेपाल र नेपाली नै छ ।

तेस्रो, छिमेकीसँग मिलेर आफ्नो देशको नाका आफै बन्द गर्नेहरु धमाधम अलोकप्रिय बने । दिनदिनै आन्दोलन फितलो बन्दै गयो भने एकपछि अर्को गर्दै उनीहरुको वास्तविक अनुहार नेपालीहरुले थाहा पाउन थाले । केहीबर्ष अघि मात्रै नेपालको नागरिकता लिएर तराईमा सदियौँदेखि बस्दै आएका स्वाभिमानी तराईबासी मधेशी–आदिबासी समुदायमाथि थिचोमिचो गर्नेहरुको आन्दोलनबाट तराईको ठूलो पंक्ति असन्तुष्ट छ । त्यसैले त केही भाडाका व्यक्तिबाहेक आम मधेशी र तराईका विपन्न, सीमान्तकृत समुदायको मधेश आन्दोलनका नाममा भइरहेको बितण्डाप्रति खासै आकर्षण देखिएको छैन । भारतलाई जसलाई उपयोग गर्न खोज्दै थियो, उनीहरुकै वास्तविक धरातल विस्तारै कमजोर हुनु भारतले घुँडा टेक्नुको अर्को कारण हो ।

केही समय अगाडिमात्रै भारतीय युवतीसँग बिहे गरेका एक जना युवा मधेशी सभासद्ले भारतीय नेतालाई तराईको समस्या समाधान गर्नका लागि ज्ञापनपत्र बुझाएको तस्वीर गर्वका साथ फेसबुकमा राखिरहँदा मैले उनलाई सामाजिक सञ्जालमार्फत नै सुझाएको थिएँ– ‘बिहे भारतमै गर्नुभयो, अब राजनीति पनि ससुरालीमै गएर गर्नु !’ मैले अति नै आदार गर्ने उनी आफ्नो देशको समस्या समाधान आफ्नै देशमा खोज्नु भन्दा पनि भारतीय हस्तक्षेपमा आफ्नो जित ठान्थे । सम्भवतः यस्ता जबाफ मजस्ता धेरै नेपालीले त्यस्ता ‘खलनायक’हरुलाई दिएका छन् । उनीहरुको खास नियत तराईको पछिल्लो वितण्डाले उदांगो बनाइदिएको छ ।

अब नेपाली नेताहरुले नयाँ संविधान कार्यान्वयनमा बुद्धिमता देखाउन जरुरी छ । र, सहमतिमै नयाँ सरकार बनाउन जरुरी छ । बन्द, हड्ताल, आन्दोलन र हिंसाबाट आजित भएका नेपाली जनताले सहमतिय सरकार चाहेका छन् । न कि फेरि पनि सत्ताको लुछाचुँडी । नेपाली नेताहरुले पक्कै पनि नेपाली जनताको भावना कदर गर्दै सहमतिमै नयाँ सरकार बनाउनेछन् । र, आन्दोलनका स्वरहरुलाई सम्बोधन गर्नेछन् ।