
– रबिना बोहरा
बागलुङ, १६ असोज । बागलुङमा एक युवकले आफ्नै प्रेमिकाको हत्या गरेका छन् ।
एक वर्षदेखिको प्रेम सम्बन्धमा विहे प्रस्ताव राख्दा अस्वीकार गरेपछि युवकले प्रेमिकाको हत्या गरेका हुन् ।
प्रेमिका हुग्दीशिर गाविसकी २७ वर्षीया तारा श्रीषको हत्या अभियोगमा सोही ठाउँका २० वर्षीय इन्द्रबहादुर पुनलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।
हत्याको आरोपमा पक्राउ परेका पुनले आफूले नै महिलाको हत्या गरेको स्वीकार गरेका छन् । अभियोग स्वीकारेपछि जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार साँझ बागलुङमा पत्रकार सम्मेलन गरी पुनलाई सार्वजनिक गरेको हो ।
यहि असोज ६ गतेदेखि वेपत्ता भएकी महिलाको ०७२ असोज ११ गते हुग्दीशिर–३ भाटीको छेणास्थित फोहोर फाल्ने खोल्सामा किरा परेको अवस्थामा शव फेला परेको थियो ।
कुहिएको अवस्थामा महिलाको शव फेला परेपछि प्रहरीेले अनुसन्धान गर्दै जाँदा बिहीबार पर्वतको फलेबासबाट शंकाको आधारमा ईन्द्र पुनलाई नियन्त्रणमा लिएको थियो ।
अभियुक्त पुनले मृतक महिलासंग आफ्नो लामो समयको प्रेम रहेको, समय समयमा शारीरिक सम्बन्ध हुने गरेको र विवाह प्रस्ताव राख्दा नमानेपछि ज्याकेटको डोरीले घाटी थिचेर हत्या गरेको बयान दिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
मृतक महिला हुग्दीशर गाविसकै सर्वोदय उच्च माध्यामीक विद्यालयमा अध्यापन गराउदै आएकी थिइन् ।
शिक्षिका तारा श्रीष विवाहित महिला हुन् । केही समयअघि मात्रै उनले आफ्ना श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । त्यसपछि उनी इन्द्रबहादुर पुनसँग नजिएको स्थानीयको भनाइ छ ।
















प्रतिक्रिया