काठमाडौं, १० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर भन्सार कार्यालयका नायब सुब्बा टोपबहादुर भुसाललाई निलम्बन गर्न निर्देशन दिएको छ ।
दाङ जिल्ला तुलसीपुर नगरपालिका–५ घर भएका भुसालले पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा पक्राउ परेका छन् । उनले अकुत सम्पत्ति आर्जन गरेर लुकाउन बहु विवाह गरेको पनि अभियोग लागेको छ ।
उनलाई पदमा बहाल रहेकै अवस्थामा अनुसन्धान अगाडि बढाउँदा प्रमाणनष्ट गर्ने गर्ने आयोगले निलम्बन गर्न भन्साल विभागलाई निर्देशन दिएको हो ।
नायब सुब्बा भुसालले अकुत सम्पत्ति लुकाउने प्रयोजनका लागि मात्रै बहु विवाह गरेको उजुरी परेपछि कारबाही प्रक्रीया अघि बढाएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।
‘कन्चनपुर भन्सार कार्यालय, महेन्द्रनगरमा कार्यरत नायब सुब्बा टोपबहादुर भुसालले अकुत सम्पत्ति आर्जन गरी सम्पत्ति लुकाउने प्रयोजनका लागि मात्र बहु विवाह समेत गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धानका क्रममा निजलाई बहालमै राखी अनुसन्धान गर्दा आफूविरुद्धका प्रमाण नष्ट गर्नुका साथै थप अनुसन्धान समेतमा बाधा पुराउन सक्ने भएकोले निलम्बन गर्न भन्सार विभागलाई लेखी पठाइएको छ’, विज्ञप्तिमा भनिएको छ ।















प्रतिक्रिया