– आफ्नै पार्टी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै जिम्मेवार बरिष्ठ नेता डा. बाबुराम भट्टराईले भनेछन्—‘पृथ्वीनारायण शाह जन्मेको तमुवान क्षेत्रमा तानाशाह जन्मिरहेका छन् ।’ झन् जिम्मेवार अध्यक्षले उस्तै प्रतिक्रिया फर्काएछन्—‘म भन्दा भट्टराईजी नै पृथ्वीनारायण शाह जन्मेको भूमि नजिकै जन्मिनुभएको हो ।’
– एमाले बरिष्ठ नेता माधवकुमार नेपालले अर्का नेता केपी ओलीले दुलही भित्र्याएझैं पार्टीमा धनवाद र डनवाद भित्र्याएको टिप्पणी गर्दै भनेछन्- ‘बिचार शुन्य ओलीबाट पार्टी चल्ने भएको भए अध्यक्ष बनाइहालिन्थ्यो नि ।’ ओली भन्दा पहिले उनका असली नजिकका पात्र युवा संघ अध्यक्ष महेश बस्नेतले नेता नेपाललाई उस्तै तातो गोली फर्काएछन्- ‘बाँदरलाई बिस्कुन कुर्ने जिम्मा दिन सकिँदैन ।’
महाधिवेशन नजिकिदै गर्दा नेपाल र ओलीकै सिधै आरोप–प्रत्यारोप त झन् रोचक छन् । नेपालले ओलीको स्वास्थ्यबारे बोलेका कुरा खुब चर्चामा रहे । पछिल्लोपटक नेपालले ओलीको स्वास्थ्य प्रसंगबारे भनेछन्—‘स्ट्रेचर, ह्विलचेयरमा राखेर,फोटो टाँगेर पार्टी चलाउँछौं भन्ने उहाँहरु नै हैनर ?’ ओलीको जवाफ त झन् कस्तो कस्तो । भनेछन्—‘पार्टी अध्यक्ष भएर मैले रेस्लिङ खेल्ने हो र ?’
– सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसमा पनि गालीको बाली लगाउने र हुर्काउने प्रवृति एमाओबादी र एमालेमा जस्तै छ । सुशील र देउवाका गाली ‘बाणी’ हमेशा चर्चामै रहन्छन् । गाली बर्षा संस्कृतिले काँग्रेस नेता–कार्यकर्ताहरु पनि साह्रै दु:खी देखिन्छन् । काँग्रेस संस्थापक सुबर्णशमशेरका छोरा रुक्मशमशेर राणाको चिन्ता जायज लाग्छ । उनी भन्छन्—‘अघिल्लो पुस्ताका शीर्ष नेताहरुका बीच फरक मत भएपनि पारस्परिक सम्मान र समझदारी थियो । अहिलेको पुस्तामा मत (बिचार) छैन, बिमति मात्र छ । बीपी र सुबर्णको जस्तो सम्बन्ध अहिले सुशील र शेरबहादुरबीच हुने हो भने मुलुकको मुहार अर्कै हुने थियो ।’ (नेपाल साप्ताहिक)
एमालेभित्र महाधिवेशनको माहौल तातेसँगै अराजनैतिक गालीको बाढी बढी छ । सैद्धान्तिक बहसहरुको चर्चा शुन्य जस्तै छ । यतिसम्मकी कस्को शरीरको आकार कस्तो ? कस्को टोपी कस्तो ? कस्को जुंगा कस्तो ? कस्को स्वास्थ्य कस्तो ? कस्को उमेर कति ? जस्ता लज्जास्पद बहसहरु स्थानीयस्तरसम्म बिस्तार भएका छन् ।
महाधिवेशन वा नेतृत्व चयनका बिषय निकै महत्वपूर्ण अर्थका हुन्, जसमा ब्यक्तिभन्दा सैद्धान्तिक बहस प्रधान हुनुपर्दछ । अध्यक्षका आकांक्षी दुबै नेताका समूह सैद्धान्तिक बहसभन्दा निकै टाढा छन् । ऐतिहासिक र दीर्घकालीन अर्थ राख्ने यस्ता विशेष अबस्थामा फरक मत, फरक बिचारहरुको बहस र प्रतिष्पर्धा जायज हुनुपर्छ । तर, यस्तो लाग्छ—टोपी, उमेर वा शरीरको बनोट जस्ता निकृष्ट बहसहरु चलाइरहेका एमाले नेता वा उनका अनुयायीहरु विचार समूहमा हैन, गाली समूहमा बिभक्त छन् । जसले ऐतिहासिक कार्यभार हैन, रिस, राग र प्रतिशोधको बहस चलाइरहेछन् ।
भरोसायोग्य पार्टी बैचारिक र सैद्धान्तिक रुपले सुदृढ हुनुपर्दछ । एउटा साधारण कार्यकर्ता वा सदस्य पनि फलामे अनुशासनमा अनुबन्ध हुनुपर्दछ । नैतिक हिसावमा पनि उ खोटरहित हुनुपर्दछ । ती सबैले पहिला पार्टीमा सिद्धान्तको फूल फुलाउनुपर्दछ ।र, त्यसको सुवास देशभर छर्न सक्नुपर्दछ । तर, यी सबै प्रयोगबीहिन उखान जस्तै भइरहेका छन् । कारण उनीहरुका अगुवा नेताहरु यस्ता लाजलाग्दा गालीका जहाजमा सयर गर्दैछन्, खाली खुट्टा हिँड्ने उनका निमुखा कार्यकर्ताहरु पनि तलैसम्म उनीहरुकै गालीको बाली रोप्न बाध्य छन् । उनीहरुले आफ्नै कुरा बिर्सिंरहेका छन्—सबभन्दा ठूलो हतियार बिचार वा सिद्धान्त हो । कठै उनीहरुले नै त्यस्तो चम्किलो बिचारको हतियारलाई निकृष्ट गालीको खियाले भुत्ते बनाइरहेकाछन् । नेताहरुमा हुनुपर्ने आचारण,ब्यबहार र संस्कृतिलाई समेत दाहसंस्कार गरिदिएकाछन् । लाग्छ—उनीहरुको भबिष्य महाधिवेशनको दिनसम्म मात्र हो । त्यसको अर्को दिन पनि त्यही पार्टीमा बस्नुपर्छ । र, जनतालाई जवाफ दिनुपर्छ भन्ने कुरा उनीहरुले पूरै बिर्सिदिएका छन् ।
महाधिवेशन नजिकिएकाले एमालेमा यस्ता चर्चा बढी देखिएपनि अन्य पार्टीहरुमा पनि यस्तो रोग क्रमश: निको नहुने रोगमा परिणत भइरहेको छ ।
एकीकृत नेकपा माओबादी, नेपाली काँग्रेस,राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेसवादी दलहरु लगायत प्राय: सबैमा यस्ता अमर्यादित,अशिष्ट र अराजनैतिक गाली गलौजको श्रृंखला बढेको छ । भर्खरै स्वघोषित दुई जना अध्यक्ष भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको हांस्याष्पद गाली श्रृंखला अर्को उदाहरण हो । सूर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द वा पशुपति शम्शेर राणाको झगडा त्यस्तो नयाँ र लाजलाग्दो क्रम हो ।
प्रचण्ड—बाबुराम, नेपाल—ओली, थापा—चन्द—राणा मात्रै हैन, उनीहरु जस्तै अन्य पार्टी र तिनका भातृसंगठनहरुमा समेत यस्ता बिषका बिरुवाहरु मौलिँदै गएका छन् । जसले उनीहरुलाई मात्रै हैन, समाज र देशलाई अराजकताको झाडी बाहेक केही उमार्दैनन ।
पहिले पहिले, खासमा निर्वाचनका बेला वा पार्टी बिभाजनका बेला दलहरु अर्को दलका नेताहरुलाई अमर्यादित र अराजनैतिक गाली गर्थे । त्यो महारोग फैलिएर आफ्नै अन्तरपार्टीका शरीरका अंगअंगमा पुगेको छ । अहिले एमालेका नेताले एमालेकै नेतालाई, एमाओवादीका नेताले एमाओबादीकै नेतालाई, काँग्रेसका नेताले काँग्रेसकै नेतालाई बिष प्रहार गरिरहेका छन् । र, अनुहारभरी कालोमोसो दलिरहेकाछन् ।
गाली राजनीतिको खेतीको सक्रिय शुरुवात एमाले, काँग्रेस, मसाल, मधेसवादी दलहरु बिभाजन हुँदा देखिएको थियो । खासमा कम्युनिष्ट समूहरुको बिभाजनमा अरु बढी । तैपनि आरोपका शब्दावली अहिलेका शरीर केन्द्रित, पोशाक केन्द्रित, जुुंगा केन्द्रित,रोग केन्द्रितभन्दा तुलनात्मक राजनैतिक थिए । जस्तो कि अराजक, विसर्जनवादी, जडसुत्रवादी, पलायनवादी, कायर, निर्मम, पदलोलुप, अनुशाशनहीन आदि । ती दल वा तिनका नेताहरुको वैचारिक स्खलनले पुष्टि गर्छ—आरोपका शब्दावली साह्रै तुच्छ, घृणित र लज्जास्पद हुँदै गएका छन् ।
एमालेभित्र अहिले झांगिएको अराजनैतिक संस्कारबारे यो सम्पादकीयले ठिक बोलेको छ । ‘लोकतन्त्रको सुन्दरता भनेको हार्दिकता, विश्वास पनि हो । चुनाव जित्ने जिताउने विधि मात्र लोकतन्त्र होइन । एमाले नेताहरुले यो कुरा बुझ्नुपर्छ । साथै, अहिले पार्टी नेताहरुले एक अर्काप्रति गरिरहेका आलोचना पार्टी कार्यकर्ताहरुले रुचाएका छैनन् भन्ने कुरा नेताहरुले बुझ्ने कुरा हो । यद्यपि त्यो कुरा बुझ्नेभन्दा कसरी एकले अर्कोलाई कमजोर बनाउने कुरामा नेताहरुको ध्यान गइरहेको छ । जसले पार्टीलाई कमजोर बनाइरहेको छ । किनकी एमालेका अधिकांश कार्यकर्ता महाधिवेशनको मुखमा नेतृत्वका लागि भएको अस्वस्थ हानथापलाई रुचाइरहेका छैनन् । नेताहरुले यो बुझ्न आवश्यक छ ।’ (दैनिकपत्र–वुटवल)
विचार र सिद्धान्तको बाली हुर्काउनु सट्टा पार्टीका नेताहरुले गालीको बिषालु खेती रोजेर किन दुनियाँ हँसाइरहेका छन् ? किन आफ्नै कार्यकर्तालाई रुवाईरहेका छन् । र, सभ्य समाजको निर्माणमा धोका दिइरहेका छन् ? गालीको बाली लगाउन व्यस्त महोदयहरु त्यस्तो बाली लगाउने समय बिचारका बिरुवा रोप । सिद्धान्तका बिरुवा रोप । तिमीहरुले साझा संकल्प गरेझैं संबिधानका बिरुवा रोप । त्यस्तो बाली लगाउ ताकी केही फल्छ कि जनताका लागि । गालीको बाली झांगियो,फुल्यो,फल्यो भने तिमीहरु त नासिन्छौं–नासिन्छौ, समाज, देश र नागरिकको भबिष्य पनि नासिनेछ ।
(ज्ञवाली पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष हुन)














प्रतिक्रिया