नेकपा एमालेको नवौ राष्ट्रिय महाधिवेशन यहि असार १९ गते देखि काठमाडौमा शुरु हुँदैछ । पार्टीको विचारधारा र अवको बाटो भन्ने विषयमा खासै विवाद नभएतापनि नेतृत्वमा को पुग्ने भन्ने होडबाजीले समग्र देशमा आँधी चलेको छ । यो पक्ष र उ पक्षको भन्ने विवादले केन्द्रमा मात्र नभई जिल्ला, क्षेत्र हुँदै वडा तहमा समेत विभाजनका संकेत देखिएको छ । नेतृत्वको विवादका कारण कार्यकर्ता विभाजित हुन पुगेको छ । एकले अर्कालाई वैचारिक निषेधमात्र होइन, हात हालाहालको स्थिति सिर्जना भएको छ ।
व्यक्तिगत स्वार्थपुर्तिका लागि कार्यकर्तालाई बलीको बोको वनाइएको छ । समाजवादको परिभाषालाई आफूअनुकुल व्याख्या गरिएको छ । वैचारिकस्तरको वहस भन्दा पनि मुढे बलले प्रशय पाएको छ । अधिवेशनको सम्मुखमा आफुलाई सच्चा क्रान्तिकारी र अरुलाई अवसरवादीको विल्ला पोतिएको छ । पार्टी काम गर्ने भन्दा व्यापारी, पार्टीलाई आफनो बाउको विर्ता सम्झनेहरु कार्यकर्ताको नजरमा अब्बल दर्जाको नेता बन्न सामदाम, दण्डभेद सम्पूर्ण अस्त्र प्रयोग गरिएको छ । नवौ अधिवेशनमा पार्टीका वरिष्ठ नेता र संसदीय दलका नेता केपी शर्मा ओली अध्यक्षका दाबेदार रहेका छन् । आफूलाई अब्बल दाबी गर्न एकअर्काको विरुद्ध चरित्रहत्या गर्ने, होच्याउने, तल्लो लेबलका गाली गर्ने, आफूले मात्र पार्टीका लागी योगदान गरेका शिद्ध गर्न लागिपरेका छन् । राजनीतिको मुख्य आधार, सिद्धान्त, विचार, स्वाभिमानलाई बन्धक वनाउँदै आफैमात्र सर्वेसर्वा भएका दाबीसहित केन्द्रमा मात्र होइन, जिल्लाका टोलटोलमा विपक्षीलाई खुइल्याउने अवस्थाले तिव्रता पाएका छन् । यस्तो लाग्दछ, महाधिवेशन नै जीवनको अन्तिम लक्ष्य हो, त्यसपछि कुनै पनि सहकार्यको आवश्यकता नै पर्दैन ।
संविधानसभाको चुनाव पाश्चात लगतै भएको एमालेको नवौ महाधिवेशनले कार्यकर्तामा वैचारिक प्रतिष्पर्धाको वाटो खुलेता पनि नेतृत्वका लागि गरिने असहज कार्यले अराजकता भन्दा केही दिएको छैन । कोही नेतृत्व हस्तान्तरणको मुद्दालाई आधार बनाएकाा छन् भने माधवकुमार नेपाल सक्षमताका नाममा एकाधिकारवादको शुरुवात गर्न उद्यत पाइन्छ । आफू मात्र सक्षम अरु असक्षम भन्ने सोचले गर्दा माधवकुमार नेपाल पक्ष बाहेकका नेता तथा कार्यकर्तामा उनी विरुद्ध एक हुन वाध्य पारेको देखिन्छ । आवश्यकताले नेतृत्व जन्माउने भएतापनि को कति सक्षम छ भन्ने कुराका मापन नेतृत्वमा पुगेपछि देखिन्छ । तथापी यो कुरा सहन त्यो पक्ष तत्पर छैन । जसका कारणले गर्दा केन्द्रीय तहमा मात्र होइन, जिल्ला तहमा पनि पदका आकांक्षीहरुले नेतालाई उक्साउने प्रवृत्तिले गर्दा एउटै पार्टीभित्र पनि भिडन्तको अवस्था सिर्जना भएको छ । पार्टीमा प्रतिनिधित्व हुनका लागि अनेकौँ हत्कण्डा प्रयोग गरिएको छ । पार्टीमा काम गरेका नेता कार्यकर्ता होइन, अवसरवादीहरुको हालीमुहाली बढेको छ । कामको मुल्यांकन भन्दा पनि कार्यकर्तालाई बलीको बोको वनाइएको छ । कार्यकर्तामा विभाजित हुन वाध्य पारिएको छ । सहमतिको सम्भावना हुँदा हुँदा पनि जुगाँका लडाईका कारण कार्यकर्तालाई यो पक्ष र ऊ पक्षमा विभाजित गरिएको छ । इमान्दारिता र उसको छविको होइन, अवसरवादीको नांगो चरित्र उजागर भएको छ । नेताका इज्जत होइन, हात हाल्ने अवस्थामा पुगेको छ । वर्गिय चिन्तनलाई तिलाञ्जली दिइएको छ । सर्वाहारा वर्गको पार्टीलाई सामन्तीको पार्टी वनाइएको छ । पार्टीका कामको सिन्को पनि नभाँच्नेहरु अधिवेशनका सम्मुखमा गाउँ दौडाहामा छन् । कार्यकर्ताका वैचारिकस्तर र पार्टी काम निर्माणका लागि नभइ केवल आफू जित्नका लागि, सबैभन्दा आफू अब्बल देखाउनका लागि । र, केबल भोट पाउनका लागि ।
अवसरवादको चर्को नमुना पद प्राप्तिका लागि मात्र देखिने गरिन्छ । सहमति भन्दा पनि जसरी पनि आफूले जित्नुपर्ने सोच र अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने प्रवृत्तिले सिगों देश नै प्रताडित वनेको छ । गुटउपगुटको जन्जालमा नै किन नहोस ? कसैसँग आत्मसर्मपण गरेर नै किन नहोस ? जसरी हुन्छ, मैले र मेरो मान्छेले जित्नुपर्छ भन्ने भावनाले गर्दा इमान्दार, स्वाभिमान र देश र जनताका लागि केही गर्नुपर्दछ भन्ने आमकार्यकर्तामा वितृष्णा जगाएको पाइन्छ भने पदको आशक्ति भएका कार्यकर्तालाई रमाईलो पर्व भएको छ । जसरी हुन्छ, अराजकताका सिर्जना गरी आफ्नो अस्तित्व जिल्ला तथा क्षेत्रमा देखाई राजनीतिको खोल ओडेर व्यापार गरिरहेका नेताहरु नै यसका मुख्य कारक हुन्, जसले गर्दा राजनीति नै फोहरी खेल भएको छ । वर्गिय चिन्तन छाडेर जसरी पनि पद प्राप्त गर र कमाउ भन्ने मानसिकता बोकेका राजनीतिक ब्याँसोले सिंगो राजनीति नै धुमिल बनाएको छ । पार्टी काम सिन्को सम्म नभाँच्ने, टोलटोलमा बसेर आफनै पार्टी र कमिटीका खिल्ली उडाउने, सँधै अर्काको खुट्टा तानेर आफू मात्र माथि जान अभ्यस्त रहने, पार्टीमा अराजकताको सिर्जना गरी आफनो भुमिका खोजिरहने र लोभीपापी, अवसरवादीको साथ लिई सधै केन्द्रमा रहिरहने प्रवृत्तिले सिगों पार्टी पक्तिलाई धमिरा लगाएको छ भने, यसको उचित समाधान भन्दा पनि यसैमा अभ्यस्त रहि खेलिरहने जमात हावी भएको छ ।
जसरी पनि आफू जित्ने मनसायले क्षणिकतामा सकारात्मक प्रभाव दिएता पनि दीर्घकालिन समयसम्मका लागि नकारात्मक असर पार्ने कुरामा हेक्का राख्न सकेको देखिदैन । राजनीतिमा हरेक कुरा सम्भव हुन्छ भन्ने परिपाटीले सबैमा गाँजेको पाइन्छ । आफूअनुकुलताका लागि जे र जता पनि अभिव्यक्ति दिन सक्ने प्रवृत्तिले राजनीतिलाई नै असर गरेको पाइन्छ । आफूले जित्नका लागि जस्तो पनि गुटसँग घाँटी जोड्न पछाडि नपर्ने र आफू मात्र योग्य हो भन्ने भ्रमले नै आज समाज र देशमा अस्थिरता निम्तिएको हो भन्ने कुरामा कर्मठ, योग्य, देश र जनताका लागि केही गर्नुपर्दछ भन्ने भावना बोकेका आमकार्यकर्ताले वेलामा नै वुझ्न आवश्यक देखिन्छ । नत्र यही रवैया रहिरहेमा पार्टी काममा वर्षौदेखि खटेका, सधै जनता र कार्यकर्ताको वीचमा पुगेका नेताहरु जोगी बन्नुका विकल्प छैन ।
लेखक तनहुँका पत्रकार हुन् ।














प्रतिक्रिया