१० कार्तिक २०८३, मंगलबार

सिकलसेल एनेमियाले तराईका थारु समुदाय चिन्तित, रोग जटिल बन्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ciklalness

– राकेशकुमार मिश्र

खजुरा (बाँके), ८ असोज । पश्चिम तराईमा जटिल रक्तअल्पता (सिकलसेल एनेमिया) का बिरामी बढ्दै गएका छन् । पश्चिमका बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर जिल्लाका थारु समुदायमा यो रोग भयमवह स्थिति देखिएपछि समुदाय नै चिन्तित बनेको छ ।

अहिलेसम्म नेपालगन्जमा मात्रै करिब एक हजारभन्दा बढी बिरामी फेला परेका छन् भने थुप्रैको मृत्यु भएको तर एकिन तथ्याङ्क नभएको अस्पतालले जनाएको छ । रोग निदानको अभावमा ५० प्रतिशत बालबालिकाले ज्यान गुमाइसकेका छन् । थारु समुदायमा मात्रै बढी देखिएको सिकलसेलको सङ्क्रमण बढ्दै गएको हो ।

थारु समुदायमा मात्रै पाइने सिकलसेलको सङ्क्रमण भयावह देखिन थालेपछि थारु समुदाय आत्तिन थालेका छन् । नेपालमा सन् २००३ मा एक÷दुई जनामा मात्र देखिएको रोगको परीक्षण हुन थालेपछि अस्वाभाविक रुपमा बिरामी बढ्न थालेका छन् । पश्चिम क्षेत्रका थारु समुदायमा सिकलसेल देखिएको हो ।

नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा दैनिक सिकलसेलका करिब पाँचजना बिरामी फेला पर्ने गरेको भेरी अञ्चल अस्पतालका फिजिसियन डा राजन पाण्डेले बताउनुभयो । केही पीडित सम्पर्कमा आउन नसकेको र पहिचान हुन नसकेर अर्कै रोगको उपचार गराउन समेत बाध्य छन् । डा पाण्डेका अनुसार गोलो आकारमा हुने रक्तकोष हँसिया आकारको हुनुलाई सिकलसेल एनिमिया मानिन्छ । अहिले यही रोेग पुस्तान्तरण हुँदै गएपछि बालबालिकादेखि युवा हुँदै वृद्धवृद्धासमेत प्रभावित भएका छन् ।

यो रोगको मुख्य कारण वंशाणुगत भएकाले रोग निदानका लागि निमोनिया, एनिमिया, जन्डिसका लागि भ्याक्सिन दिने गरिएको डा पाण्डेले बताउनुभयो । उहाँले अहिले पश्चिम नेपालका थारु समुदायमा मात्रै यो रोग देखिएपछि समस्या समाधानका लागि पहल गर्न अभियान थाल्नुभएको हो । यससम्बन्धी आएका रोगीलाई विशेष ध्यान दिएर आफूले हेर्ने गरेको र सम्पूर्ण विवरण राखेको बताउनुभयो । उहाँका अनुसार यस क्षेत्रका अन्य अस्पताल तथा क्लिनिकमा यसका बिरामी नियमित रुपमा आउने गरेका छन् ।

यो रोग विश्वका अन्य देशमा रहे पनि नेपालमा अहिले बढी मात्रामा देख्न थालिएको छ । अफ्रिका, भारतको मध्यप्रदेश, गुजरात, छत्तिसगढलगायत स्थानमा बढी देखिएको अध्ययनले देखाएको छ । यो रोगको बारेमा थारु समुदायमा परामर्श तथा अध्ययन गर्न आवश्यक रहेको डा पाण्डेले बताउनुभयो ।

सिकलसेल रोग अन्य समुदायका मानिसलाई पनि हुनसक्छ किनकी यो रगतको कमी भएपछि एनिमिया हुने रोग भएको भेरी अञ्चल अस्पतालका अर्का फिजिसिएन डा सङ्केत रिसालले भन्नुभयो– “हामीकहाँ बिरामी आउनुहुन्छ, जाँच गराउँछौँ र लक्षणको आधारमा औषधि दिनेगर्छौं, तर अनुपातका आधारमा थारु समुदायमा यो रोग बढी देखिएकाले उनीहरुमा बढी शङ्का गरेर सिकलसेल भएको भन्ने गरिन्छ” ।

काठमाडाँैबाहेक अन्यत्र यस रोगको प्रभावकारी जाँच नभएकाले पनि थप समस्या भएको छ । नेपालगन्जमा रोगको प्रारम्भिक जाँच पोजिटिभ र निगेटिभ बताउने सिकलिन जाँचमात्रै छ । लेक्टोफोरोसिस जाँचका लागि काठमाडौँ तथा भारतको दिल्ली पठाउनुपर्ने अवस्था रहेको छ । अहिले यहाँ बिरामीको रगत सङ्कलन गरी बाहिर पठाउने गरिएको अस्पतालले जनाएको छ । भेरी अस्पतालमा अहिले यो रोगसम्बन्धी कुनै पनि जाँच उपलब्ध छैन ।

पश्चिम नेपालका बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर कालाजार, औलो, मलेरियाको प्रकोप प्रभावित जिल्ला भएकाले यी जिल्लामा जनसङ्ख्याको आधारमा बसोबास गर्ने थारु समुदायमा खानपिन र कार्यशैलीका आधारमा बढी पोजिटिभ पाइएको डा रिसालले बताउनुभयो । उहाँका अनुसार रातो रक्तकोषिका (आरबिसी) पूर्णरुपमा पोषित नभएकाले यो रोग लाग्छ । यो रोग विशेषगरी वंशानुगत, पुराना मानिस, मलेरिया प्रभावित स्थान, रगतको कमीले थारु समुदायमा बढी लाग्ने गरेको छ । नेपालगन्जको भेरी अञ्चल अस्पतालमा यस रोगको रगत परीक्षण छैन, बाहिर छ, त्यो पनि पोजिटिभ र नेगेटिभको रिपोर्ट दिने मात्रै, त्यसैले सरकारले रोगको निःशुल्क उपचारको व्यवस्थासँगै रोग परीक्षणको व्यवस्था गर्न आवश्यक भएको अस्पतालका सूचना अधिकारीसमेत रहनुभएका डा रिसालले बताउनुभयो ।

यो रोग एउटा जटिल अवस्था हो यसको विशेष उपचारको व्यवस्था हुन आवश्यक छ । वंशाणुगत रोग भएकाले आमाबुबाबाट सन्तानमा समेत सर्ने गर्छ । यो रोग लागेका पीडित व्यक्तिमा शरीर, हाडजोर्नी दुख्ने, पटकपटक कमलपित्त, रक्तअल्पता, श्वासप्रश्वासको समस्या, कमजोरी हुने र निमोनियाको समस्याजस्ता लक्षण देखिने चिकित्सकको भनाइ छ ।

सिकलसेल रोगको पहिचान हुन नसक्दा उपचारका क्रममा अधिकांश रोगीले बाथ, युरिक एसिड, हाडजोर्नी र नसासम्बन्धी रोगको औषधि सेवन गर्ने गरेकोसमेत पाइएको छ ।

सिकलसेल एनेमिया हेमोग्लोबिनोप्याथी भन्ने एक प्रकारको रक्तअल्पताको समूहमा पर्छ । मानव शरीरमा रातो रक्तकोÈमा हुने हेमोग्लोबिनमा अल्फा र बिटा चेन गरी दुइटा चेन हुन्छन् । बिटा चेनको छैटौँ स्थानमा रहेको ग्लुटामिक एसिड भन्ने एमिनोएसिडलाई भ्यालिन भन्ने एमिनोएसिडले प्रतिस्थापन गर्दा रोगको सुरुवात हुने चिकित्सक बताउ“छन् । ‘जेनेटिक काउन्सेलिङ’को माध्यमबाट रोग भावी सन्तानमा सर्नबाट जोगाउन सकिन्छ । यसका लागि हेमोग्लोबिन इलेक्ट्रोफोरेसिस भन्ने जा“च गर्नु आवश्यक हुन्छ । यसको जाँच अहिले काठमाडौँमा मात्र छ ।

दुई वर्षदेखि मात्रै यो रोगबारे थारु समुदायले थाहा पाएका थिए । अफ्रिकामा बसोबास गर्ने आदिवासी समुदायबाट यो रोगको सङ्क्रमण फैलिएको शङ्का गरिन्छ । करिब पाँच हजार वर्ष पहिला औलो लाग्ने ठाउँमा थारु समुदाय बस्दै आएकाले यो रोग थारु समुदायमा बढी देखिएको थारु अगुवा एकराज चौधरी बताउनुहुन्छ । थारु समुदायका मानिसको शरीरमा हँसियाजस्तो सेल (रक्तकोषिका) हुने भएकाले यसलाई सिकलसेल भन्ने गरिएको हो भने अन्य समुदायका मानिसमा गोलो सेल हुने गर्दछ ।

उहाँले भन्नुभयो –“पहिलापहिला थारुले गङ्गटा, घोंगी, मुसा र विभिन्न जङ्गली सागपात खान्थे र रक्तअल्पता हुँदैनथ्यो, अहिले विषादी तथा रसायनिक मलको प्रयोग भएको खानेकुराको सेवनले रगतको कमी भएर एनिमिया धेरै समुदायलाई लाग्ने गरेको छ ।”

धेरै समयसम्म एउटै वातावरणमा बस्ने, आफ्नै समुदायभित्र बिहावारी गर्ने र गर्मी ठाउँमा बस्नेलाई यो रोग लाग्ने गरेको अनुसन्धानले देखाएको छ । दक्षिण अफ्रिका, अमेरिका, भारतको मध्यप्रदेशलगायत क्षेत्रमा बसोबास गर्दै आएका आदिवासीमा समेत सिकलसेल एनिमिया पाइन्छ । रोग बढ्न नदिन अन्तर्जातीय विवाह गर्नुपर्ने, विवाहअघि केटा र केटीको सिकलसेल जाँच गराउनुपर्ने सुझाव चिकित्सकको छ ।

पश्चिम नेपालका तराईका आदिवासी थारू समुदायमा सिकलसेलका अधिकांश बिरामी छन् । लामो समयदेखि थारू समुदायका बिरामीमा पेट, छाती, जोर्नी दुख्ने र कमलपित्तको जस्तो लक्षण देखिएर उपचारका लागि अस्पतालमा पुग्थे, तर के कारणले बिरामीमा त्यस्ता लक्षण देखिएको हो भन्ने पहिचान नगरी अनुमानका भरमा औषधोपचार हँुदा थुप्रै बिरामी निको नभएर लाखौँ रुपैयाँ खर्च भएका छन् ।

कतिपय बिरामी त नेपालगन्ज, काठमाडौँ मात्रै नभएर भारतको लखनउका दर्जनौँ अस्पतालमा पुगेर जाँच गर्दा पनि निको नहुँदा समस्यामा परेका थिए । भेरी अञ्चल अस्पताल, नेपालगन्ज शिÔण अस्पताल, सिद्धार्थ अस्पताल र सेती अञ्चल अस्पतालमा यसका बिरामी दैनिक उपचारार्थ पुग्ने गर्दछन् ।

सिकलसेल एनिमिया रोगका बिरामीलाई भेरी अञ्चल अस्पतालले निःशुल्क उपचार सेवा प्रदान गरिरहेको छ । गरिब तथा विपन्न बिरामीको सहज उपचारका लागि अस्पतालले रु एक लाखसम्मको औषधीलगायत अन्य उपचारमा लाग्ने खर्च निःशुल्क उपलब्ध गराउन सुरू गरेको भेरी अञ्चल अस्पतालले जनाएको छ ।

भेरी अञ्चल अस्पतालले सिकलसेलको उपचारका लागि तीन जना दक्ष चिकित्सकसहितको स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको जनाएको छ ।

सिकलसेलका बिरामीको उपचारका लागि छुट्टाछुट्टै वार्डसमेत सञ्चालन गर्ने तयारीमा अस्पताल जुटेको छ । सरकारले निःशुल्क उपचार गर्न थालेपछि चालु आव ०७२/७३ को साउनदेखि असोजको पहिलो हप्तासम्म १४ जना बिरामी भर्ना भई उपचार गराइरहेको अस्पतालका प्रमुख डा श्यामसुन्दर यादवले बताउनुभयो ।

यसैगरी, नेपालगन्जको सिद्धार्थ अस्पतालमा पनि सिकलसेल बिरामीका लागि दुई वटा फ्रि बेडको व्यवस्था गरिएको छ । अहिले सो अस्पतालमा दुई जना बिरामी उपचारार्थ रहेको अस्पतालले जनाएको छ । यसको नियन्त्रणका लागि समुदायमा आधारित परामर्श र उपचार सेवाको खाँचो देखिएको छ । रासस