चितवन, ८ असार । चितवनमा नाममा टिक लगाइसकेपछि मत खसाल्न नजाने मतदाताहरुको मुचुल्का उठाएर निर्वाचन आयोगमा पठाइने जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।
‘नो भोट’को व्यवस्था नभइसकेकाले कोही मतदाता त्यस्ता भेटिए भने फारम भर्न लगाएर आयोगमा पठाइने मुख्य निर्वाचन अधिकृत विनोदमोहन आचार्यले जानकारी दिनुभयो ।
मतदान अधिकृतहरुलाई आयोगको टोलीले सो विषयमा प्रशिक्षणसमेत दिएकाले सबै क्षेत्रमा यस्तै परिपत्र भएको उहाँको भनाइ छ । भरतपुरको मतदान स्थलमा खटिनुभएका मतदान अधिकृत घनश्याम उपाध्यायले राजनीतिक दलहरुबीच यस विषयमा सहमति भएको बताउनुभयो ।
“नाममा टिकमार्क लगाइसकेपछि उसले भोट हाल्न चाहेन भने मतदाता सूचीमा मत हालेको देखिन्छ तर मेसिनमा चढेको हुँदैन, यो विषयमा फारम भरेर मुचुल्का उठाउने दलहरुसँग सहमति भएको छ”, उपाध्यायले भन्नुभयो । तर अहिलेसम्म कोही पनि मत हाल्न नचाहेको भनेर अगाडि नआएको उहाँको भनाइ छ ।
















प्रतिक्रिया