शीर्ष नेताहरुले संविधान निर्माण गरेर नेपालको राष्ट्रियतालाई गौरबपूर्ण तरिकाले जोगाएका छन् । खासगरि भारतीय पक्षको हालिमुहाली तोड्दै शीर्ष नेताहरुले नेपालीलाई संविधानमात्र दिएनन्, खुलेर भारतीय हस्तक्षेपलाई पनि इन्कार गरेका छन् । नयाँ संविधान निर्माणसँगै नेताहरुले राष्ट्रियताप्रति देखाएको ऐतिहासिक कदमलाई विश्लेषण गर्दा मुलुक अब आत्मनिर्भरताको बाटोबाट समृद्धिको दिशातर्फ अगाडि बढ्छ भन्ने अनुमान लगाउन सकिन्छ ।
अझ नेपाल र नेपालीका लागि सुखद् पक्ष त कहाँ छ भने भारतले नेपालमाथि नाकाबन्दी गर्ने धम्कीपूर्ण योजना अगाडि सारेको छ । बास्तबमै नेपाल र नेपालीको कल्याण भारतले नाकाबन्दी गरेपछि नै हुनेछ । परनिर्भरताको चक्रभित्र धसिदैं गएको नेपाल भारतको नाकाबन्दीसँगै आत्मनिर्भरताको बाटोमा अगाडि बढ्नेछ । नाकाबन्दीका कारण उत्पन्न हुने समस्याबाटै नेपालले उन्नतिका लागि नयाँ आयाम सिर्जना गर्नुपर्ने हुन्छ । नेपाली जनतामा पनि देश र जनताका लागि अब केही गर्नुपर्छ, स्वदेशमै श्रम गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुका साथै समृद्ध नेपाल बनाउन सकिन्छ भन्ने चेतना जाग्नेछ । विश्वका कतिपय मुलुकहरु बैदेशिक नाकाबन्दीपछि आत्मनिर्भर बनेर अहिले रहरलाग्दो प्रगतिपथमा उक्लिएका छन् । संकटपछि नै सर्वसाधारण जनतामा केही गर्नुपर्छ भन्ने भावना जाग्छ ।
एकछाक खाइएला, भोकभोकै बसिएला तर भारतीय ठाडो हस्तक्षेप कुनै पनि हालतमा सहने छैनौँ ।
विभिन्न कारणले नेपाली जनताले आफ्नो पौरखलाई श्रममा बदल्न सकेका छैनन् । यदि भारतीय पक्षले यसरी नै नेपालमाथि हस्तक्षेप गर्दै नाकाबन्दीसम्म गरेमा नेपाली जनतामा रहेको अथाह क्षमता, श्रम र मुलुकका लागि केही गर्नुपर्छ भन्ने आकाँक्षा ह्वात्तैमाथि उठ्नेछ । यस्तो भएको खण्डमा भारतले नाकाबन्दी गरेमा पनि नेपाल अबको केही वर्षमै प्रगतिपथमा लम्कनेछ । तर यसका लागि सर्वप्रथम यहाँका राजनीतिक दलहरु एकढिक्का भएर अगाडि बढ्नुपर्छ । यसैगरी जनताले एकछाक खाएर पनि मुलुकको लागी केही गर्छु भन्ने भावना जगाउनुपर्छ । बनेको नयाँ संविधानलाई अक्षरसः पालना गर्दै पछाडि पारिएका वर्ग समुदायलाई राज्यको मूलधारसम्म ल्याउनका लागि राज्यप्रतिबद्ध भएर लाग्नुपर्छ । नेपालमा जन्मने सबै नेपालीलाई शिक्षा, स्वास्थ्य, रोजगारलगायतका अत्यावश्यक विषयबस्तुमा पूर्णरुपले लिप्त हुने वातावरण निर्माण गर्नुपर्छ । मुलुकलाई समृद्ध बनाउनका लागि विषयगत, कामकाजी, सीपयुक्त शिक्षा लागू गर्नुपर्छ । यस्तो गर्न सकेको खण्डमा नेपाली हातहरुले केही वर्षमै नेपाललाई समृद्धिको सगरमाथामा पु¥याउनेछन् ।
मोदी आफैलाई अप्ठेरो
नेपालमा संविधान बनेपछि सिंगो विश्वले यसको दिलखोलेर स्वागत गरिरहेको छ । भारतले मात्र अहिलेको संविधानलाई अस्विकार गरेर केही हुनेवाला छैन । आफूलाई लोकतान्त्रिक मुलुक भन्ने भारतले पूर्णरुपले लोकतान्त्रिक अभ्यास गरेर निर्माण गरेको संविधानलाई कडारुपमा आलोचना गर्दछ भने विश्वमा उसलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन सक्छ । नेपालमा नाकाबन्दी गर्दा नेपाललाई धेरै फाइदा हुन्छ भन्ने कुरा भारतले बिर्सिएको छ । नाकाबन्दी गर्दा भारतलाई नै धेरै घाटा हुन्छ । नेपालको ६० प्रतिशत बजार भारतीय उत्पादनले ओगटेको छ । तसर्थ भारतले नेपालमा नाकाबन्दी गर्दा एकातिर उसको अर्थतन्त्रमा नै प्रभाव पर्नेछ । अर्कोतर्फ लोकतान्त्रिक मुलुकमाथि नाकाबन्दी गर्दा विश्वमा भारतको छबि नराम्ररी धुमिलिनेछ । आफूलाई लोकतन्त्र र प्रजातन्त्रको मसिहा भन्ने मोदी नेतृत्वको सरकारले नेपालमाथि नाकाबन्दी गरेमा उनी भारतभित्र पनि क्रमशः यसरी अलोकप्रिय बन्नेछन् कि जसको परिणाम अबको केही वर्षभित्र उनले सामना गर्नुपर्नेछ ।
भारतको कु–नियत
भारतीय पक्षले नेपालको तराई मधेशलाई लिएर असन्तुष्टि जाहेजर गरेको जस्तो देखिएको छ । तर, मधेशको कुरालाई लिएर मात्र भारतले नेपाल माथि यति ठूलो कदम चाल्न लागेको हो जस्तो हामीलाई लाग्दैन । बास्तवमै भन्ने हो भने नेपालमा सधैभर अस्तव्यस्तता कायम रहेको देख्न चाहने भारतले नेपालमा संविधान बन्यो, अब नेपालमा शान्ति कायम हुन्छ, नेपालले प्रगति गर्नेछ भन्ने तुष पालेर पछिल्लो समयमा बिरोध गरेको हो । उसले नेपालमा संविधान नबनोस् भनेर धेरै तिकडमहरु यसबीचमा गरेको थियो । तर नेपाली महान नेताहरुले भारतीय सबै गोटीहरुलाई यसरी पाखा लगाई दिए कि जसको जति प्रसंशा गरेपनि पुग्दैन । भारतले नेपालमा संविधान बन्न नदिनका लागि आफ्ना धेरै दूतहरु खटाएको थियो । सबैको दाल गलेन । नेपालमै रहेका केही नेपालमूलका दूतहरु संविधान बनेकोमा अहिले पनि छटपटाई रहेका छन् । मधेशवादी दलहरुले संविधान बनेपछि पनि ताण्डब नृत्य गरिरहेका छन् । थारु आन्दोलनलाई समेत भारतले आफ्नो पक्षमा पारेपछि अनावश्यक माग लिएर केही थारु नेता अगाडि बढेका छन् । तर अब भारतले वा जोसुकै संविधान बिरोधीले जमिनमा जतिसुकै मुक्का प्रहार गरेपछि संविधानलाई यतउता गराउनै सक्ने वाला छैनन् । तसर्थ दलहरुले अहिले पनि वार्ता र सम्बादको ढोका खुल्ला राखेका छन् । आफ्नोतर्फबाट प्रयास गरिरहेका छन् । अबको निकास भनेको वार्ता र सम्बाद हो । त्यो पनि जायज मागहरुको सवालमा सार्थक वार्ता र निकास नै अहिलेको समस्याको समाधान हो । अन्यथा अब सीमित झुण्डलाई लिएर गरिएको आन्दोलनलाई जनताले नै आन्दोलन भइरहेका जिल्लाहरुमा अबका केही दिनमै तह लगाउन सुरु गर्नेछन् ।
भारतीय पैसामा कहिलेसम्म आन्दोलन ?
काम कुरो एकातिर कुम्लो बोकी ठिमितिर भनेझैं आन्दोलनको नेतृत्व गरिरहेकाहरुले भारतबाट करोडौंरुपैयाँ आन्दोलनका नाममा पैसा लिएर मोज गरिरहेका छन् । सर्वसाधारण जनता जसले दैनिक श्रम गरेर जिविकोपार्जन गरिरहेको छ । उ आन्दोलनका कारण घर न घाटको भएको छ । महिनौंदेखि सबै कुरा ठप्प छ । तसर्थ अब सर्वसाधारणहरुले कडारुपमा आन्दोलनको प्रतिकार गर्नेछन् भन्नेमा दुईमत छैन । भारतले पनि कतिदिन आन्दोलनका लागि पैसाको खोलो बगाउँदो रहेछ हामी हेरिरहने छौं । आफ्नै गृहजिल्लामा भइरहेका समस्याहरुलाई समाधान गर्न नसक्ने मोदीले छिमेकी देशको सन्दर्भमा यतिधेरै चिन्ता र चाँसो लिनुपर्ने कारण नै छैन । नेपालले सधैभरी भारतको हित चाहेको छ । तसर्थ नेपालको सदशयतालाई कम्जोरी ठानेर हेपाहा प्रवृत्ति देखाउँदै घाँटी नै थिच्न खोज्ने भारतीय रबैया अब न हाम्रा नेताहरुले सहनेछन्, न जनताले नै । भारतले नेपाललाई पहिला पनि नाकाबन्दी गरेकै हो । त्यतिबेला त नेपालमा खासै ठूलो असर पुगेन भने अब झर्नै प्रविधिको चरम विकास भएको समयमा उसको नाकाबन्दीले केही हुने वाला छैन । एकछाक खाइएला, भोकभोकै बसिएला तर भारतीय ठाडो हस्तक्षेप कुनै पनि हालतमा सहने छैनौँ ।
नेपाललाई समृद्ध बनाउन सक्ने धेरै प्राकृतिक श्रोतसाधनहरु नेपालमै छन् । विश्वका धेरै मुलुकलाई विकसित बनाउने नेपाली पौरखी हातहरु हाम्रै हुन् । त्यसैले भारतको नाकाबन्दीको घुर्कीले अब नेपालको रौंँ सम्म पनि हिल्लीने वाला छैन । नेपाली नेताहरु महान राजनेता बनि सकेका छन् । उनीहरु कुनै पनि हालतमा भारतको घुर्कीसँग डराउनु हुँदैन । कुकुरको भुक्ने काम हो । भुकि रहन्छ । बहादुर नेपालीको काम उद्देश्यलाई पूरा गर्नु हो । अहिलेको उद्देश्य मिलेर संविधान बनाउनु थियो । नेताहरुले मिलेरै संविधान बनाई सकेका छन् । अब यसलाई कार्यान्वयन गर्ने काम पनि नेताहरुको हो । तर यसका लागि शीर्ष नेताहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।
नेपालमा बनेको संविधानले अब धेरै कुरा नेपाल र नेपालीका लागि दिन सक्छ । यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने कुरामा सबैले इमान्दारिता देखाउनुपर्छ । नेपालले करिव ७ दशकको राजनीतिक आन्दोलनको कार्यभार संविधानसभाबाट संविधान बनाएर पूरा गरेको छ । अब कुनै पनि नामको अधिकारका लागि आन्दोलन नहुने वातावरण राज्यका तर्फबाट निर्माण हुनुपर्छ । अब विकास र समृद्धिका लागि मुलुकलाई अगाडि बढाउने कार्ययोजना दलहरुले संयुक्तरुपमा अगाडि सार्नुपर्छ । नेपाललाई उन्नत, विकसित, समृद्ध बनाउने धेरै कुरा नेपालमै छन् । तसर्थ ती सबै कुराहरुलाई सही ढंगबाट परिचालन गर्न सकेको खण्डमा कसैसँग नेपाललाई कुनै पनि कुरामा दाँत किचाउनै पर्दैन ।














प्रतिक्रिया