ललितपुर, ८ असार । उपत्यकाकै प्रसिद्ध रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरको जावलाखेलमा आज भव्यरुपमा मनाइदैछ ।
राष्ट्रपतिको उपस्थितिमा आज साँझ देखाइने ऐतिहासिक उक्त भोटो जात्रा अवलोकन गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र उच्चपदस्थ अधिकारीहरु सहभागी हुने परम्पार छ ।
बहुमूल्य मणिमाणिक्य आदि वस्तु जडित उक्त भोटो हरेक वर्ष देखाइदैँ आएको छ । मत्स्येन्द्रनाथको रथ जाउलाखेल पुगेको चौथो दिन दर्शनार्थीका बीचमा भोटो देखाउने चलन छ । रथबाट चारै दिशामा तीन÷तीन पटक भोटो देखाउने र देखाइसकेपछि सबैकै सामुन्ने थैलीमा राखी सिलबन्दी गर्ने परम्परा छ । फेरि उक्त भोटो एक वर्ष पछि त्यही परम्परा अनुसार देखाइन्छ ।
भोटो जात्राको किंवदन्ती
भक्तपुरका कुनै ज्यापू वैद्यले कर्कोटक नागका पत्नीको दुखेको आँखा औषधि गरी निको पारिदिएकाले खुसीमा उपहार दिएको उक्त भोटो खेतमा फुकालेर राखेको बेलामा भुतले चोरेर लगेको थियो ।
भुतले त्यही भोटो लगाएर मानिसको भेषमा जाउलाखेलमा मत्स्येन्द्रनाथको जात्रा हेर्न आउँदा भोटो मालिक ज्यापू वैद्य र मानिस भेषधारी भुतका बीचमा भोटोकाबारेमा विवाद परेको थियो ।
पछि मुद्दा राजासमक्ष पुगेपनि दुबैले प्रमाण पु¥याउन नसकेपछि जसले सप्रमाण दाबी गर्न आउँछ उसलाई दिने त्यस्तो प्रमाण नजुट्दासम्म भने मत्स्येन्द्रनाथकै जिम्मा राख्ने आदेश भएअनुसार हरेक वर्ष यसैगरी कसैसँग प्रमाण छ कि भनि प्रदर्शन गर्ने परम्परा रहेको जनविश्वास छ ।
















प्रतिक्रिया