२९ आश्विन २०८३, बिहिबार

नवलपरासीका १७ गाविसमा यातायात अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nawalparasi_district

नवलपरासी, ८ असार । अबिरल वर्षाका कारण यस जिल्लाका पहाडी १७ गाविसमा यातायात अवरुद्ध भएको छ ।

लामो समयपछि परेको पानीका कारण जिल्लाको पहाडी १७ गाविसमा ग्रामीण सडक धेरै ठाउँमा पहिरो गई यातायात अवरुद्ध भएको हो । अवरुद्ध यातायातका कारण पहाडी क्षेत्रमा अब हिँडेर जानुपर्ने बाध्यता सुरु भएको अर्खलाका भुपाल लुगेँली मगरले बताउनुभयो ।

पहाडी क्षेत्रको रतनपुर, कोटथर, डाडाँझेरी, बुलिङ्टार, अर्खला, जौबारी, भारतीपुर, मिथुकरम, नरम, रुचाङ, रकुवा, डेढगाउँ, धौबादी, मैनाघाट, हुप्सेकोटलगायतका बिकट पहाडी गाविसमा अबिरल वर्षापछि आएको बाढीका कारण दर्जनौँ ठाउँमा पहिरो गएको र खोला बढेका कारणले शुक्रबार साँझदेखि यातायात ठप्प भएको पहाडी डाँडाझेरीका होमराज रानाभाटले जानकारी दिनुभयो ।

यातायात बन्द भएपछि पहाडी क्षेत्रमा जाने खाद्यान्न, औषधिसमेत बोकेर लैजानुपर्ने बाध्यता सिर्जना भएको व्यवसायीहरु बताउँछन् । यातायात अवरुद्ध भएपछि विकास निर्माणका काममा समेत अवरोध आएको, एक्साभेटरको प्रयोग रोकिएको र ग्रामीण विद्युतीकरण भइरहेका क्षेत्रमा समेत सामान ढुवानी गर्न समस्या उत्पन्न भएको छ ।

वर्षाकै कारण जिल्ला विकास समिति र गाविसबाट सम्झौता भई काम अघि बढिरहेको दर्जनौँ योजना र यातायात सेवा पूरै प्रभावित भएका छन् .