२९ आश्विन २०८३, बिहिबार

बैतडी-दार्चुला सडक अवरुद्ध

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

road-highway

खलंगा (बैतडी), ८ असार । बैतडी–दार्चुला राजमार्गको गोकुलेश्वर सडकखण्ड शनिबार बेलुकादेखि अवरुद्ध भएको छ ।

उक्त सडकखण्डको गोकुलेश्वरस्थित बाँगाबगडमा ५० मिटरजति सडक पुरिएर यातायात अवरुद्ध भएको हो । पहिरोले दुईवटा गाडी पुरिएका छन् ।

दार्चुलाबाट बैतडीका लागि हिँडेको जिप र तराईतर्फ जाँदै गरेको मिनीटाटा पहिरोमा पुरिएका हुन् । ती सवारी साधन सडकमा फसेको अवस्थामा पुरिएकाले मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।

पुरिएका सवारी साधनको नम्बर खुल्न नसकेको घटनास्थलमा उद्धारका लागि खटिएका प्रहरी जवान गोपाल भट्टले बताउनुभयो ।

शनिबार दिउँसोदेखि नै सडकमाथिबाट पहिरो जान थालेपछि सडक अवरुद्ध बनेको हो । अवरुद्ध सडक खुलाउनका लागि सडक डिभिजन नम्बर ३ पाटनले सहयोग नगरेको प्रहरीले बताएको छ ।

प्रशासन र प्रहरीको सहयोगमा झुलाघाट सडकमा कार्यरत जेसिबी चालक बोलाएर गोकुलेश्वरतर्फ पठाइएकोले छिट्टै सडक खुलाउन काम थालिने बैतडीका प्रहरी निरीक्षक भरत शाहले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा दार्चुलाबाट तराईका लागि हिँडेका र बैतडीलगायत तराईबाट दार्चुला हिँडेका सयौँ यात्रु बाटोमै अलपत्र परेका छन् ।