२०६४ सालमा पहिलो संविधानसभाको चुनाब भयो । जसमा म आफैले पनि मतदान गर्ने सुबर्ण अबसर पाएँ । त्यो नै मेरो जीवनको लागि नेपालमा मतदान गर्न पाउने अन्तिम हक अधिकार थियो र अन्तिम नै भयो पनि । जुन बेला मैले मतदान गरेँ, मेरो मतको कुनै कदर भएन । कारण, त्यो बेला मतदान केन्द्रहरू कब्जा गरिएका थिए । जित्नैपर्ने असल ब्यक्तिले हार्न पुगे भने हार्नु पर्नेले जित्न पुगे । त्यो नै मैले राजनैतिक जीवनको पहिलो र अन्तिमपटक मन दुखाउनु परेको अबस्था थियो । त्यै पनि नेपालमा नयाँ संविधान बनाउलान भनेर ठूलै आशा थियो तर त्यो सम्पूर्ण नेपालीको चाहना सपनामै सीमित र अधुरो नै रह्यो । सायद माओबादीले आफूलाई खरो तरिकाले उभ्याउन सकेको भए, आफ्नो अहङ्कार र हुँकारलाई सम्हाल्न सकेको भए, नेपालका सम्पुर्ण जातजातिहरूलाई झुठा आश्वासन नदिएको भए, कसैलाई कहीँ कतै नउक्साएर ईमान्दारीताका साथमा आफ्नो काम कर्तब्यमा दत्तचित्त भएर संविधान बनाउन लागेको भए सायद आज आएर डिउटीमा खटिएका ती कर्तब्यनिष्ठ सुरक्षाकर्मीहरूले बर्बरतापूर्ण तरिकाबाट र साधारण जनताले ज्यान गुमाउने पर्ने थिएन । यी माथि उल्लेखित सम्पूर्ण दुःखद र घृणित घट्नाहरू हुन ।
२०७२ सालमा आएर दोस्रो संविधानसभाबाट नयाँ संविधान बनेको छ र ओइलिएका पालुवाका टुसाहरू फेरि बिस्तारै पलाउँदैछन् । अब भने नेपाली जनताले नेपालको नयाँ संविधान पाएका छन् र संविधान बनेपश्चात हाम्रो देश नेपालले अब नयाँ मुहार फेर्नेछ । नयाँ एेन कानुन बमोजिम राम्रो काम गर्नेलाई हौसला र पुरस्कार दिइनेछ भने नराम्रो काम गर्नेलाई हदैसम्मको दण्ड सजाय तथा जरिवाना गरिनेछ ।
केपी ओलीज्यू ! तपाईँ अब नेपाली अब्राहम लिङ्कन बन्नुपर्ने समय आएको छ । अब तपाईँको काँधमा आउने पहिलो जिम्मेबारीमै राम्रो काम गरेर नेपाली अब्राहम लिँकन अर्थात राष्ट्रपिता केपी ओली बन्नुहोस । सफल राष्ट्रपिता बनेर हाम्रो देश नेपाल र हामी नेपालीलाई बिश्वमा चिनाउनुहोस् ।देशको लागि राम्रो साहसिक र आमुल परिबर्तन हुने काम गरेर नेपाली माटोमा सुनौला अक्षरले नाम लेखाउनुहोस् । तपाईँका लागि यो सुबर्ण अबसर र एउटा अग्निपरिक्षा पनि हो ।
हामी प्रबासमा बस्ने प्रबासीहरूका लागि पनि केही अधिकार नयाँ संविधानमा समेटेकोले खुसी पलाउनु स्वभाबिकै हो । किनभने धारा १४ को गैरआबसिय नेपाली नागरिकता प्रदान गर्न सकिने ब्यबस्था पनि पारित भएको छ । त्यसैले हामी प्रवासी नेपालीहरू पनि एकपटकको नेपाली सँधैको नेपाली हौँ भन्ने र बन्ने चाहाना पुरा भएको छ । त्यो हाम्रो नैसर्गिक अधिकार पनि थियो र हो । किनभने नेपालमा हामीले घरपरिवार र आफन्तलाई पठाएको पैसाको रेमिट्यान्स नेपाल सरकारलाई सँधै काम लाग्ने, हामी नेपाली भएर पनि हामी प्रबासीहरू नेपाली हुन नपाउने र हामीलाई नेपाली होइनौ भन्ने ? हामी नेपालीले कुनै पनि अधिकार नपाउने ? तर अबको नयाँ संविधानमा भने हामीले राजनैतिक भोटिङ अधिकार नपाए पनि बाँकी अधिकार पाउनु खुसी कै कुरा हो ।

मित्रराष्ट्र र बिदेशीको ठुलै चलखेल, नेपाली नेपालीबीच काटाकाट र मारामारको बावजूद पनि निडर र साहसी भएर देश नेपाल र नेपाली जनताको लागी नयाँ संविधान बनाउनका लागि आफ्नो कर्तब्य पुरा गर्ने प्रमुख नेताज्यूहरूः नेपाली काँग्रेसका सभापति तथा सम्मानीय प्रधानमन्त्री सुसील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा एमाओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धेरै धेरै बधाई अनि शुभकामना । साथै, सम्पूर्ण माननीय सभासद्हरूलाई पनि बधाई छ । तपाईँ सभासद्हरूले खबरदारी नगरेको भए संविधान आउने सम्भावना थिएन । शीर्ष नेताहरू त केबल प्रमुख पात्र मात्रै हुन् । किनभने सम्पूर्ण काम गर्ने र चाँजोपाजो मिलाउने त अन्य केही सभासद र तल्लो तहका मुख्य नेताहरू नै हुन् । तसर्थ प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा संविधान बनाउन दिनरात खटिने तपाईँहरू सबैलाई धन्यबाद र बधाई छ । तपाईँहरू सबैलाई इतिहासले सम्झिरहनेछ ।
अब संविधान बनेपश्चात राजनीतिक दलहरूबीचको सम्झौता अनुसार नेपालको प्रधानमन्त्री भनेको केपी ओली नै हुन र हुनेछन् । अबको यो जटिल महाबिनाशकारी भूकम्पले देश भत्काएको अबस्थामा प्रधानमन्त्री सुशील कोइरालाको मन्त्रिमण्डलको बिदाईसँगसँगै देशको प्रमुख जिम्मेबारी केपी ओलीको काँधमा आउँदैछ । तसर्थ केपी ओली अब नेपालको कार्यकारी प्रमुख हुनेछन् । ओलीको अडान र बोलीले कतिपय ब्यक्तिलाई सिँहबाट बिरालोमा परिणत गरिदियो र आज २०७२ सालमा आएर नेपालको नयाँ संविधान २०७२ बन्न सफल भयो । त्यसैगरी जबदेखि केपी।ओलीको काँधमा देशको जिम्मेबारी आउने छ तब देखि नै आफ्नो काम र कर्तब्यलाई उच्च प्राथमिकतामा राखेर देश र जनताको लागि बचेको आफ्नो बाँकी जीबन समर्पण गर्नु नै ओलीको अन्तिम लक्ष्य हुनु पर्दछ र त्यो अहिले नेपाल र नेपालीको लागि त्याग जरूरी पनि छ । सम्भवतः ओलीबाट देशको त्याग हुने नै छ भन्नेमा सम्पूर्ण नेपालीहरू बिश्वस्त छन् । किनभने पछिल्लो समय तपाईँले जसरी आफूलाई देश र जनताको लागी आफ्नो बोलीलाई एक इन्च पनि झुक्न दिनुभएन । त्यसैगरी अब सम्पूर्ण राजनैतिक दलहरूलाई मिलाएर र सबै जात,जाति, लिँग, धर्म, समुदाय र बर्गसँग समन्बय गरेर देशमा शान्ति सुब्यबस्था अमनचयन तथा बिकासका लागि प्रमुख एजेण्डासहित खरो उत्रने छन् र हाम्रो देश नेपाल र नेपालीको मुहार हँसाउने छन । ओलीज्यू, तपाईको बोली र तपाईँको निडरता अनुसार अब आउँदै गरेको राष्ट्र प्रमुखको जिम्मेबारीलाई यसरी निभ्याउनुहोस् कि संयुक्त राज्य अमेरिकाका जनतालाई एक ढिक्का बनाउनलाई जसरी पुर्बराष्ट्रपति अब्राहम लिँकनले जुन काम गरे र आज जसरी अमेरिकी जनताले राष्ट्रपिताको रूपमा सम्झन्छन र उनको पुजा गर्दछन् । त्यसैगरी तपाईँले पनि जति समय पाउनुहुन्छ त्यो समयलाई अब्राहम लिँकनले झैँ कति सकिन्छ, हदैसम्म गरेर देश नेपाललाई नेपाली नेपालीबीच मेलमिलाप गराउनुहोस्, मधेशी पहाडीबीच भाईचारा होस्, को मधेशीको पहाडी सबै सधै नेपाली हौँ भन्ने भावना र राम्रो सम्बन्ध होस्, मधेशी रूँदा पहाडिया रोइदियोस् र पहाडिया रूँदा मधेसीको मन रोइदियोस र एकले अर्कोलाइ सक्दो सहयोग गरोस् । देशमा बिकास भएको सबैले अनुभूति गर्न पाऊन र गाउँ गाउँ बस्ती देखि शहरसम्म उज्यालो होस् । अब तपाईँको काँधमा आउने पहिलो जिम्मेबारीमै राम्रो काम गरेर नेपाली अब्राहम लिँकन अर्थात राष्ट्रपिता केपी ओली बन्नुहोस । सफल राष्ट्रपिता बनेर हाम्रो देश नेपाल र हामी नेपालीलाई बिश्वमा चिनाउनुहोस् । तर पद र कुर्चीको लागी कहिल्यै देश र जनता स्वार्थ भन्दा आफ्नो स्वार्थ ठूलो ठानेर कसैसँग सम्झौता गरेर देश नेपाल र नेपालीलाई घात हुने काम नगर्नुहोला । जसले गर्दा युगौँ युगसम्म हाम्रा सन्ततिले सराप्न नपरोस् ।
केपी ओलीज्यू तपाईँले अब बनाउने नयाँ मन्त्रिमण्डल यस्तो होस कि देशका लागि केही गर्दछु र धेरै गरेर देखाउँछु भन्ने आँट र मनमा साहस भएको, नेपाली जनताले आश गरेका र पत्याएका जुझारू नेताहरूलाई आफ्नो क्याबिनेटमा सामेल गरेर देश बिकासमा खरो उतार्नुहोस् । नेपाल आमालाई सुन्दर शान्त र बिशाल बनाउनुहोस् ।
जस्तैः गोकर्ण बिष्ट, चन्द्र भण्डारी, प्रदीप ज्ञवली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रबीन्द्र अधिकारी, गगन थापा, विश्वप्रकाश शर्मा, रामकुमारी झाँक्री, रबिन्द्र शर्मा, बर्षमान पुन लगायत अन्य जुझारू नेताहरु ।
अन्त्यमा,
सम्पूर्ण जातजाति, भेषभुषा, भाषाभाषी, लिँग, मधेशी, पहाडी सम्पूर्णलाई एक ढिक्का बनाएर हाम्रो नेपाल, हामी नेपाली र नेपाल हाम्रो सबैको साझा फुलबारी हो भन्ने भावना सबै नेपालीको मन मुटुमा स्वतःस्फुर्त पलाउने बिउ रोपी दिनुहोस् ।
के।पी ओलीज्यू तपाईँलाई नेपालीले सदैब सलाम ठोक्ने छन् । सदैब तपाईँको जन्म दिन र हरपल नेपाली जनताले सम्झने छन् । ओलीज्यू केही पल ईमान्दारिताका साथ काम गराउनु भयो र केही आँट गर्नु भयो भने हाम्रो देश, प्यारो देश, हाम्रो देश नेपाल स्वर्ग हुनेछ । स्वर्ग बन्नेछ ।
जय जय मेरो देश । जय नेपाल । जय मातृभूमि ।
लेखक हाल अमेरिकाको सिकागो बस्छन् ।














प्रतिक्रिया