रूपन्देही, ८ असार । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा धार्मिक उद्देश्यले निर्माण गरिएका गुम्बाहरूले सेवाका नाममा व्यापार गरिरहेका छन्। पर्यटकलाई गुम्बामा राखेर पैसा असुल्ने गरिएको छ। गुम्बाहरूलाई व्यापार गर्ने थलो बनाउँदा लाखौं कर छली भएको छ।
गुम्बाहरूको यस किसिमको गैरकानुनी क्रियाकलाप रोक्न पटकपटक लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको लुम्बिनी क्षेत्रका होटेल व्यवसायीले बताएका छन्। कोरियन गुम्बा (टेम्पल) को अतिथिगृहका कर्मचारी वीरेन्द्र यादवले कोरिया, चीन, जापानलगायत मुलुकका पर्यटकलाई जनही पाँच सय रुपैयाँ शुल्कमा एक दिनको आवास र तीन छाक खाना दिने गरिएको बताए।
कोषका सूचना अधिकृत हरि राईका अनुसार गुम्बाले एकपटकमा सातजना कर्मचारी र पाहुना राख्न पाउने गरी गैरव्यावसायिक ढंगले सातकोठे अतिथिगृह सञ्चालन गर्न पाउने सम्झौता भएको छ। लुम्बिनीमा श्रीलंका, थाइल्यान्ड, भियतनाम, फ्रान्स, अस्ट्रेलिया, जापान र चीनका १८ वटा गुम्बा छन्।
सरकारले निस्शुल्क उपलब्ध गराएको जग्गामा निर्मित गुम्बाहरूले सम्झौताविपरीत ठूला अतिथिगृह सञ्चालन गर्ने, बस, हवाईजहाज र रेलको टिकट उपलब्ध गराउनेजस्ता नाफामूलक कार्य गरेपछि होटेल व्यवसायी रुष्ट बनेका छन्।
भैरहवास्थित पर्यटन कार्यालयमा शुक्रबार भएको बैठकमा पनि यो विषय उठ्यो। होटेल एसोसिएसन अफ सिद्धार्थनगर (हान्स) को लुम्बिनी क्षेत्रका अध्यक्ष मिथुन श्रेष्ठले जर्मन र जापानको सेतो गुम्बाबाहेक अरू सबैले ठूला अतिथिगृह निर्माण गरी व्यापारिक कारोबार गरेको आरोप लगाए। अन्नपूर्ण पोष्ट दैनिकबाट













प्रतिक्रिया