२९ आश्विन २०८३, बिहिबार

एमाले प्रतिनिधि चयन: नेपाल र ओलीको दुवै समूहको बहुमतको दाबी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML

काठमाडौं, ८ असार । उपनिर्वाचन भएका र विवादले स्थगित १८ जिल्लाबाहेक एमालेले नवौं महाधिवेशनका लागि शनिबार देशभरबाट प्रतिनिधि चयन गरेको छ। प्रतिनिधि चयनका आधारमा अध्यक्षका प्रतिस्पर्धी माधवकुमार नेपाल र केपी शर्मा ओली समूहले आसन्न महाधिवेशनमा बहुमतभन्दा बढी मत ल्याउन दाबी गरेका छन्।

शनिबार राति अबेरसम्म दुवै समूहको सचिवालयमा उपलब्ध तथ्यांकअनुसार ४ सय ९२ जना प्रतिनिधि चयन भएका छन्। उपनिर्वाचनका कारण काठमाडौं, चितवन, बर्दिया र कैलालीसहित १८ जिल्लामा प्रतिनिधि छनोट हुन बाँकी छ। यी जिल्लामा असार १० गते प्रतिनिधि छनोट हुनेछ।

पार्टी सदस्यतामा देखिएको विवादका कारण धनुषा, सप्तरी र जुम्लामा प्रतिनिधि छनोट स्थगित भएको छ। यी जिल्लामा पनि असार १० गते नै प्रतिनिधि छनोट गर्ने कार्यक्रम तय गरिएको छ।

प्रारम्भिक तथ्यांकका आधारमा नेपाल र ओली दुवै पक्षले आफूहरूले जित्ने दाबी गरेका हेन्। दुवैले आ–आफ्नो पक्षमा दुईतिहाइभन्दा बढी प्रतिनिधि रहेको जनाएका छन्।

‘सबै प्रतिकूलताका बाबजुद आजसम्म भएको प्रतिनिधि छनोटले हामीलाई उत्साहित बनाएको छ,’ नेपालको सचिवालय तर्फबाट केन्द्रीय सदस्य योगेश भट्टराईले भने, ‘पछिल्लो परिणामअनुसार हाम्रो पक्षका ७० प्रतिशतभन्दा बढी प्रतिनिधि निर्वाचित हुनुभएको छ।’

उनका अनुसार धादिङ, तेह्रथुम, खोटाङ, रौतहट, धनकुटा, रसुवा, बैतडी, पर्वत, बाग्लुङ, सर्लाही लगायत जिल्लामा नेपाल पक्षको पकड छ। शनिबार रातिसम्म चुनिएका ४ सय ९२ मध्ये ३ सय ५० जना नेपाल पक्षको रहेको उनले दाबी गरे। त्यसमध्ये ६ जनाको भने पक्षधरता नखुलेको नेपाल पक्षले बताएको छ।

ओली पक्षको दाबी पनि उस्तै छ। ओली पक्षको चुनावी अभियान समन्वय गरिरहेका युवा नेता राजन भट्टराईले आफ्नो समूहको पक्षमा ७० प्रतिशत हाराहारी प्रतिनिधि छनोट भएको बताए। ४ सय ९२ मध्ये ३ सय ९० जना ओली पक्षको रहेको उनको दाबी छ। ओली पक्षमा पार्टी पदाधिकारी धेरै रहेकाले पनि प्रतिनिधि छनोटमा त्यसको प्रतिविम्ब झल्किएको उनले जनाए।

धादिङ, म्याग्दी, लमजुङ, तेह्रथुम, खोटाङ, मकवानपुर, धनकुटा, रसुवा, बैतडी, कपिलवस्तु, रुपन्देही र सर्लाही लगायत जिल्लामा ओली पक्षको पकड बलियो भएको दाबी गरे। ओली पक्षका अनुसार १४ जनाको पक्षधरता खुलेको छैन।

असार १९–२४ मा काठमाडौंमा हुने महाधिवेशनका लागि शनिबार म्याग्दी, धादिङ, लमजुङ, कालिकोट, ताप्लेजुङ, तेह्रथुम, खोटाङ, नुवाकोट, ओखलढुंगा, धनकुटा, रसुवा, बैतडी, पर्सा, रौतहट, पर्वत, स्याङ्जा जिल्लाबाट प्रतिनिधि चयन भएका छन्। प्रतिनिधि चुनिएका अन्य जिल्लामा नवलपरासी, बाग्लुङ, गुल्मी, रुपन्देही, कञ्चनपुर, बझाङ, डोल्पा, बारा, कपिलवस्तु, मोरङ, सर्लाही, भोजपुर, काभ्रे, प्युठान छन्।

त्यस्तै, सम्पर्क विशेष समन्वय कमिटीअन्तर्गतका जनकपुर, कोशी, लुम्बिनी, सगरमाथा, मेची, राप्ती, बागमती अञ्चल समन्वय कमिटीका प्रतिनिधि पनि चयन भएका छन्। युवा संघ, भूतपूर्व सैनिक संघजस्ता जनवर्गीय संगठनबाट पनि महाधिवेशन प्रतिनिधि चुनिएका छन्।

केही जिल्लामा प्रतिनिधि छनोट सर्वसम्मत रूपमा भएका छन्। धादिङ, लमजुङ, ताप्लेजुङ, धनकुटा, बैतडीसहितका जिल्लामा सर्वसम्मत हिसाबले प्रतिनिधि छनोट भएका छन्। सर्वसम्मत भएका यी जिल्लामा नेपाल र ओली दुवैले आफ्नो पक्षमा प्रतिनिधि बढी भएको दाबी गरेका छन्।

आइतबार हुने उपनिर्वाचन कारण प्रभावित र संगठित सदस्यतासम्बन्धी विवाद नमिलेका जिल्लाबाहेक भुगोल र अन्य संगठनका कमिटीबाट शनिबार प्रतिनिधि छनोट भएको हो। उपनिर्वाचन र अन्य कारणले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, रामेछाप, सिन्धुली, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली, डोटी, अछाम, बझाङ र बजुरामा मंगलबार छनोट हुनेछ।

त्यसैगरी केन्द्रीय विभाग र जनसंगठनबाट छनोटका लागि मंगलबारको समय तोकिएको छ। सदस्यता विवादका कारण सप्तरी, धनुषा, जुम्लामा प्रतिनिधि छनोटलाई मंगलबारका लागि सारिएको छ। नेपाल समूहले ती जिल्लामा नक्कली सदस्य समावेश गर्न अनुचित दबाब दिएको भन्दै विरोध भएपछि प्रतिनिधि छनोट कार्यक्रम स्थगित भएको हो।

नेपालको सचिवालयले शनिबार राति विज्ञप्ति जारी गर्दै सुर्खेत २, नुवाकोट २, सेती–काठमाडौं सम्पर्क कमिटी कमिटीको प्रतिनिधि छनोट क्रममा आक्रमण भएको भन्दै भर्त्सना गरेको छ। नागरिक दैनिकबाट