काठमाडौं, ८ असार । संविधान सभाको उप निर्वाचनमा निर्वाचन क्षेत्र आसपासमा सवारी साधन चलाउन निशेध गरिएको छ ।
काठमाडौंको निर्वाचन क्षेत्रनम्बर २ मा आइतबार हुने चुनाबमा बिहान ५ बजेदेखि मतदान नसकिएसम्म सवारी साधन चलाउन निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
त्यहि अनुसार प्रहरीले निवार्चन क्षेत्र नम्बर २ भित्र पर्ने काठमाडौं महानगरपालिकाको वडा नम्बर २ र ३५ मा सवारी साधन चलाउन नदिने भएको हो ।
यस्तै काठमाडौंका ९ वटा गाविसमा समेत सवारी चलाउन रोकिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बसन्तराज गौतमले बताए । उनले निर्वाचनको ब्यवस्थापन र सुरक्षाको सम्पुर्ण तयारी पुरा भएको बताए ।
निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक हजार भन्दा बढि सुरक्षाकर्मी निर्वाचन क्षेत्रमा खटाइएका छन् । निर्वाचनका क्रममा कुनै अप्रिय घटना हुन नदिन र हुलदंगा भए त्यसलाई रोक्न सुरक्षाकर्मी तैनाथ रहेको प्रहरीले जनाएको छ । निर्वाचन गराउने निर्वाचन अधिकृत लगायत सबै मतदानकेन्द्रमा पुगिसकेका छन् ।
३९ वटा मतदानस्थलमा प्रहरी निरीक्षकको कमाण्डमा हतियार सहितका सुरक्षाकर्मी तैनाथ गरिएको छ । मतदानकेन्द्रमा शनिबार बिहानै देखी सुरक्षाकर्मीहरु त्रिपाल टाँगेर बसेका छन् ।
चुनाबमा ९० वटा मतदानकेन्द्र राखिएका छन् । प्रजिअ गौतमले मतदानमा प्रयोग भएका बिद्युतीय उपकरण बिग्रिए वा खराबी आएमा त्यसको स्थानमा अर्को राखिने बताए । उनले पास भएका सवारी साधन मात्र त्यस क्षेत्रमा चल्ने बताएका छन् । ललितपुरमा भोटो देखाउने जात्रामा राष्ट्रपतिको औपचारिक सवारी समेत आईतबार नै भएकाले त्यस अनुरुप सुरक्षा र सवारी ब्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरीका निमित्त प्रमुख प्रहरी उपरिक्षक नारायणसिंह खडििाले निर्वाचन क्षेत्रनम्बर २ को बाटो हुदै बिमानस्थल जानेलाई भने निवार्ध रुपमा जान दिने बताए । उनका अनुसार विमानस्थल जानेले टिकट देखाएपछि सवारी चालक र बिमानमा जाने ब्यक्तिलाई जान दिईने छ ।
प्रहरीले निर्वाचनमा धाँधली हुन नदिन र एक स्थानमा भोट हालेको ब्यक्ति अर्को स्थानमा गएर हाल्नबाट रोक्न सवारी साधनलाई निशेध गरिएको जनाएको छ ।
कहाँ कहाँ जान नपाईने ?
बानेश्वर, कोटेश्वर गोठाटार, पेप्सीकोला, गौरीघाट लगायतमा सवारी निशेध छ । यस्तै धोबीखोला सेतोपुलबाट निर्वाचन क्षेत्रनम्बर दुई तर्फ सवारी साधन जान रोक लगाइएको छ ।
रातोपुलबाट समेत सवारी जान पाउदैनन् । गौशाला चोकबाट निर्वाचन क्षेत्र नम्बर दुईमा सवारी साधन चल्न नपाउने गरी कर्डन गरिएको छ । सिनामङगल, पिंगलास्थान, निलोपुल, रातोपुलको ओरालो, बनकालीको ओरालो, सुकुम्बासीबस्तीबाट ललितपुर जाने पुलमा समेत सवारी प्रवेसमा रोक लगाइएको छ ।
शंखमुलबाट महादेबस्थान, मदनभण्डारी कलेज धोबीखोला, देवीनगरबाट बानेश्वर हाईट, हनुमानस्थान पुलबाट बानेश्वर तर्फ सवारी चलाउन नदिने भएको छ । भक्तपुरको मनोहरा पुल हुदै राजधानी भित्रिने सवारी साधनलाई कोटेश्वरबाट ललितपुरको बालकुमारी तर्फ मोडिने छ । बिचमा कुनै पनि सवारी रोक्न नदिने तयारी गरेको छ ।
यस्तै भक्तपुर जाने सवारी साधन पनि बानेश्वरबाट बालकुमारी र कोटेश्वर हुदै सोझै भक्तपुर तर्फ जानुपर्नेछ । बिचमा कहीं रोक्न पाइदैन । यस्तै भक्तपुरको पुरानोबाटो हुदै पेप्सीकोला आउने सवारीलाई रोकिएको छ । जोरपाटीबाट मुलपानी तर्फ जाने सवारीलाई सुरक्षाकमीले बिच बाटोमा नै रोक्नेछन् ।
गोठाटार पुलबाट पेप्सीकोला तर्फ जान पाईदैन । गोकर्ण हुनमानचोकबाट मुलपानीतर्फ जान नपाउने ब्यवस्था गरेको छ । यस्तै निर्वाचन हुने ९ वटा गाविस गोठाटार, डाँछी, नाङलेभारे, पुकुलाछी, बज्रयोगिनी, मुलपानी, लप्सीफेदी, सुनटोल र ईन्द्रायणी गाविसमा सवारी साधन चलाउन रोक लगाएको छ । कान्तिपुर दैनिकबाट













प्रतिक्रिया