काठमाडौं, ७ असार । नेकपा एमालेको नवौं महाधिवेशनका लागि शनिबार भएको प्रतिनिधि चयनमा विभिन्न ठाउँमा अलोकतान्त्रिक गतिविधि भएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आपत्ति जनाएको छ ।
नेता नेपालको सचिवलयको तर्फबाट केन्द्रीय सदस्य योगेश भट्टराईले शनिबार साँझ जारी गर्नुभएको प्रेस विज्ञप्तिमा ठाउँ ठाउँमा आफ्ना पक्षका नेता कार्यकर्ता कुटिएको उल्लेख छ । आक्रमण र धम्कीका बाबजुद पनि आफ्नो पक्षमा ७० प्रतिशत प्रतिनिधि चयन भएको विज्ञप्तिमा दाबी गरिएको छ । नेता भट्टराईले जारी गर्नुभएको विज्ञप्ति जस्ताको तस्तै:
हाम्रो गौरवशाली पार्टी नेकपा एमालेको यही असार १९ गतेबाट हुने नवौ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आज केही जिल्लाहरु बाहेक देश भर लोकतान्त्रिक विधि र अभ्यास अन्तर्गत महाधिवेशन प्रतिनिधि चयनको काम सम्पन्न भएको छ ।
उपनिर्वाचन हुने जिल्ला र ती जिल्लाको उपनिर्वाचनलाई प्रभाव पार्न सक्ने छेउछाउका केही जिल्लामा पार्टीको निर्णय अनुसार असार १० गते लोकतान्त्रिक विधि अनुसार प्रतिनिधि चयनको काम सम्पन्न हुने हामीले विश्वास लिएका छौं । तर, कतिपय जिल्ला, क्षेत्रमा आज प्रतिनिधि चयनका क्रममा भएका केही अलोकतान्त्रिक गतिविधिले हामीलाई दुखित तुल्याएको छ ।
विचारको सम्मान र लोकतान्त्रिक विधिको अभ्यासबाट डराएर पार्टीभित्रकै एउटा समूहले हाम्रो विचार समूहका कमरेडहरु माथि विभिन्न स्थानमा आक्रमण गर्ने, मतपत्र च्यातने, फर्जीमत प्रयोग गर्ने, हुलहुज्जत गर्ने जस्ता कार्य गरेका छन् । सुर्खेत क्षेत्र नं. २ मा प्रतिनिधि चयनका क्रममा पार्टीका संगठीत सदस्यहरु चन्द्र बहादुर के.सी., निरक ओली महाधिवेशन प्रतिनिधि उम्मेद्वारद्वय बखत खत्री र पद्मा खड्का, युवा संघ जिल्ला कमिटीका सदस्य हिक्मत ओली लगायतमाथि आक्रमण गरेको छ । उक्त क्षेत्रमा पार्टी केन्द्रको निर्णयलाई अवज्ञा गरेर एक पक्षीयरुपमा मतदान गर्ने काम भएको छ ।
नुवाकोट क्षेत्र नं. २ मा गत संविधानसभा निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन अन्र्तघात गर्नेहरुले हाम्रो विचार समूहका साथीहरुलाई कुटपिट गरेका छन् । र मतदान प्रकृयालाई कब्जा गर्ने काम गरेका छन् । डोल्पामा प्रतिनिधि चयनका बारेमा छलफल चलिरहेको बेला बैठक स्थलमै आक्रमण गरी पार्टी कार्यकर्ताहरुलाई घाइते बनाएको छ । सेती–काठमाण्डौ सम्पर्क कमिटीेको प्रतिनिधि निर्वाचनको मतदानस्थलमा एक अराजक समूहले पार्टी कार्यकर्ता भीम रावल लगायत माथि आक्रमण गरी घाइते बनाइएको छ र निर्वाचन कार्यमा खटिएका कमरेडहरुमाथि समेत हातपात गरेका छन् । बारा क्षेत्र नं. २ मा फर्जी मतको प्रयोग गरेर हुलहुज्जत गरिएको छ भने कास्की २ को नगर विकास प्रशिक्षण केन्द्रमा भएको मतदानमा २ जना प्रहरीले नै सिभिल ड्रेसमा आएर मतदान गरिरहेको अवस्थामा समातिएका छन् । त्यहा पार्टी सदस्य नविकरण भएका करीव २०० पार्टी सदस्यहरुलाई मतदाता नामावलीबाट हटाउने काम भएको छ । सप्तरी, धनुषा र जुम्लामा नक्कली सदस्यलाई समावेश गर्न अनुचित दवाव दिइएको छ । विद्यार्थी विशेषमा हुँदै नभएका फार्जी विद्यार्थीलाई प्रयोग गरिएको छ ।
हामीले पटक पटक डनवाद र धनवादबाट हुन सक्ने यस्ता गलत कार्यशैलीप्रति खवरदारी गर्दै त्यसका विरुद्ध पार्टीपंक्तिलाई सजग गराउदै आएका थियौं । हाम्रो वारम्वारको खवरदारीका बावजुद पनि भएका यी सबै उच्छृङखल, अमर्यादित अलोकतान्त्रिक गतिविधिको हामी निन्दा गर्दछौं ।
यस्ता घटना भएको ठाउँको निर्वाचन प्रक्रिया स्थगित गरी यथाशीघ्र निर्वाचनको अर्को मिति तोक्न पार्टी निर्वाचन आयोग र संगठन विभाग समक्ष जोडदार माग गर्दै यस्ता अराजक, अशोभनीय र पार्टीको विधान विपरित गुण्डागर्दीमा संम्लग्न हुनेहरुलाई पार्टी विधान अनुसार कारवाहीको दायरामा ल्याउन पार्टी नेतृत्वको गंभीर ध्यानाकर्षण गराउन चाहन्छौ ।
अन्त्यमा यी सबै प्रतिकुलताका बाबजुद पनि आजसम्म भएको प्रतिनिधि छनौटले हामीलाई उत्साहित बनाएको छ अहिले भर्खरै प्राप्त पछिल्लो परिणाम अनुसार हाम्रो विचारको पक्षमा ७० प्रतिशत भन्दा बढी प्रतिनिधिहरु निर्वाचित हुनु भएको छ । कतिपय स्थानमा सर्वसम्मतरुपमा प्रतिनिधि चयन गरी पार्टीको एकतालाई बलियो बनाउन र सहमति निर्माण गर्न स्थनीय कमरेडहरुले प्रसंशनीय भूमिका खेल्नु भएको छ । हामी यसको उच्च सम्मान गर्दछौं । र छनौट भएर आउने सम्पूर्ण कमरेडहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।
वरिष्ठ नेता
कमरेड माधव कुमार नेपालको सचिवलयको तर्फबाट
योगश भट्टराई
केन्द्रीय सदस्य
नेकपा एमाले
२०७१ असार ७ गते साँझ ८:३० वजे ।
















प्रतिक्रिया