नेपालीमा एउटा उखान छ- नानीदेखि लागेको बानी । हो, मानिस जहाँ जान्छ, उसले आफूसँग भएका गुण-अबगुण पनि सँगै बोकेर जान्छ । चाहे ऊ जति नै बुझ्ने पढेलिखा किन नहोस् । त्यसो उदाहरण अमेरिकामा रहेका केही नेपालीलाई हेरे पुग्छ ।
अमेरिकामा स्थापना भएका बिभिन्न संघसंस्थामा निर्वाचनको सेरोफेरोमा किचलो बढ्ने क्रमले नेपालीको कुसंस्कार प्रष्टै झल्काउँछ । नेपालीबीचको कचिङ्गलको क्रम उँँधो जाने भन्दा उँभो जाने क्रम तीब्र भएकोले सद्भाव र मेलमिलाप दुर्लभ हुँदै गइरहेको छ, अमेरिकामा । जसले नेपाली समुदायमा विभाजनको रंग देखाउँछ ।
अधिकांश नेपालीलाई कहीँ नभएको जात्रा हाँडीगाउँ भने जस्तो हुन थालेको छ । अवैतनिक र स्वयम्सेवक रुपमा समय खर्चनुपर्ने संस्थामा पनि केवल सत्तामा पुग्ने मृगतृष्णाको कारण समुदाय सदस्यबीच अझ चोइटिने र फकलेटा पर्ने क्रम रोकिने अवस्थामा छैन । कुर्सी र सत्ताको मोहको कारण किचलो ,कचिङ्गल र झगडाले बिकराल लिइरहेको छ । सत्ताका लागि जहाँ पनि किचलो हुन्छ र कुर्सीका लागि जहिले पनि तछाडमछाड हुन्छ । राजनीतिमा झन् कचिङ्गल र किचलो हुन्छ । अमेरिकामा एक जना कलाकारले भनेका छन् विदेशमा बसोबास गर्ने हरेक नेपालीहरु तेह्र दिने दाजुभाई जस्तै हुन् । अर्थात् मातृभुमि छोडी आएपछि एउटा नेपालीले अर्को नेपालीसंग भाइचारा ब्यबहार गर्नुपर्नेमा केवल कुर्सीका कारण वातावरण धमिलिदै गइरहेको छ । अब यो किचलोले निकै नराम्रो असर पर्नेछ भन्ने अनुमान गरिएको छ ।
कचिङ्गल नहोस् भन्ने नेपाली समुदायले चाहन्छन् । वेमेल, कलह र कानुनी कचिङ्गलको विषयलाई सहमति र सम्वादको माध्यमबाट मेलमिलाप र भाइचारा सम्बन्ध सुमधुर बनाएर नेपाली समाजको वृहत्तर हिततर्फ जुट्न नेपाली समुदायले चाहेता पनि कुनै न कुनै निहुँमा विवाद भइहाल्छ । जुन अमेरिकामा रहेका नेपाली समुदायको सबैभन्दा चासो र चिन्ताको विषय हो ।
हुन त मातृभूमिका रोग नेपाली समुदायमा पनि सरेको हो कि । नेपालमा जस्तो दिनहुँ जस्तै वादविवाद र झैझगडा देखिन्छ, त्यसको फोटोकपी अमेरिकामा पनि देखिन्छ । चाहे त्यो काँग्रेस, एमाले, माओवादी वा राप्रपाको झगडा किन नहोस । ती झगडा भन्दा कम्ता कम छैनन्, अमेरिकामा रहेका नेपालीको विवाद पनि ।
अमेरिकाका स्थापना भएका ठूल्ठुला संस्था एएनए, गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल अमेरिका पत्रकार संघ तथा अन्य संस्थाहरु समेत किचलोबाट अछुतो हुन सकेको छैनन् । कचिङ्गल आन्तरिक तथा बाह्य रुपमा बिकराल हुदैछ ।
अमेरिकामा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा जब निर्वाचनको घोषणा गरिन्छ, तब बिबाद ,किचलो र कचिङ्गलले वातावरण बिगारी दिन्छ । १९८३ मा स्थापना भएको दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका एएनएमा उही रोग छ । एएनएका बारेमा उडन्ते समाचारमा अमेरिकामा रहेका हामी नेपालीहरुले पढेका छौं । नेतृत्व वर्गले आफै कुर्सी कब्जा गरेको जस्ता हुन नहुने दोषारोपण पनि सुनिएकै छ । गैरआवासीय नेपाली संघ अमेरिकाका अधध्यक्ष पदका प्रत्यासी न्युयोर्कका कानुनविद् खगेन्द्र जिसीलाई निर्वाचन अगाडि गम्भीर आरोप र उहाको चरित्र हत्या गर्ने नियतको साथ किचलो निकाल्ने काम ताजै छ ।
गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचनमा मतदाताको सूचीमा केही प्राबिधिक समस्या उत्पन्न भएको बिषयलाई लिएर किचलो भयो । कचिंगलं गर्न बिभिन्न प्रहार नभएका हैनन् । विवाद र कचिङ्गलको मारमा निर्वाचन समिति पुग्न गयो र न्यायालयमा जानेसम्म कुरा सुन्न पाइयो ।
नेपाल अमेरिका पत्रकार संघको निर्वाचन अगावै उम्मेदवारीको बिषयमा ठूलो विवाद र कचिङ्गल भयो । दोहोरी पनि चल्यो । निर्वाचन समितिका प्रमुखले उम्मेदवार सम्बन्धी जवाफ दिनुपर्ने अवस्था सिर्जना भयो । टेक्सासमा भएको निर्वाचनमा नेपाल अमेरिका पत्रकार संघको नेतृत्वमाथि दोष लगाउदै ब्यबसायिक पत्रकारितामा संलग्न १५ जना पत्रकारहरुले राजिनामा नै गरे । विवादको घेरा बढेपछि नेजाका अध्यक्षले कानुनी उपचार खोज्नेसम्म बताए ।
अमेरिकाको बाल्टिमोरस्थित बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका बाना पनि निर्वाचनको समयमा मतदाता धाँधलीको बिषयलाई लिएर ठूलो विवादमा फस्यो । त्यो विवाद पनि केवल कुर्सी शिवाय केहीका लागि थिएन ।
उत्तरअमेरिका कै सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोसाइटीमा गत निर्वाचनमा समयताका कचिङ्गलमा पर्यो । विवाद र मुद्दा हाल्नेसम्म कुरा अघि बढ्यो ।
अमेरिकामा भएका संघ तथा संस्थामा अब विवाद ,किचलो र कचिङ्गल हुनु कुनै नौलो कुरा हुने भएन र रहेन । अरु संस्थामा किचलो ,कचिङ्गल र विवाद देख्ने ,सुन्ने र हेर्ने मौका अब नेपाली समुदायले आफै भोग्न थालेका छन् । तर, विवादका विषय अत्यन्तै साना मसिना हुन्छन् । धेरै जसो विवाद त कसरी सामाजिक संघसंस्थाको नेता बन्नेमै रहन्छ । सामाजिक संघसंस्था हामी नेपालीबीच भाइचारा बढाउनका लागि हो, झगडा बढाउन होइन् । तर, यो बुझेर पनि किन बुझ पचाइँदैछ ?














प्रतिक्रिया