२९ आश्विन २०८३, बिहिबार

फेसबुकमा प्रहरीविरुद्ध कमेन्ट लेख्ने युवक बीस दिन हिरासतपछि घर फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-police

राजविराज, ७ असार । सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया लेखेकै कारण २० दिनदेखि प्रहरीको हिरासतमा रहेका सप्तरीका युवा व्यापारी अब्दुल रहमान रिहाइपछि आज गृहजिल्ला सप्तरी आइपुगेका छन् ।

काठमाडौँ जिल्ला अदालतले पाँच हजार धरौटी लिई सप्तरी पोर्ताहा गाविस–१ का रहमानलाई शुक्रबार रिहा गरेपछि शनिबार बिहान उनी राजविराज आइपुगेका हुन् ।

प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत सप्तरी जिल्ला अदालतसँग पाँच वर्षसम्मको कैद र रु एक लाखसम्म जरिवाना माग गर्दै सोमबार उनीविरुद्ध मुद्दा पेस गरेको थियो । सप्तरी जिल्ला अदालतले विद्युतीय कारोबार ऐन विपरीतको अपराध मुद्दा हेर्ने क्षेत्राधिकार काठमाडौँ जिल्ला अदालतको भएको भन्दै मङ्गलबार आदेश गरेपछि प्रहरीले बिहीबार उनलाई काठमाडौँ पुर्‍याएको थियो ।

यसरी पक्राउ परेका रहमानलाई बाटोको म्याद बाहेक २४ घन्टाभित्र मुद्दा हेर्ने अदालतमा उपस्थित गराउनुपर्नेमा क्षेत्राधिकार नपाएको जिल्ला अदालतबाट म्याद थप गर्दै १८ दिनसम्म सप्तरी प्रहरीले हिरासतमा राखेपछि मात्र सो मुद्दा हेर्ने क्षेत्राधिकार भएको काठमाडौँ जिल्ला अदालत पठाइएको थियो ।

यसैबीच, रहमानका पिता इसराइलले गत बुधबार पुनरावेदन अदालत राजविराजमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । सो रिटमा शुक्रबार न्यायाधीशद्वय यज्ञप्रसाद बस्याल र महेन्द्रराज गौतमको संयुक्त आदेशमा भनिएको छ, “अदालतसमक्ष हिरासतमा राख्ने अनुमति माग गर्दा सरकारी वकिलमार्फत कागजात पेस हुन सकेको भए निवेदक लामो समयसम्म प्रहरीको हिरासतमा रहिरहनुपर्ने र राष्ट्रसेवकको कारणबाट व्यक्ति वा नागरिकले पीडाको बोध गर्ने यस्तो अवस्था सिर्जना हुने थिएन ।”

यसबाट पुनरावेदन अदालत राजविराजले कारण देखाउ आदेश जारी नगरे पनि प्रहरीबाट व्यक्ति वा नागरिकले पीडाको बोध गर्नुपरेको स्पष्ट भनेको छ ।

पत्रकार जितेन्द्रकुमार झाद्वारा नागरिकमा प्रकाशित ‘सप्तरीमा सुध्रँदो सुरक्षा’ भन्ने शीर्षकको समाचार पत्रकार झाबाट फेसबुकमा सार्वजनिक हुँदा गत जेठ १७ गते राति रहमानले “केको सुध्रिनु आफ्नै चोरी भएको बाइक फर्काउन पैसा तिर्नु परिरा’छ । त्यो पनि ५० हजार ।” भन्ने प्रतिक्रिया लेखेका थिए ।

प्रतिक्रियाबाट आक्रोशित प्रहरीले राजविराज–३ स्थित रहमानकै जुत्ता–चप्पलको पसल अगाडिबाट गत जेठ १८ गते दिउँसो १ बजे गिरफ्तार गरी विद्युतीय कारोबार ऐन विपरीतको अपराध मुद्दा चलाएको थियो ।