भीमदत्तनगर, २९ भदौ । राजनीतिमा सक्रिय एकीकृत नेकपा (माओवादी)का कञ्चनपुरका जिल्ला सचिव गोपाल रसायली पछिल्ला दिनमा पार्टीको कामसँगै कृषि व्यवसायमा पनि संलग्न छन् ।
सचिव रसायलीले कञ्चनपुरको दैजी गाविस–९ चतरीमा कुखुरापालन सुरु गरेका छन् । “पार्टीको उत्पादन नीतिअनुरुप कुखुरापालनमा लागेको हुँ ।” सचिव रसायलीले भन्नुभयो, “पहिलो पटकमा ८०० चल्ला हालेको छु ।”
नेता तथा कार्यकर्ताको आर्थिक अवस्था नै मजबुद नभएकाले पार्टी केन्द्रले नै उत्पादनतर्फ लाग्न दिएको निर्देशन अनुरुप आफूसहित केही नेता यहाँ विभिन्न व्यवसाय सञ्चालनमा जुटेको उहाँको भनाइ छ । “सुरुका ८०० चल्ला तयार भइसकेका छन्” उहाँले भन्नुभयो ।
भारतमा रहँदा पार्टीको अन्तर्राष्ट्रिय विभाग हुँदै जिल्लाको राजनीतिमा सक्रिय भूमिका निभाइसक्नु भएका रसायली महेन्द्रनगर नगरविकास समितिका पूर्व अध्यक्ष समेत हुन् । उनी विभिन्न सङ्घ सङ्गठनमा सक्रिय छन् । “कुखुरा उत्पादन र बिक्रीमा व्यापारीको दबदबा रहेछ”, रसायलीले भन्नुभयो, “किसानलाई खासै फाइदा रहेनछ ।”

त्यसैगरी रसायलीसँगै माओवादीकै अर्का जिल्लास्तरीय नेता तथा शान्ति समिति कञ्चनपुरका संयोजक गगन सिंहले पनि कञ्चनपुरको पुनर्वास नगरपालिकामा बङ्गुरपालन र माछापालन सुरु गरेका छन् । पुनर्वास नगरपालिका–१० ‘ग’ गाउँमा दुई कट्ठामा बङ्गुरपालन र माछापालन व्यवसाय सुरु गरेको माओवादी जिल्ला सचिवालय सदस्यसमेत रहनुभएका सिंहले बताउनुभयो ।
“सुरुमा छ वटा बङ्गुरबाट सात महिनाअघि व्यवसाय सुरु गरेको हुँ”, सिंहले भन्नुभयो, “अहिले बङ्गुर हुर्कीसकेका छन् भने माछापालन पनि राम्रै हुँदैछ ।” उहाँले आर्थिक लगानी अभावका कारण व्यवसायलाई नयाँ उचाइ दिन नसकेको बताउनुभयो ।
“अहिलेसम्म रु ८० हजार लगानी गरिसकेको छु”, उहाँले भन्नुभयो, “अब दसैँपछि व्यवसायलाई बढाउँदै लान्छु ।” पार्टीको उत्पादन नीतिअनुसार व्यवसाय थालेको उहाँको भनाइ छ । उहाँले गत पुसदेखि बङ्गुरपालन तथा फागुनदेखि माछापालन सुरु गर्नुभएको हो ।
“अझै रु तीन लाखसम्म लगानी आवश्यक छ”, उहाँले भन्नुभयो, “लगानी अभावले चाहेअनुसार व्यवसाय अगाडि बढाउन समस्या भएको छ ।” नेता सिंहले पुनर्वासमै पाँच बिगाहा जमिन भाडामा लिएर उखुखेतीसमेत सुरु गरिसकको बताउनुभयो ।
पुनर्वास नगरपालिकाकै कालिकामा अर्का नेता रामबहादुर देवकरले पनि बङ्गुर तथा माछापालन गरिरहनु भएको छ । नेता देवकर माओवादीका पूर्वलडाकूका कमाण्डरसमेत हुन् । उहाँले स्वेच्छिक अवकाशसँगै पार्टीको राजनीति र व्यवसायलाई निरन्तरता दिइरहेको बताउनुभयो । रासस















प्रतिक्रिया