१० कार्तिक २०८३, मंगलबार

अठ्ठाइस विद्यालयलाई शिक्षक दरबन्दी वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ilam_districtइलाम, २९ भदौ । लामो समयदेखि थाँती रहेको दरबन्दी मिलान कार्ययोजना निर्माणसँगै विद्यालयमा दरबन्दी मिलाउन प्रक्रिया सुरू गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय इलामले विद्यार्थी सङ्ख्या कम भएका विद्यालयबाट दरबन्दी कटौती गरी बढी भएका विद्यालयमा दरबन्दी थप गर्न सुरू गरेको हो ।

कार्ययोजना कार्यान्वयन गराउने चरणमा विद्यार्थी न्यून भएका २३ वटा प्राथमिक विद्यालयलाई बन्द गरी त्यहाँ कार्यरत शिक्षकलाई नजिकैका निमावि र माविमा खटाइएको छ । तेइस वटा प्राथमिक विद्यालयका ७० जना शिक्षकलाई अन्यत्रै सरुवा गरिएको जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतमले बताउनुभयो ।

जिल्ला शिक्षा समितिको भदौ ११ गते बसेको बैठकले २८ विद्यालयलाई दरबन्दी प्रदान गरेको हो । चार वटा दरबन्दी भई कक्षा ८ सञ्चालन भएका आठ वटा विद्यालयलाई थप एक/एक वटा, पाँच वटा दरबन्दी भई कक्षा ८ सञ्चालन भइरहेका १० वटा विद्यालयलाई एक/एक वटा, एउटै दरबन्दी नभई सञ्चालन भइरहेका दुई वटा विद्यालयलाई एक/एक वटा र विद्यार्थी अनुपातका आधारमा अन्य विद्यालयलाई दरबन्दी प्रदान गरिएको जिशिअ गौतमले जानकारी दिनुभयो ।

दरबन्दी मिलान प्रक्रिया अघि बढेपछि २०५७ सालदेखि रोकिएका दरबन्दी मिलान कार्य अब अघि बढेको हो ।

निमावि र मावि तहमा १० जनाभन्दा कम विद्यार्थी भएका विद्यालयलाई समायोजन तथा बन्द गर्ने, १३ जनाभन्दा कम विद्यार्थी भएको प्राविलाई भौगोलिक विकटताको बहुकक्षा विद्यालय कायम गरिने नीति लिइएको जिशिकाले जनाएको छ ।

विद्यार्थी न्यून भएका कारण धेरै प्रावि बन्द गर्नुपरेको शिक्षा समितिले जनाएको छ । विद्यार्थी सङ्ख्या कम भएका विद्यालयबाट दरबन्दी पुलमा तानेर विद्यालयलाई वितरण गरिएको र विद्यालयबाट दरबन्दी कटौती गर्न धेरै समस्या झेल्नुपरेको जिशिअ गौतमको भनाइ छ ।

“नयाँ दरबन्दी दिन सजिलो रहेछ तर वर्षाैंअघि दिइएको दरबन्दी कटौती गर्न धेरै गाह्रो रहेछ, जिशिअ गौतमले दरबन्दी मिलान प्रक्रियासँगै दरबन्दी बिनै सञ्चालन भएका विद्यालयलाई ठूलो राहत मिलेको छ ।” रासस