काठमाडौँ, ७ असार । प्रधानमन्त्री सुशील कोइरालाको अमेरिकाको न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा शुक्रवार पनि शृङ्खलाबद्ध स्वास्थ्य परीक्षण गरिएको थियो ।
बिहान सबेरैदेखि गरिएको स्वास्थ्य परीक्षण अपराह्न अबेरसम्म जारी रहेको र त्यस क्रममा छाती र फोक्सोको समेत परीक्षण गरिएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगले जनाएको छ ।
प्रधानमन्त्री कोइरालाका साथ रहनुभएका निजी चिकित्सक डा कविरनाथ योगीका अनुसार गरिएका सबै परीक्षणले प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै किसिमका अस्वभाविक अवस्था देखाएको छैन ।
प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकहरुका अनुसार सम्पूर्ण परीक्षणको पूर्ण नतिजा आगामी साताको अन्त्यतिर मात्र आउने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री कोइराला स्वास्थ्योपचारका सिलसिलामा गत सोमबार अमेरिका प्रस्थान गर्नुभएको थियो ।
उहाँले सोही सेन्टरमा विगत केही वर्षदेखि नियमितरूपमा उपचार गराइरहनुभएको छ । रासस
















प्रतिक्रिया