
बेसीशहर, ७ असार । लमजुङ सदरमुकाम बेसीशहरका युवा व्यवसायी नन्दमान श्रेष्ठको शनिबार मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
डुम्रे बेसीशहर सडक खण्ड अन्र्तगत तनहुँको नेपालडाँडा नजिकै सिमलचौरमा श्रेष्ठले चलाएको मोटरसाइकललाई शनिबार बिहान ६ बजे जीपले ठक्कर दिँदा उनको मृत्यु भएको हो । डुम्रेबाट बेसीशहर आउँदै गरेको ग १ च ७२४९ नम्बरको जीपले श्रेष्ठको ग ७ प ४१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । जिपको ठक्करबाट टाउको चोट लागि गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।
वेसीशहरका लोकप्रिय व्यवसायी ३६ वर्षीय श्रेष्ठ घरबाट डुम्रेतर्फ जाँदै थिए ।
ठक्कर दिने जिपका चालक गोरखा च्याङलीका सीताराम कुमाललाई नियन्त्रणमा लिइएको बाइसजाँगर प्रहरी चौकीका प्रमुख, असइ कविन्द्र गुरुङले जानकारी दिए ।
यता, बेशीशहरमा शनिबार बिहानै ग ६ प ९६६४ नम्बरको मोटरसाइकलको ठक्करबाट चार बर्षीय बालिका गम्भीर घाइते भएकी छिन् । बेसीशहर भीमसेनस्थानका व्यवसायी हिरामान श्रेष्ठकी नातिनी ४ बर्षीया रेष्मा श्रेष्ठलाई विहान साँढे ९ बजे मोटरसाइकलले ठक्कर दिएको हो ।
बालिकालाई ठक्कर दिने मोटरसाइकल चालक बेशीशहर ११ का ३० वर्षीय राजन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















प्रतिक्रिया