
काठमाडौं, २८ भदौ । संविधानसभामा कांग्रेस र एमाओवादीका सभासदहरूले पार्टीको निर्देश उल्लंघन गरेका छन् । एमालेमा भने पार्टी निर्देशन उल्लंघन गरेको पाइन ।
पार्टीका निर्देशन उल्लंघन गर्नेमा कांग्रेसका सभासद प्रदीप गिरी, सुरेन्द्र चौधरी, अमरेशकुमार सिंह, दिनेश परसैला, राम अयोध्या यादव र तेजुलाल चौधरी रहेका छन् ।
उनीहरूले पार्टीका निर्देशन उल्लंघन गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
संविधान निर्माणको प्रक्रिया अगाडि बढेकाले पार्टीको निर्णयलाई मान्न सबै सभासदलाई निर्देशन दिएको बताउनुभएका श्रेष्ठले यस विषयमा छलफल गरी आवश्यक निर्णय लिइने बताउनुभयो । श्रेष्ठले प्रधानमन्त्री एवम् सभापति सुशील कोइरालाले प्रक्रियामा सहभागी हुन दिएको निर्देशनलाई पनि उनीहरूले उल्लंघन गरेको बताउनुभयो ।
उता, एकीकृत माओवादीमा पनि नेता बाबुराम भट्टराई निकट मानिने सभासद प्रभु साहले संविधानसभाको प्रक्रियामा भाग लिनुभएन ।
उहाँले मधेसीका माग सम्बोधन नगरेकोले आफू प्रक्रियामा सहभागी नहुने भन्दै संविधानसभाका अध्यक्षलाई पत्र बुझाउनु भएको थियो ।
एमाओवादी सचेतक रेखा शर्माले आफ्नो पार्टीमा कुनै समस्या नदेखिएको बताउनुभयो । ‘प्रभु साह पहिलादेखि नै मधेसका माग लिएर आउनुभएको थियो’, शर्माले भन्नुभयो, ‘उहाँ ती मागलाई लिएर संविधानसभाको प्रक्रियाबाट बाहिरिनु भएको छ ।’
एमालेमा भने कुनै समस्या देखिएको छैन । आइतबारको संधिवानसभा बैठकमा एमालेका तर्फबाट एक जना सभासद अनुपस्थित रहेकी थिइन् । सभासद राज्यलक्ष्मी गोल्छा बिरामी परेकाले बैठकमा अनुपस्थित रहेको सचेतक गोकुल घर्तीले जानकारी दिनुभयो ।















प्रतिक्रिया