२८ आश्विन २०८३, बुधबार

बहुमत प्रतिनिधिको समर्थनले म थप उत्साहित छु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Nepal

नेकपा एमालेका हामी सबै नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु यतिबेला नवौं राष्ट्रिय महाधिवेशनको संघारमा उभिएका छौं । महाधिवेशनले राष्ट्र र पार्टीको जीवनमा गहिरो र निर्णायक प्रभाव पार्ने गर्दछ । पार्टीको महाधिवेशनबाट हामी अझ एकताबद्ध र संगठित भएर र सही विचार र सक्षम नेतृत्व चुनेर अघि बढ्न सक्यौं भने त्यसले पार्टीलाई निकै अघि बढाउनेछ र देशलाई नेतृत्व गर्ने अवस्थामा पुर्याउने छ । नेपालको स्वाधिनता र स्वाभिमान तथा जनताको समृद्धिका लागि समेत योगदान पुर्याउने छ । यसर्थ नवौं राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक र अत्यन्त सफल बनाउन म सबैमा हार्दिक अपिल गर्दछु ।

महाधिवेशनलाई सही अर्थमा सफल बनाउन र पार्टीलाई एकताबद्ध बनाउँदै क्रान्तिकारी मार्गमा दृढतापूर्वक अघि बढाउन हामीले नवौं राष्ट्रिय महाधिवेशनलाई सबै दृष्टिकोणबाट सफल बनाउनु पर्दछ । यसका लागि पार्टीका प्रमुख नेताहरुबीच सरसल्लाह, एकता र सहकार्य हुनु आवश्यक छ । तसर्थ गुटस्वार्थ भन्दा राष्ट्रिय हित एवं सम्पूर्ण पार्टीको एकता र हितलाई ध्यान दिन म सबैको ध्यानाकर्षण गर्दछु ।

पार्टी महाधिवेशनमा निर्वाचित भएर आउने प्रतिनिधिहरु पार्टीको सार्वभौम अधिकार प्रयोग गर्ने सदस्यहरु हुन् । पार्टीका संगठित सदस्यहरुको भावना र चाहना बोकेर आएका उनीहरु पार्टीका सम्वाहकहरु हुन् र उनीहरुको निर्णयमा पार्टीको भविष्य निर्धारित हुन्छ । त्यसैले महाधिवेशनका प्रतिनिधिहरुको निर्वाचन अत्यन्त स्वच्छ, निष्पक्ष र सबै प्रकारका भ्रम र त्रासबाट मुक्त वातावरणमा हुनुपर्दछ । प्रत्येक पार्टी सदस्यले कुनै पनि प्रकारको दबाब र हस्तक्षेपको महशुस गर्ने अवस्था हुनु हुँदैन ।

पार्टीको पाँचौं राष्ट्रिय महाधिवेशनदेखि नै हामीले उन्नत ढंगले लोकतान्त्रिक अभ्यास गर्दै आएका छौं । हाम्रो लोकतान्त्रिक अभ्यास अझ परिमार्जित र समृद्ध हुँदै जानुपर्छ र हाम्रो यस्तो अभ्यासमा राज्यसत्ता र पार्टी सत्ताको हस्तक्षेप तथा दुरुपयोग हुनुहुँदैन । तर दुःखको कुरो यसपल्ट मैले विभिन्न स्थानका कार्यकर्ताहरुबाट अनेकौं गुनासा सुन्नुपरेको छ । राजनीतिक नियुक्तिहरुको लोभ देखाउने, विभिन्न किसिमका प्रलोभन दिने र त्यति गर्दा पनि दबाबमा नपर्ने कार्यकर्ताहरुलाई राजनीतिक भविष्य खतरामा पर्ने चेतावनी प्रत्यक्ष अप्रत्यक्ष रुपमा दिने जस्ता गलत व्यवहारहरु देखापर्न थालेका छन् । यस्ता तौरतरिकाहरु हाम्रो जस्तो पार्टीको आन्तरिक लोकतन्त्रको अभ्यासका लागि अशोभनिय हुन् । यस्तो कार्य नहोस् भन्ने तर्फ म सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छु । यसरी ध्यानाकर्षण गर्नु पर्दा मैले असहज महशुस गरिरहेको छु ।

असार ७ गते र १० गते हुने महाधिवेशन प्रतिनिधि निर्वाचनमा सम्पूर्ण संगठित सदस्य कमरेडहरुलाई आफ्नो मत स्वतन्त्र र विवेकपूर्ण ढंगले सक्रियताका साथ प्रयोग गर्न हार्दिक आग्रह गर्दछु । सो निर्वाचन हामी एउटै पार्टीका साथीहरुबीच हुने मित्रतापूर्ण र स्वस्थ प्रतिस्पर्धा हो त्यसैले यस कार्यलाई सहज, निष्पक्ष र लोकतान्त्रिक रुपमा सम्पन्न गर्नु पर्दछ ।

अहिले केही निर्वाचन क्षेत्र र जिल्लाहरुमा निर्विरोध रुपमा प्रतिनिधिहरु निर्वाचित हुनु भएको छ । हालसम्म चयन हुनुभएका सबै प्रतिनिधिहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु । यसरी निर्विरोध निर्वाचित प्रतिनिधिहरुमध्ये अत्यधिक बहुमत कमरेडहरुले हाम्रो विचार र नेतृत्वप्रति प्रस्तुत गर्नुभएको समर्थनले मलाई थप उत्साहित बनाएको छ । निर्वाचित हुन बाँकी स्थानहरुका सबै संगठित सदस्यहरुलाई कुनै प्रलोभन र दबाबमा नपरी आफ्नो मताधिकार प्रयोग गर्न पनि आग्रह गर्दछु । परिवर्तित परिस्थितिमा हामीले अघि सारेका सही विचार नै पार्टीको आधिकारिक विचार बनेको छ । यसमा योगदान गर्ने पार्टीका सबै नेता तथा कार्यकर्ता कमरेडहरुलाई म धन्यवाद ज्ञापन गर्दछु । पार्टीको नवौं राष्ट्रिय महाधिवेशनबाट नेपाली क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनवाद थप समृद्ध र परिष्कृत हुनेछ । महाधिवेशनले विचार, संगठन र नेतृत्वको तादाम्यता कायम गर्नेछ भन्ने मेरो पूर्ण विश्वास छ ।

(एमाले वरिष्ठ नेता नेपालले शुक्रबार सार्वजनिक गर्नुभएको धारणा)