ताप्लेजुङ, २६ भदौ । धेरैजसो तिब्बततर्फ निर्यात हुँदै आएको गलैँचाको मूल्य र माग बढेसँगै ताप्लेजुङको ओलाङ्चुङगोलावासीले मनग्य आम्दानी लिन थालेका छन् ।
केही वर्षअघि सम्म घाटा व्यहोर्दै आएका गलैँचा व्यवसायीले पछिल्लो समयमा मूल्य र माग बढेपछि गलैँचा व्यवसायबाट मनग्य फाइदा लिन थालेका हुन् । ताप्लेजुङको सदरमुकामदेखि २२ कोष उत्तरमा अवस्थित ओलाङ्चुङगोलाका स्थानीयवासीले बनेको गलैँचा धेरैजसो तिब्बत निर्यात हुने गरेको स्थानीयवासी छेतेन डण्डु शेर्पाले बताएका छन् ।
पछिल्लो ६ महिनाको अवधिमा करिब चार सय ५० भन्दा बढी गलैँचा तिब्बत निर्यात भएको व्यवसायीको भनाइ छ । यहाँका स्थानीयवासीको प्रमुख काम पशुपालन व्यवसाय, जडीबुटी सङ्कलन र गलैँचा व्यापार नै हो । यहाँका धेरैजसो महिलाले घरको कामसँगै गलैँचा बुन्ने गर्छन् भने पुरुषले चौँरी पाल्ने, छुर्पी बनाउने, जडीबुटी सङ्कलन र व्यापार गर्ने गर्छन् । समुन्द्र सतहदेखि तीन हजार मिटरभन्दा माथिको भू–भागमा अवस्थित ओलाङ्चुङगोलामा छिट्फुट रुपमा आलु खेतीबाहेक अन्य खेतीपाती नहुने हुँदा वर्षौंदेखि स्थानीयवासीले गलैँचा व्यवसायलाई नै जीवन निर्वाहको प्रमुख आधार बनाउँदै आएका छन् ।
केही वर्षअघि सम्म आवश्यक पर्ने कच्चापदार्थ तिब्बतबाटै खरिद गर्ने गरे पनि हिजोआज गलैँचाका लागि आवश्यक कच्चापदार्थ तिब्बतबाट नै ल्याउँदै आएकामा हिजोआज काठमाडौँबाट खरिद गरेर लाने गरेका छन् । गलैँचा बन्ने धागो तिब्बतमा पाइनेभन्दा नेपालकै गुणस्तरीय हुने भएकाले काठमाडौंबाट खरिद गर्ने गरिएको व्यवसायीले बताएका छन् । ओलाङ्चुङगोलावासीका यी गलैँचा व्यवसायीलाई कहिलेकाहीँ चिनियाँ बजारमा हुने उतारचढाब र उत्तरी ओलाङ्चुङगोला नाका नियमितरुपमा सञ्चालन नहुँदा बजारीकरणमा समस्या आउने गरेको छ । ओलाङ्चुङगोला ताप्लेजुङ सदरमुकामबाट तीन दिनको पैदल दूरीमा पर्छ । रासस




![nlntk'/sf] vf]sgfdf un}Frf a'Gb} dlxnfx? . tl:a/ M k|bLk/fh jGt, /f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/09/Galayacha-bundhai1-650x433.jpg)











प्रतिक्रिया