काठमाडौँ, ६ असार । प्रधानमन्त्री सुशील कोइरालाको जिब्रोको अवस्था परीक्षणबाट सामान्य देखिएको छ ।
प्रधानमन्त्री कोइरालाको अमेरिकाको न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा बिहीबार जिब्रोको परीक्षण सम्पन्न भएको थियो ।
प्रधानमन्त्रीको समेत कार्यभार सहाल्नुभएका उपप्रधानमन्त्री वामदेव गौतमले प्रधानमन्त्रीका साथमा रहनुभएका प्रमुख सेनानी प्रकाश देउजासँग शुक्रवार बिहान टेलिफोन सम्पर्क गरी प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको थियो ।
प्रमुख सेनानी देउजाले प्रधानमन्त्री कोइरालाको जिब्रोको परीक्षणबाट सामान्य नतिजा देखिएको उपप्रधानमन्त्री गौतमलाई जानकारी दिनुभएको सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले बताउनुभयो ।
फोक्सोमा देखिएको दागबारे आवश्यक परीक्षण गरिएको र त्यसको नतिजा आउन केही समय लाग्ने प्रमुख सेनानीबाट जानकारी प्राप्त भएको सूचना तथा सञ्चारमन्त्री डा. रिजालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कोइराला स्वास्थ्योपचारका सिलसिलामा गत सोमबार अमेरिका प्रस्थान गर्नुभएको थियो । उहाँले सोही सेन्टरमा केही वर्षअघि जिब्रोको उपचार गर्नुभएको थियो ।
मन्त्री डा. रिजालले भन्नुभयो, ‘प्रधानमन्त्री कोइरालालाई जिब्रोबाटै सङ्क्रमण भई त्यसको असर अन्यत्र परेको थियो कि भन्ने जुन आशङ्का थियो त्यो आशङ्का अब रहेन । ’ रासस
















प्रतिक्रिया