
संयोजक, थारु/थारुवान संयुक्त संघर्ष समिति
संघीय राज्यको सिमाङ्कन र पहिचानको मुद्दालाई लिएर थारु आन्दोलन चर्किएको छ । झण्डै तीन सातादेखि थारुहरूले आन्दोलनलाई तराईमा चर्कारहेका छन् । उनीहरूको प्रदर्शनको आलोचना पनि भएको छ । विशेष गरेर कैलाली र बर्दियामा सुरक्षाकर्मीको ज्यान जानेगरी भएका हिंसात्मक घटनाको चौतर्फी विरोध भए । शान्तिप्रिय थारु समुदायको आन्दोलन कसरी हिंसात्मक बन्यो त ? आन्दोलन कसको नियन्त्रणमा छ ? थारुको माग के हो ? आदि विषयलाई केन्द्रमा राखेर थारु आन्दोलनका कमाण्डर थारु कल्याणकारिणी सभाका अध्यक्ष धनीराम चौधरीसँग गरिएको कुराकानी :
आन्दोलनले दिशा भुल्न थालेको हो ? थारु आन्दोलनको उदेश्य के हो ?
थारु/थारुवान संयुक्त संघर्ष समितिले गरेको आन्दोलन अहिंसात्मक हो । लोकतान्त्रिक वैधानिक र पूर्णशान्ति आन्दोलन हो । हामी शान्तिपूर्ण प्रदर्शनमा विश्वास गर्छौं । संसारमा राजनीतिक परिवर्तनले शान्तिपूर्ण रुपमा ठूलाठूला परिवर्तन भएका छन् । शान्तिपूर्ण आन्दोलनले नै अधिकार सुनिश्चित भएको छ । हामी पनि शान्तिपूर्ण आनदोलनबाट सदियौँदेखि कुण्ठित भएको थारु समुदायको अधिकारका लागि आन्दोलनमा आएका हौँ । थारुको आफ्नो पहिचा र अधिकारका लागि गरिएको आन्दोलन हो । तराईको आदिवासी थारु नै हो । थारुलाई पहिचान दिने विषय अहिले पनि देखिएको छैन । अधिकार र पहिचान नहुँदासम्म तथा सामाजिक न्याय नहुँदासम्म थारुहरू शान्त हुँदैनन् । आन्दोलनको मैदानमा रहन्छन् ।
थारु आन्दोलन कसको नियन्त्रणमा ?
थारु/थारुवान संयुक्त संघर्ष समिति कै नियन्त्रणमा छ आन्दोलन । यसमा केही तत्वले घुसपैठ गराउने प्रयास पनि गरेको छ । यसबाट हामी सचेत छौं ।
माग पूरा भएन भने अब के गर्ने ?
थारुको माग र मुद्दालाई समयमा पूरा गरियोस् भन्ने हाम्रो माग र सुझाव छ । तर यसलाई वेवास्ता गरियो भने थारुले आफ्नो आन्दोलनलाई रोक्ने कुरा रहँदैन । प्रदेशको सिमाङ्कनको कुरा आयोगमार्फत टुङ्गाउने भनिएको छ । यो मान्न सकिँदैन । संविधानसभाले टुङ्गाउन नसकेको विषय आयोगले मिलाउन सक्छ भन्ने मलाई लाग्दैन ।
अहिले थारु आन्दोलन हाम्रो नियन्त्रणमा छ । यही बेला थारुहरूले राखेका मागलाई सम्बोधन गरिनुपर्छ । थारुहरूलाई समयमा बुझ्न सकिएन भने त्यसले भविष्यमा ठूलो दुर्घटना पनि निम्ताउन सक्छ । भोलि थारुलाई नियन्त्रण गर्न सकिँदैन । गाह्रो हुनसक्छ ।
अहिलेको अवस्थामा वर्षौंदेखि उठाएको थारुको मागलाई पूरा गर्नुपर्छ । समयमा सम्बोधन गरिएन भने देशमा संकट आउनसक्छ । त्यो संकेत मैले देखेको छु । यो हाम्रो आन्दोलन राष्ट्रियता र राष्ट्रिय अखण्डतासँग जोडिएको छ । थारु कमजोर भयो भने तराई कमजोर हुन्छ । तराई कमजोर भएपछि राष्ट्र कमजोर हुन्छ । यो कुरा नेताहरूले समयमा बुझ्नुपर्छ । अहिले हाम्रो नियन्त्रणमा रहेकै समयमा थारुका माग पूरा गरियोस् भन्नेमा जोड दिन चाहन्छौं ।
तपाईहरूको असन्तुष्टि केमा हो ?
हाम्रो असन्तुष्टि सिमाङ्कन र पहिचानको विषयमा नै हो । सिमाङ्कनमा चित्त नबुझेर आन्दोलनमा उत्रिएका हौँ । त्यही विषय सम्बोधन भएन भने कसरी चित्त बुझाउने । यो विषयलाई अहिले नै संविधानसभाले जतिसक्दो वार्ता र सम्वादमार्फत टुङ्गाइनुपर्छ । नवलपरासीदेखि कञ्चनपुरको भू–भागमा थारुहरूको दाबी छ ।
थारुहरूको मधेश केन्द्रित दलहरूसँगको सम्बन्ध के हो ?
हाम्रो संयुक्त आनदोलन होइन । हाम्रा माग अलग छन् । मधेशीहरूसँग सहकार्य छैन । आन्दोलनका क्रममा उहाँहरूको नैतिक समर्थन छ । अरुको पनि छ । समर्थन लिनेदिने हुन्छ । हाम्रो शान्तिपूर्ण आन्दोलनलाई जसले पनि समर्थन र साथ दिनसक्छ । हाम्रो पनि नैतिक समर्थन उहाँहरूलाई पनि छ ।
तपाई सरकारी कर्मचारी भएर आन्दोलन चर्काएको आरोप छ नी ?
हो म सरकारी कर्मचारी हुँ । तर मेरा लागि देश र थारु समुदाय ठूलो हो । देश बचाउन र राष्ट्रियताका लागि मेरो सहयोग र समर्थन रहन्छ । मैले जे गरेको छु समाज र देशको लाग ठीक गरेको छु । मेरो पेशाभन्दा पनि राष्ट्र ठूलो हो । म सरकारी कर्मचारी वा इञ्जिनियर भएकोले हिंसाका घटना गरएको होइन । म सरकारी कर्मचारी हुँदा वफादारीका साथ जिम्मेवारी बहनु पनि गरेको छु ।
संविधानसभाबाट थारुले अधिकार खोजेका हुन् । त्यो अधिकारका लागि थारु कल्याणकारिणी सभाको अध्यक्षको हैसियतले मैले थारु आन्दोलनको नेतृत्व गरेको गरेको हुँ । हाम्रो संयुक्त संघर्ष समितिमा सबैको प्रतिनिधित्व छ । यसमा सबै थरीका थारु अधिकारवादी र नेताहरू हुनुहुन्छ । अधिकारका लागि एउटा थारुले आन्दोलनको नेतृत्व गर्दा वा अधिकार माग्दा किन सरकारी कर्मचारी हो भनेर विरोध हुन्छ ? राजनीतिक दलका कर्मचारीका संगठनहरू पनि छन् । उनीहरूले पनि त अधिकारका लागि आ–आफ्नो तरिकाले आन्दोलन गरिरहेका छन् नी ।
नयाँ बन्न लागेको संविधानमा मेरो नेतृत्वमा थारुले शान्तिपूर्ण र संवैधानिक रुपमा अधिकार माग गरेको हो । थारुको आन्दोलनबाट त्रसिएकाहरूले मेराविरुद्ध अनेकथरी प्रचार गरेका हुन् । म थारुको पहिचान र अधिकारको लडाइँको आन्दोलनबाट बिचलित छैन । अझै दृढ भएर आन्दोलनको नेतृत्व गरेको छ । देश र जनताका लागि आवश्यक परे मेरो ज्यानको प्रवाह पनि छैन ।
म थारु समुदायको अधिकारका लागि प्राण रहेसम्म आन्दोलनमा रहनेछु । म कसैको आरोप र आक्षेपबाट विचलित छैन । सबैले बुझे हुन्छ । आन्दोलनका बेला अनेकथरी आक्षेप र आक्रमण हुन्छ भन्ने बुझेरै म थारु आन्दोलनको नेतृत्व गरेको हुँ । अधिकार र पहिचानको थारु आन्दोलन कमजोर पार्ने खेल कसैबाट हुनु हुँदैन । म एउटा धनीरामलाई आक्षेप लगाउँदैमा अरु थारुले आन्दोलन छाड्ने पक्षमा छैनन् । सबैले बुझुन् । र मेरा विरोधीले पनि बुझ्न जरुरी छ । धनीराम शान्तिपूर्ण आन्दोलन र थारुको अधिकारको पक्षमा छ ।
तपाईहरूको आन्दोलन कसरी राष्ट्रियतासँग जोडिएको छ ?
अघिल्लो पटक मधेश आन्दोलन चर्किएका बेला एक मधेश प्रदेश भनेर माग उठेको थियो । थारुले नै हो एक मधेश प्रदेशको मुद्दा तुहाइ दिएको । यो राष्ट्रलाई कसैले बचाउन सक्छ भने त्यो थारु नै हो । यो कुरा कसैले भुल्नु हुँदैन । थारु नै राष्ट्रभक्त शक्ति हो । हामी राष्ट्रियताका पक्षमा ज्यान दिन तयार छौं । हाम्रो राष्ट्रियताको भावनासँग डराएका केही शक्तिले थारु आन्दोलन कमजोर पार्न लागेका हुन् । हामीले त्यस्ता षड्यन्त्र बुझेका छौँ । विचलित छैनौँ । थारुलाई कामजोर पार्ने षड्यन्त्रलाई हामीले चिर्ने छौँ ।
थारु आन्दोलनमा विभाजन आएको हो ?
कसले भन्यो ? थारु आन्दोलनमा विभाजन आयो भनेर ? थारु अहिलेसम्म विभाजित भएका छैनन् । बरु हामी झन् अधिकार र पहिचानको आन्दोलनमा दृढ भएर लागेका छौं । एक छौँ ।
थारु आन्दोलनले तीन हप्ता पूरा गर्दैछ अबस कसरी टुङगोमा पुराउनु हुन्छ ?
सरकारमा रहेका दल र राज्यले वार्ताको वातारण बनाएको छैन । हामीले वार्ताका लागि राखेको न्यूनतम सर्त पनि पूरा गरिएको छैन । हामी तयार भएर बसेका छौँ वार्ताका लागि । सरकारले थारुले अघि सारेका माग पूरा गर्ने प्रतिवद्धता जनाए मात्रै पनि हामी वार्ता बस्न तयार छौं । समस्याको समाधान वार्ता र मेलमिलापबाटै हुन्छ ।
कैलाली र बर्दियाको घटनामा थारु आन्दोलनको सहभागिता छ ?
बर्दिया र कैलालीमा भएको हिंसामा हाम्रो कुनै संलग्नता छैन । सुरक्षाकर्मीको ज्यान जाने गरी भएको हिंसाको स्वयं थारु संयुक्त संघर्ष समितिले विरोध र भत्र्सना गरेको छ । घटनाको छानविन गरेर दोषीलाई कारबाही गर्न हामीले पनि माग गरेका छौं । राज्यले सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गरोस् । हाम्रो सहयोग रहन्छ ।
तर शान्ति सुरक्षा बनाउने जिम्मेवारी सरकारको हो । फेरि शान्तिपूर्ण थारुको प्रदर्शनलाई उत्तेजित बनाउने कार्य पनि सरकारले गर्नु हुँदैन । शान्तिपूर्ण प्रदर्शनमा भएका दमनको हामी निन्दा गर्दछौं । आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सरकारले शहिद घोषणा गर्नुपर्छ । घाइतेको उपचार गर्नुपर्छ । पक्राउ परेकाहरू विनासर्त रिहा हुनुपर्छ । मृत्तकका आश्रित परिवारलाई जीविकोपार्जनका लागि उचित व्यवस्था गर्नुपछ । चाहे त्यो थारु आन्दोलनकारी होस् वा सुरक्षाकर्मी ।
थारु आन्दोलनले साम्प्रदायिकतालाई पश्रय दिएको हो ?
कदापि होइन । हामी साम्प्रदायिकता भड्काउने समूहसँग सचेत छौं । सदियौँदेखि मिलेर बसेका थारु, पहाडे र अन्य जातिवीचको सामाजिक सद्भाव कायम रहनुपर्छ । यसमा म र सिङ्गो थारु आन्दोलन सचेत छ । कसैले यस्तो कार्य गर्छ भने सबै मिलेर परास्त गर्नुपर्छ । हिमालदेखि तराईसम्म बसोबास गर्ने सबै नेपाली हुन् । उनीहरुबीचको सामाजिक सद्भाव कायम गर्ने हामी सबैको दायित्व हो । कसैले त्यसलाई बिथोल्ने प्रयास गर्छ भने खबरदारी गर्नुपर्छ ।
– विमल योगी













प्रतिक्रिया