– नरेश केसी
भैरहवा, १९ भदौ । भारतलाई कडा चुनौति दिँदै नेपाललाई साफ च्याम्पीयन बनाउन मुख्य भूमिका खेलेका साफ अन्डर १९ फुटबलका गोलरक्षक सोजीत गुरुङलाई उनको गृह जिल्ला रुपन्देहीमा भब्य सम्मान सहित पुरस्कृत गरिएको छ ।
गत भदौं ३ गतेदेखी १२ गतेसम्म काठमाडौंमा सम्पन्न सार्क राष्ट्रस्तरीय फुटबलमा नेपाली टिमलाई च्याम्पीयन बनाउन मुख्य भूमीका खेल्ने गोलरक्षक गुरुङलाई जिल्लाको ठुटिपीपल चौंकमा आयोजित भब्य समारोहबीच शनिवार सम्मान तथा पुरस्कृत गरिएको हो ।
गुरुङको सम्मानमा आयोजित सो समारोहमा स्थानीय मगर, गुरुङ र आमा समुहका महिला तथा खेलाडीहरु आ–आफ्नो पोशाकमा सजिएर आएका थिए ।
सो कार्यक्रमा नेपाली टिमका गोल रक्षक गुरुङलाई सम्मान गर्दै प्रमुख अतिथी लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी गणेश केसीले गुरुङ सारा नेपालीको आशा र भरोसाको पात्र भएको जनाउँदै भने–‘मलाई विश्वास छ सोजीत भोली अन्तराष्ट्रिय जगतमा नेपाली फुटबलरको रुपमा देशको शान र मान राख्न सफल हुनेछन् ।’
सोजीतको उत्कृष्ट गोल रक्षा कलाकै कारण नेपाल २२ वर्षपछि अन्डर १९ को साफ च्याम्पीयन बन्न सकेको तर्क गर्दै एसएसपी केसीले भने–‘सोजीत ठुटीपीपपल, रुपन्देही बासीको मात्रै नभएर सारा नेपालीको सुपुत्र बनेको छ । मैले सो खेल शुरु देखी अन्तय सम्म हेरेको थिए । भारतजस्तो प्रतिस्पर्धीलाई गोल गर्नबाट रोक्न सोजीतको भूमिका महत्वपुर्ण रह्यो जसले गर्दा नेपालले इतिहास रच्न सक्यो ।’ एसएसपी केसीले खेलकुदको माध्ययबाट समाजमा अपराध न्यूनीकरणमा उल्लेखनीय टेवा पुग्ने पनि विश्वास व्यक्त गरे ।
ठुटीपिपलमा बुबा कुशल गुरुङ र आमा सीता गुरुङको सुपुत्रको रुपमा ०५६ सालमा जन्मिएका सोजित ०६४ सालदेखी खेलकुदमा पाइला टेकेका थिए । कल्कलाउँदो उमेरदेखी नै खेलकुदमा प्रवेश गरेका सोजीतको एन्फा एकाडेमीमा प्रवेशसंगै उनको व्यवसायिक खेलकुद जीवन शुरुआत भएको हो । सुप्रीमो इन्डिीया, एएफसी अन्डर १४, नवयुवा क्लब प्रतियोगिता जस्ता महत्वपुर्ण प्रतियोगितामा भाग लिईसकेका सोजित नवयुवा क्लब ठुटिपीपलबाट सिफारिश भई राष्ट्रिय टिममा पर्न सफल भएका हुन् ।
अन्डर १६ फुटबल प्रतियोगिताको तयारी गर्दागर्दै साफ अन्डर १९ मा सहभागी थिए । आस्थाश्री बचत तथा क्रण सहकारी संस्था लिमिटेड पडसरीको आयोजनामा सम्पन्न उक्त सम्मान समारोहमा आस्थाश्रीले नगद १० हजार सहित सम्मानपत्र, मिर्नवा हाई स्कुलले नगद ११ हजार १ सय सहित सम्मान, पडसरी गाविसको कार्यालय, नारी विकास संघ, कालिका आमा समुह, महिला समुह, स्थानीय क्लब तथा अगुवा नागरिकहरुले नगद, प्रमाणपत्र सहित खादा ओढाएर सम्मान गरेका थिए ।
सम्मान ग्रहणपश्चात खेलाडी गुरुङले सम्मानले आफूलाई थप जिम्मेवारी थपिदिएको बताएका थिए । उनले भने–‘यो क्षण मेरोलागि महत्वपूर्ण क्षण हो ।’ कार्यक्रम आस्था श्री बचत तथा क्रण सहकारीका अध्यक्ष भीम बहादुर पुनको अध्यक्षता तथा सचिव गोकुल पोखरेलको सन्चालनमा एवं उपाध्यक्ष लक्ष्मण थापाको स्वागतमा सम्पन्न भएको थियो ।
सो अवसरमा नयां गाऊ आमा समुहकी अध्यक्ष डम्बर कुमारी अधिकारी, पडसरी गाविसका सचिव अच्युत भट्टराई, मिर्नवा हाई स्कुलका अध्यक्ष राजकुमार गुरुंग, सामुहिक विद्यालय परिवारका अध्यक्ष प्रेम नारायण पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
सन् १९९३ मा बंगलादेशमा सम्पन्न खेलमा सार्क च्याम्पीयनसीप भएको नेपालले २२ वर्षपछि इंतिहास दोहोराएको हो । तत्कालिन समयमा पनि फाइनलमा भारतलाई हराएको नेपालले यस पटक पनि भारतलाई नै हराउदैं उपाधी चुम्न सफल भएको छ ।
















प्रतिक्रिया