बर्षौदेखि आपसी भाईचाराको सम्बन्ध स्थापित गर्दै एउटै गाउँ समाजमा मिलेर बसेका थारु र पहाडी समुदायका ब्यक्तिहरु अहिले एक अर्कासंग त्रसित छन् । एक अर्कोसंग डराएर भाग्नुपर्ने अवस्थाको सिर्जना भएको छ कैलालीको टीकापुर र आसपासका गाउँहरुमा, आखिर यो अवस्थाको सिर्जना कसरी भयो ? यो अवस्था आउनमा को–को जिम्मेवार छन ? के यी दुबै समुदायका ब्यक्तिहरु निषेधको राजनीति चाहन्छन ? समाजिक सदभाव बिथोल्नमा को संलग्न छन ? यी सबै प्रश्नहरुको उत्तर यतिखेर यो समाजले खोजिरहेको छ ।
पहिलो संबिधान सभाको अवसान हुनुको एक महिना अगाडी सुदूरपश्चिमलाई टुक्राउने संकेत पाएपछि २०६९ साल बैशाख १५ गते कैलालीको टीकापुरमा यसक्षेत्रका बासिन्दाहरुले सुदूरपश्चिमको समाजिक र सांस्कृतिक हिसाबले यसको भौगोलिक अखण्डतालाई कायम राख्नुपर्ने माग राख्दै आन्दोलनको सुरुआत गरे र केहीदिन पछि थारु समुदायका ब्यक्तिहरुपनि सडकमा ओर्लिए ।
आन्दोलनमा एक अर्को समुदायबिरुद्ध संगठित भएर सडकमा उर्लिएको यो बेला देखि नै थारु र पहाडी समुदायकाबीचमा एक खालको द्वन्द्वको स्थिती सिर्जना भएको थियो र अन्ततः २०६९ जेष्ठ १५ गते पहिलो संबिधानसभाको अवसान संगै यो आन्दोलन बिना निष्कर्ष स्थगित भएको थियो ।
यो आन्दोलनले थारु र पहाडीलाई फरक फरक कित्तामा बिभाजन ग¥यो भन्ने कुराको प्रमाण दोस्रो संबिधान सभाको चुनावको परिमाणले देखायो र थारु प्रतिनिधि जनक चौधरी फोरम लोकतान्त्रिकका तर्फबाट सभासद् भए ।
टीकापुर क्षेत्रमा यहि आन्दोलन देखी फैलिएको चिसोपना, आपसी मनमुटाव र ईष्याको स्तिथी घट्नु भन्दा पनि अझ बढ्दै गयो । नयाँ संबिधान जारी हुनैलाग्दा कैलालीको अधाभागलाई थारुहटमा र सुदूरपश्चिमको बाँकी भाग तथा भेरी कर्णालीलाई एक प्रदेश बनाउन खोजेको कुरा बाहिर आएपछि सुदूरपश्चिमलाई कुनै पनि हालतमा टुक्राउन नपाईने भन्दै २०७२ साउन २० गतेबाट फेरि अखण्ड पक्षधरहरुले आन्दोलन शुरु गरे । त्यसपछि आन्दोलनको पुरानै दोहोरी टीकापुरका सडकमा देखिन थाल्यो ।
यसैबीच सरकारले सुदूरपश्चिमलाई अखण्ड राख्दै संघीयताको सीमांकनसहितको खाका सार्वजनिक गर्नु र केही मधेसी नेताहरुले टीकापुरमा गई उत्तेजक अभिब्यक्ति दिनुले थारु समुदायलाई उत्तेजक र आक्रोशित बनायो । यो स्थितीको टीकापुरमा सामाजिक सदभाव खल्बल्याउन चाहने केही तत्वहरुले राम्रै सदुपयोग गरे र फलस्वरुप यहि भदौ ७ गते टीकापुर रक्ताम्य भयो ।
घटनामा प्रहरीका उच्च अधिकृत र डेढ बर्षे बालक सहित ९ जनाले ज्यान गुमाए र टीकापुर शोकमा डुब्यो । टीकापुर घटनामा ज्यान गुमाएकाहरुका आफन्तहरु सहितको आक्रोशित समुहले भदौ ८ गते कही थारु अगुवाहरुका घर तथा पसलमा आगजनी गरे ।
यी घटनाहरुको श्रृङखलाले अहिले टीकापुर त्रासमा छ, एक समुदायका मानिसहरु अर्को समुदायका मनिसहरुसंग डराईरहेका छन् । अझैपनि केही ठूलो घटना घट्ने हो की भन्ने आशंका जनमानसहरुमा रहेको छ । सरकारले दंगाग्रस्त क्षेत्र घोषणा गरी सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिती गराएर टीकापुर बजार शान्त पारे पनि यहाँका मानिसहरुमा त्रास र भयको बाताबरण भने कम भएको छैन ।
टीकापुर घटनाका दोषीहरु पत्ता लगाउनको लागि सुरक्षाकर्मीको टोली गाउँ पसेपछि थारु युवाहरु बिभिन्न नाका प्रयोगगरी भारत प्रस्थान गर्न थालेका छन । बस्तीहरमा महिला बालबालिका तथा बृद्धहरु मात्रै देखिन्छन । थारु समुदायका मानिसहरु टीकापुर बजारमा आउन अझै डराईरहेका छन । असुरक्षाको डरले मानिसहरु सिरानीमा खुकुरी, हसिया लगायतका धारीलो हतियारहरु साथमा राखेर सुत्ने गरेको बताउछन् । निरन्तरको कफ्युले जनजीवन सामान्य हुन सकेको छैन ।
यस समुदायका मानिसहरु यस्तो अवस्थाबाट गुज्रीरहदा यस क्षेत्रका राजनीतिक दल नागरिक समाज तथा सरोकारवालाहरुले भने समाजिक सदभाब कायम गर्न कुनै पहल थालेका छैनन् । कहाँ छन् कैलालीका जनप्रतिनिधिहरु ? यस्तो बिषम परिस्थितीमा जनताको घरदैलोमा आएर सहानुभुती प्रकट गर्न सम्म समय छैन सभासद ज्यूहरुलाई ? यसको जवाफ यस क्षेत्रका सभासद ज्युहरुबाट आओस् ।
यस क्षेत्रका जनताहरु अहिले उहि पुरानो थारु र पहाडीबीचको भाईचाराको सौहाद्रपुर्ण सम्बन्ध छिटो बनोस् भन्ने चाहन्छन् । त्रासको बाताबरण छिटो हटोस भन्ने चाहन्छन् । टीकापुर घटाना हामीले घटाएको हाईन ? यसको निश्पक्ष छानबीन होस् हामी पनी दोषीलाई कारबाही होस भन्ने चाहन्छौ थारु अगुवाहरु भनिरहेका छन् ।
अहिले थारु र पहाडी समुदायबीच बिश्वास को संकट छ । एक खालको बितृष्णा र बैमश्यताको बैरभाव छ । यसलाई चिर्नका लागि थारु र पहाडी समुदायका अगुवाहरु र यस क्षेत्रका जनप्रतिनीधिहरको मुख ताकेर बसिरहेका छन् यस क्षेत्रका जनताहरु । यो थारु र पहाडीहरु बिच निर्माण गरिएको बैमश्यताको खाडल कहिले परिन्छ ? समाजिक सद्भाव कसरी कायम हुन्छ ? यो जवाफ यो स्तिथी सृजना गर्ने राजनीतिक नेतृत्वले दिनुपर्छ र तत्काल समाजिक सद्भाव कायम गराउनको लागि पहल गरिनु पर्छ । समाजिक सद्भावको पर्खाईमा छन टीकापुरबासीहरु ।













प्रतिक्रिया