गौशाला, ५ असार । मध्य तराईको सबैभन्दा पुरानो जलेश्वर कारागारको अवस्था अहिले अस्तव्यस्त बनेको छ ।
धनुषा जिल्लामा कारागार नरहेको र सर्लाही जिल्लाको कारागारमा मर्मतसम्भार भइरहेको कारण जलेश्वर कारागारमा अत्यधिक कैदीबन्दीको भार पर्नाले जलेश्वर कारागार अस्तव्यस्त बनेको हो ।
विसं १९१३ मा निर्माण गरिएको यस कारागारको क्षमता १३५ मात्रै रहेको छ । तर अहिले यस कारागारमा कैदीबन्दीको सङ्ख्या तीन गुणाभन्दा बढी भएर ४५४ पुगेको छ । ३४ महिला, पाँच आश्रित बालबालिकासहित ४५४ जना कैदीबन्दी रहेको कारागारमा वास्तविक कैद तोकिएका ५६ जना मात्र कैदी रहेका छन् भने अन्य पुर्पक्षका लागि कारागारमा रहेका छन् ।
तीमध्ये ३४ जना विदेशी नागरिकसमेत रहेको कारागार कार्यालय जलेश्वरले जनाएको छ । कारागारमा अत्यधिक कैदीबन्दीको भार पर्नाले नित्यकर्म गर्न, सुत्न, बस्न, नुहाउन र दिसापिसाब गर्न निक्कै समस्या हुने गरेको कैदीबन्दी बताउँछन् ।
यता कारागार प्रशासनले पटकपटक कैदीबन्दीको समस्या र कारागारको अवस्थाबारे स्थानीय तथा केन्द्रीय प्रसाशन एवम् कारागार व्यवस्थापन विभाग समेतलाई जानकारी गराउँदा पनि कुनै किसिमको सहयोग नपाउँदा थप समस्या बढ्दै गएको जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो ।
सो कारागार पूर्ण रुपले जीर्ण भइसकेको र पछिल्लो समयमा तराईमा हतियारको राजनीति गर्ने गिरोहका कार्यकर्ता धमाधम पक्राउ परी ल्याउन थालेपछि जलेश्वर कारागार अत्यधिक असुरक्षित र अस्तव्यस्त बन्दै गएको जेलर ठाकुरको भनाइ छ ।
















प्रतिक्रिया