इलाम, ५ असार । वर्षाैंदेखि लाग्दै आएको बजारलाई व्यवस्थित बनाउने उद्देश्यले दुई महिनाअघि इलाम नगरपालिकाले डोजर लगाएर लथालिंग बनाएको विरोधमा व्यवसायीले आज बिहानदेखि बजार बन्द गराएका छन् ।
तरकारी बजार लाग्दै आएको ठाउँलाई व्यवस्थित बनाएर सञ्चालन गर्न भन्दै नगरपालिकाले डोजर लगाएको थियो । तर डोजर लगाएर पहिलेको ठाउँलाई अझ बढी बिगारेको र आफूहरूले तरकारी बजार राम्रोसँग सञ्चालन गर्न नपाएको भन्दै व्यवसायीले इलाम बजार बन्द गराएका हुन् ।
नगरपालिकाले तत्काल बजारलाई व्यवस्थित बनाउनुपर्ने व्यवसायीले एकसूत्रीय माग राखेका छन् । नगरपालिकाले भने बजार व्यवस्थित गर्न डोजर लगाए पनि अहिले बजेट अभावका कारण सम्भव नहुने जनाएको छ ।
हटियाको दिन भएकाले ग्रामीण भेगबाट बजार आएका सर्वसाधारणसमेत प्रभावित भएका छन् । व्यवसायी र नगरपालिकाबीचको समस्या समाधानका लागि इलाम उद्योग वाणिज्य सङ्घमा बुधबार भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको सङ्घकी अध्यक्ष सुशीला सापकोटाले बताउनुभयो ।
आज बिहान व्यवसायी र नगरपालिकाबीच वार्ता हुने भनिए पनि बन्दकर्ता वार्तामा बस्न नआएको इलाम नगरपालिकाले जनाएको छ ।
















प्रतिक्रिया