नेपाली कम्युनिस्ट आन्दोलनको मुलप्रबाह अनि नेपाली राजनीतिमा बेग्लै पहिचान बनाउन सफल नेकपा एमालेको नवौ राष्ट्रिय महाधिबेशन अबका केही दिनमै काठमाडौंमा सुरु हुन गैरहेको छ । नेपाली संचारजगतमा एउटा बेग्लै खालको तरङ्ग बोकेर सुरु हुनगैरहेको यो महाधिबेशनले बिगत केही दिनदेखि र महाधिबेशन समाप्त नभइन्जेलसम्म कार्यकर्ता पंक्तिमा निकै खुल्दुली ल्याइदिने निश्चितप्राय: नै छ। एमालेको आसन्न नवौ महाधिबेसनलाई लिएर नेतृत्वको सवालमा विभिन्न अड्कलबाजी गरिएको छ । साथै, नेतृत्व तहमै बसेर हिजोका दिनमा पार्टीका विभिन्न आरोह-अबरोहहरुमा सहकार्य गरेका नेताहरुबाट केही दिनयता सामान्य कार्यकर्ताहरु भन्दा पनि तल्लोस्तरसम्म झरेर एकले अर्कोलाई होच्याउने अनि कम्जोर बनाउने नाममा बिरोधी पार्टीले प्रयोग गर्ने भाषा प्रयोग गरिदैँछ ।
शीर्षनेताका गुट उपगुट अनि ती गुट-उपगुटले गर्ने गरेका कोठे भेला अनि कोठे भेलाबाट निर्देशित भएको विचार अनि त्यही कोठे नेताबाट आमकार्यकर्ताले भोलिको दिनमा कस्तो खालको एमालेको कल्पना गर्ने हो प्रश्न अनुतरित छ । गुटमा लागेको भरमा अनि २-४ जनालाई झुक्याएर नेताको अगाडि उभ्याएको भरमा पार्टीमा स्थान पाउने हो भने हिजो जीवनको उर्बर समय नेकपा एमालेका नाममा बलिदानी दिने सरल र इमान्दार कार्यकर्ताले कस्तो खालको नेतृत्वको आशा गर्ने ? जनताका थुप्रै न्यायपूर्ण आन्दोलनमा अग्रीम मोर्चामा रहेर काम गरिसकेका शिर्षनेताहरु जसले नेपालीजन र अन्तराष्ट्रिय स्तरमा छबि बनाइसकेका छन् । जो अनुभवले पनि पोख्त छन्, तिनीहरुले नै महाधिबेशनका नाममा आफ्ना पछाडि हिडिदिएको भरमा उ मात्रलाई एमाले देख्ने गलत भावनाको त्याग्न जरुरी छ । पार्टीका ३ लाख सबै कार्यकर्तालाई आफ्नो देख्न सक्ने हैसियत सबै नेताहरुमा र अहिले बिशेषगरि नेतृत्वका प्रतिस्पर्धी नेताहरुमा पलाउन सकेको खण्डमा भोलिको नेपाल एमालेको हुनेमा दुइमत छैन । बर्गीय मुक्तिको लडाईँ लई अधकल्चो राखेर गुटको राजनीतिमा लिप्त हुँदा केहि दिनलाई त सफलता प्राप्त होला । तर, कालान्तरमा नेपाली कम्युनिस्ट आन्दोलनले पनि रसियन कम्युनिस्ट आन्दोलनको जस्तै क्षति बेहोर्ने निश्चित छ ।
म भन्दा पनि हामी र हाम्रो भन्ने भावनाको बिकास सबै नेतामा होस भन्ने कामना सम्पूर्ण इमानदार कार्यकर्तामा रहेको पाइन्छ। बिनाशकाले बिपरीत बुद्दि भनेजस्तै २०५४ सालको पीडालाई उल्टाउने कामको थालनी हुँदैछ, यदि त्यसो भएमा त्यसको भागिदार स्वयम् त्यही गुट र गुटहरुको नेतृत्व गर्ने छोटे महाराजा हुनेछ ।
कुनै पनि पार्टीको महाधिबेशन त्यो पार्टीको नेता कार्यकर्ताहरुका लागि चाडपर्व हो, यो मुस्लिमले भन्ने गरेको इद, हिन्दुले भंन्ने गरेको दशैं या तिहार अनि क्रिस्चियनले भन्ने गरेको क्रिसमस चाड जस्तै हो, जसरी धर्म मान्नेहरुलाई आ(आफ्ना चाडपर्ब प्यारो हुन्छ त्यसरीनै पार्टीका नेता कार्यकर्तालाई त्यो पार्टीको महाधिबेशन त्यतिकै प्यारो हुन्छ । पार्टीको कार्यकर्ता भैसके पछि त्यो पार्टीको महाधिबेशनले निर्धारण गर्ने भाबी कार्यक्रम अनि चुनिने नेतृत्वप्रति कार्यकर्ता पंँक्तिको जिज्ञासा जाग्नु स्वाभाविक हो । तर, गुटको दलदलमा फसेर क्षणिक स्वार्थ प्राप्तिको लागि नेताहरुलाई बैतरणी तराउने भुल कार्यकर्ताहरुले गर्नु हुँदैन । नेकपा एमाले हाम्रालाई भन्दा पनि राम्रालाई चुन्ने बिशाल कार्यकर्ताले बनेको पार्टी अनि त्यो पार्टीका हामी कार्यकर्ता हौँ । त्यसकारण पनि अहिले नै कार्यकर्ता पंक्तिबाट यो र त्यो भन्नु भन्दा पनि महाधिबेशनको मैदानमा पुगि सकेपछि जसले नेकपा एमालेलाई सगरमाथाको शिखरमा पुराउने अभिभारा लिनसक्छ अनि जसले भोलिका दिनमा नेकपा एमालेलाई देशको नेतृत्व लिनसक्ने अवस्थासम्म पुराउन सक्छ, त्यस्तो नेतालाइ नेकपा एमालेको नेतृत्व सुम्पनेतिर सबै महाधिबेशन प्रतिनिधिहरुको ध्यान केन्द्रित हुनु जरुरी छ । अन्यथा समयमा गल्ती गरेर पछि पछुताउनु बाहेक केही बाँकी रहनेछैन ।
नेकपा एमाले नबौ महाधिबेशनसम्मका लागि मात्र बनेको या बनाएको पार्टी होइन, यो पार्टी चन्द्र-सूर्य रहेसम्म रहनुपर्छ भन्ने लाखौलाख सच्चा र इमान्दार कार्यकर्ता अनि सुभेच्छुकहरुको पार्टी हो । त्यही लाखौँ लाख इमान्दार कार्यकर्ताहरुको भावनामा चोट पुग्ने गरी कुनै पनि नेताको मानमर्दन नगर्दा नै बेस । बिगतमा कस्ले के गर्यो त्यसको मिक्षा इतिहासले गर्नेछ। सालिन ,भद्र ,शिष्टता, मर्यादा र समर्पण भाबले नबौ महाधिबेशनमा जुट्नु, गुट भन्दा पनि बिचारलाई केन्द्रबिन्दु बनाउनु बुद्धिमता हुनेछ । अनेक गालीगलौज गरेरै अनि एकले अर्कोलाई खुइलाउँदै गुटलाई मात्र अगाडि बढाएको खण्डमा यो महाधिबेशन एकताको महाधिबेशन हुन सक्दैन । भावी पुस्ताका निम्ति पनि सालिन, सभ्य, भद्र ,शिष्टता, मर्यादा र समर्पणको नमुना हुनु नै एमालेजनतको हितकर हुनेछ ।
(अध्यक्ष नेपाली प्रवासी मञ्च यूएई)














प्रतिक्रिया