– फणिन्द्र दाहाल
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए)को सातौ विश्वसम्मेलन नजिकिदै जाँदा यसले तय गर्ने नयाँ नेतृत्वको विषय बारे अहिले विभिन्न टिकाटिप्पणी शुरु हुन थालेका छन् । विभिन्न पदमा उम्मेदवारी दिने क्रम एकातिर शुरु भैसकेको छ भने अर्कोतिर वर्तमान अध्यक्ष शेष घले नेतृत्व दोहोर्याउन आन्तरिक चालबाजीमा रहेका छन् ।
२ बर्षअघिको विश्वसम्मेलनलाई फर्केर हेर्दा शेष घलेको उम्मेदवारीले गैरआवासीय नेपालीवृतमा नयाँ हलचल ल्याएको थियो । व्यापार व्यवसायमा अष्ट्रेलियामा छुट्टै पहिचान बनाएका र अर्वपतिको सूचिमा परेका तर गुमनाम घलेले एक्कासी एनआरएन अभियानलाई नबुझि कसरी हाँक्कालान् भनेर अड्कलबाजी भइरहँदा एनआरएन अभियानमा दशकौदेखि लागेका व्यक्तित्वहरुलाई लछार्दै नेतृत्वमा पुगे पनि ।
एनआरएनको नेतृत्वमा पुगेका घलेबाट एनआरएन भित्र ठूलो आशा राखिएको थियो । पैसाको रवाफमा घलेले एनआरएन संस्थाको प्रयोग गरेर नाम त कमाए तर त्यही संस्था जन्माएका अगुवाहरुलाई कहिल्यै फर्किएर हेरेनन् । विनाशकारी भुकम्पका कारण मुलुक संकटमा पर्दा सवैभन्दा पहिला उद्धार र राहतमा खटेर एनआरएनएले जति स्यावासी पायो त्यो भन्दा बढि पछिल्लो समय घलेको कार्यशैली माथि उठेको प्रश्नले एनआरएन अभियानकर्ताहरुका साथै विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीलाई बिल्कुल खल्लो बनाइरहेको छ ।
त्यसो त यसअघिनै घलेलाई अग्रज तथा एनआरएनएका अभियन्ताहरुलाई वाइपास गर्दै एकल ढंगले संस्था हाकेको आरोप नलागेको होइन् तर राहत वितरण कार्यमा यो तथ्य छताछुल्ल भएर पोखियो । विनाशकारी भुकम्प लगत्तै आकस्मिक बैठक बसेर तेश्रो दिनमै नेपाल आइपुगेर राहत वितरण थालेको एनआरएनए टिम र यसका नेतृत्वकर्ता अध्यक्ष घलेलाई साथ दिन संसारभर छरिएर रहेका एनआरएनहरु नेपाल आइपुगे । राहत वितरण कार्य सम्पन्न पनि भयो तर यहीबीचमा घलेलाई नजिकबाट चिन्ने मौका पाएका एनआरएनहरुले सो समय संस्थाको गरिमा माथि प्रश्न उठ्ला भनेर केहि बोलेनन । अहिले यस विषयमा विभिन्न कुराहरु बाहिर आउन थालेका छन् ।
राहत अभियानका लागि राम्रै नगद सहयोग गरेका एनआरएनएका एक पुर्वअध्यक्षले त घलेका सहयोगीबाट चित्त नै दुख्ने जवाफ खेप्नुपर्यो । भूकम्पपीडितका लागि १ थान त्रिपाल एनआरएनको कार्यालयमा माग्दा जमुना भाउजु (शेष घलेकी श्रीमति)लाई सोध्नुपर्छ भन्ने जवाफले उनी चकित मात्र परेनन् आफु अपमानित भएको समेत महशुस गरे । उनले दुखेसो पोख्दै भने–‘ आफैले जन्माएको संस्थामा आफै पराई भइएछ ।’
पहिलो त राहत वितरणमा संस्था भन्दा पनि घले व्यक्तिगत रुपमा प्रस्तुत भएको एनआरएनका केहि अभियान्ताहरुको ठम्याई छ । संस्थागतरुपमा सहयोग संकलनमा नलाग्नु, अग्रज तथा संस्थापकहरुसँग सल्लाह सुझाव नलिनु बरु व्यक्तिगत सहयोग गरेजस्तो गरी आफैंले मात्र जस लिएर एनआरएनका अभियन्तालाई बाइपास गर्दा उनी बिस्तारै उदाङगिरहेका छन् । अझ घलेले एनआरएनका अगुवा तथा सदस्यहरुलाई आफ्नो कामदारलाई काम गर्न खटाए जस्तो व्यवहार गर्दा धेरै एनआरएनहरु उनीप्रति चिढिएका छन् । संस्थाप्रति पराई भएको महशुस गरिहेका छन् ।
संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पुर्व अध्यक्ष देवमान हिराचन, जीवा लामिछाने, संस्थापक भिम उदासलगायतका अग्रजहरु छुट्टै रुपमा राहत वितरणमा लाग्नु तथा विभिन्न मुलुकका एनआरएनए अभियन्ताहरु पनि व्यक्तिगतरुपमै सहायतामा जुट्नुले पनि यो कुरा प्रष्ट हुन्छ । यदि अध्यक्ष घलेले अग्रजहरुको साथ लिएर संस्थागतढंगबाट अघि बढेर गैरआवासीय नेपालीहरुको सहयोगलाई एकीकृत गरेको भए यो एनआरएनए अभियानकै इतिहासमा ठूलो काम ठहरिने थियो ।
उता घलेमाथि एकलढंगले संस्था चलाएको आरोप पनि छ । संस्थाले गर्ने हरेक कार्य उनको व्यक्तिगत निर्णयमा चल्छ । यस कार्यमा अध्यक्ष घले आफ्नी श्रीमती जमुना घलेको निर्देशनमा चल्ने गरेको एनआरएन बृतमा छताछुल्लै छ । यहाँसम्मकी अध्यक्षलाई उनकै कार्यसमितिमा रहेका पदाधिकारीहरुले समेत सहज ढंगमा भेट्न पाउदैनन् । धेरैले उनीप्रति संस्थालाई नीजि कम्पनीकोढंगमा अघि बढाएकोमा रोष प्रकट गरेका छन् ।
अर्को रोचक पक्ष एनआरएनए इतिहासमा संस्थाका तर्फबाट सरकार तथा अन्य महत्वपूर्ण निकायसँग छलफल वा भेटवार्ता गर्दा पदाधिकारीबीच छलफल गरी पदाधिकारी तथा अग्रजहरुसमेत सामूहिकरुपमा प्रस्तुत हुने परिपार्टीलाई त्याग्दै घले यस्ता कार्यका लागि एक्लै जाने गरेका छन् । उनको भेटवार्ता तथा छलफल उनको फेसवुक पेज तथा एनआरएनएका प्रवक्ता मन केसीको विज्ञप्तीपछि मात्र अरुले पत्तो पाउछन् । एनआरएनका अग्रजहरु तथा पदाधिकारी काठमाडौंमा हुँदा समेत घले सुटुक्क एक्लै त्यस्ता भेटवार्ता गर्दछन् । एनआरएनका एक अग्रज भन्छन् –‘ एनआरएनको संस्थागत नै भेटवार्ता हो भने किन अध्यक्ष एक्लै जान्छन्, संस्था भजाएर व्यक्तिगत फाइदाका लागि हो भन्ने प्रष्ट हुन्छ ।’
घले दम्पत्तीले चर्चा कमाउनका लागि एक अर्बको सामाजिक कोष स्थापना गर्ने उद्घोष गरे । एनआरएनजस्तो पवित्र संस्था हुँदा हुँदै आफ्नो नीजि कम्पनीमार्फत कोषको स्थापना गर्नुले पनि घलेको एनआरएनप्रति कति आस्था वा दुरदर्शिता रहेछ भन्ने प्रष्ट हुन्छ । किन घलेले एनआरएनमार्फत उक्त कोष घोषणा गरेनन् एनआरएनहरु भित्र प्रश्न छ ।
व्यक्तिगत चर्चाका लागि घलेले पुनः नेतृत्व दोहोर्याउने संकेत दिइरहँदा एनआरएनका अगुवाहरुले अब सोच्ने बेला आएको छ ।















प्रतिक्रिया