२९ आश्विन २०८३, बिहिबार

रोएको एउटा प्रहरी मनको प्रश्न: प्रहरीलाई जिउँदै जलाएर कस्तो संघियता ल्याउँछौ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shibaji-shrestha

– शिवजी श्रेष्ठ

केही समय अघि संविधानसभाका सभासदहरु जब राय सुझाव संकलनको लागि ठाउँ-ठाउँमा खटिएका थिए, त्यसै सिलसिलामा सभासद तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमथि कुर्सी प्रहार भएको घटनामा प्रहरीहरुले चारैतिरबाट घेरेर उनलाई बचाउ गरेको फोटो फेसबुकमा राख्दै एक चर्चित पत्रिकाका सम्पादकले स्टाटस लेखेका थिए – ‘कहिले यिनैबाट बच्नुपर्ने, कहिले यिनैलाई बचाउनुपर्ने ।’ अचम्मको अवस्था भोग्नुपर्छ प्रहरीले । फेरि कहालीलाग्दो घटना भोग्नुपरेको छ नेपालका प्रहरीले । जनयुद्धका घटनाहरुलाई समेत बिर्साइदिने प्रकृतिको घटना हुन पुगेको छ, कैलालीको टिकापुरमा । नेपाल प्रहरीका वरिष्ठ उपरिक्षकसहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृत तथा जवानहरु दर्दनाक तवरले मरिरहेका छन् । सामाजिक सञ्जालदेखि अनलाइन स्चारमाध्यमहरु यहि समाचारहरु र प्रतिक्रियाहरुले रुंगिएका छन् । कसैले भन्न सकिरहेका छैनन्, के भइरहेको छ ? किन भइरहेको छ ? कसरी भइरहेको छ ? एउटा गुण्डा मारिँदा ठूला ठूला स्वरुमा आवाज उठाउने सभासद्हरु यत्रा सुरुक्षाकर्मीहरु आतताही तवरले मारिँदा समेत सानो आवाजमा समेत बोल्न खोजिरहेका छैनन् । शुरुमा सामाजिक सद्भाव भड्काउनै कार्यकौ बिजारोपण गर्ने नेताहरु निर्लज्जै भएर सामाजिक सद्भावको आव्हान गरिरहेछन् । नेताले जनताले भडकाउँछन् तर देशले त्यसको परिणाम भोग्छ । जसको पहिलो प्रहार प्रहरीले नै सहनुपर्छ । आन्दोलन होस् या कुनै नाममा हुने संघर्ष, सबैको मार प्रहरीले नै खेप्नुपर्छ । त्यस्तै हुन्थ्यो हिजो पनि, त्यस्तै भइरहेछ आज पनि ।

आफू मरेर गए पनि प्रहरीका कमाण्डरले संयमता अपनाए । आफूले ज्यान गुमाएपनि धर्मता गुमाएनन् । राजनीतिक नेतृत्वको गैरजिम्मेवारीपनको परिणाम भोग्न तयार भएपनि प्रहरीले आफ्नो जिम्मेवारी पूरा गरिरहे । तर सोध्न मन लाग्छ — कहिलेसम्म प्रहरीले मात्रै यी नेताहरुको गैरजिम्मेवारीपनको प्रहार भोगिरहने ? हिजो-आज बाँडिएका तिनै सपना तिनै बितरकहरुबाट टुटाइँदा भएको जनआक्रोशको प्रहार खेप्दै फेरि आफूहरु मारिँदै आफन्तहरुलाई रुवाइरहेछन् ।

हिजो जस्तै जातको नाम क्षेत्र—क्षेत्र र खण्ड—खण्डको नाममा राज्य बाँडनेहरु जसले मिल्ने भन्दा बढी, अनि सक्नेभन्दा अचाक्ली आश्वासन र सपनाका बिटाहरु बाँडे । ती सपना बाँडेर भएको दश वर्षे जनयुद्धमा पनि तिनै प्रहरीहरुले मार र प्रहारहरु पाए । सबै तप्काका जनताहरुलाई तताए, उत्तेजित गराए । तर, कालान्तरमा आफू सेलाए अनि हिजो बाँडेका खण्ड—खण्ड राज्यहरुलाई राख्ने गरी “ब्याक गियर”लगाए । पूरा गर्न नसकिने सपना देखाइएका जनताको उत्तेजित मार फेरि प्रहरीले नै भोग्नुपरेको छ ।

हिजो यही सपना बाँड्ने युद्धमा पनि प्रहरी नै मारिन्थे, आज यही सपना नदिएको खण्डे—अखण्डे सम्झौताका पराक्षेपमा पनि त्यही प्रहरी नै मारिएका छन् । यस्तै भएको थियो बेलायतमा पनि, जब सन् १८३३ मे महिनामा क्रान्तिकारी समूहको नामबाट सार्वजनिक भेला गरिएको थियो । राजनैतिक परिवर्तनका मागहरुसहित आव्हान गरिएको सो कार्यक्रमलार्ई प्रतिबन्ध लगाइएदिए तत्कालिन गृहमन्त्रीले । प्रहरी परिचालन भयो तर संयमित प्रहरीमाथि भीडले चक्कु प्रहार गरेर प्रहरीहरु मारे । यतिसम्म कि बेलायतको वाटरलु युद्ध लडेर प्रख्याती कमाएका तत्कालिन प्रहरी कमाण्डर लेफ्टिनेन्ट कर्णेल समेत चक्कु प्रहारबाट मारिए । अझ फ्रान्समा त झन सन १८९१ को ‘मे डे’मा प्रहरीमाथि सामूहिक आक्रमण गर्दै करिब दर्जनौँ प्रहरी मारिए । त्यसपछि मात्र प्रहरीलाई विशेषाधिकार र साधन सम्पन्न संसदीय प्रतिक्षा नै जारी गरियो । त्यतिखेर एउटा प्रश्न उठाइएको थियो—के यो राजनैतिक कार्यक्रम थियो वा प्रहरी व्यवस्थामाथिको प्रहार ? अहिले यहि प्रश्न नेपालमा पनि उठाइपर्ने भएको छ । के हिजोको घटना खण्ड र अखण्ड वा जातीय राज्यको नाममा स्वभाविक रुपमा उठेको आन्दोलनचीचको एउटा घटना हो ? वा प्रहरीप्रति नियोजित तबरले साँधिएको प्रतिशोध हो ? गजब त यो छ कि अनुमान नै गर्न नसकिने सयौँको संख्यामा रहेका प्रहरीका कमाण्डरबीच सडकमा पिटी—पिटी मारिएका छन् । थारुहरुका लागि भनेर गरिएका हिसांत्मक आन्दोलनमा एउटा निर्दोष राष्ट्रसेवक थारु प्रहरी हबल्दार समेत जिउँदै जलाइएका छन् ।

प्रहरी वास्तवमा सिक्काको रुपैँया लेखिएको एउटा यस्तो पाटो हो, जो जुनसुकै सरकार र व्यवस्था बदलिए पनि बदल्न सकिन्न । जे जस्तो व्यवस्था वा सरकार आएपनि चाहिन्छ । जसले व्यवस्था वा सरकार बनाउनका लागि, अझ भनौँ शान्ति सुव्यवस्था कायम राख्नका लागि जस्तोसुकै मार खेप्न पनि तयार हुन्छ । हिजो पञ्चायत रह“दा होस् वा पञ्चायत जाँदा होस् । बहुदलीय व्यवस्था जोगाउनका लागि पनि यसैले प्रहार खेप्यो अनि गणतन्त्र संस्थागत गर्ने नाममा, अहिले फेरि संघियताको नाममा अझ भनौँ हिजो उत्ताउलो भएर आफैले देखाएका सपनाका नाममा ।
तर एउटा स्वीकार्नै पर्ने यथार्थ के हो भने, घटनास्थल र घटना विवरणले भन्छ —आफू मरेर गए पनि प्रहरीका कमाण्डरले संयमता अपनाए । आफूले ज्यान गुमाएपनि धर्मता गुमाएनन् । राजनीतिक नेतृत्वको गैरजिम्मेवारीपनको परिणाम भोग्न तयार भएपनि प्रहरीले आफ्नो जिम्मेवारी पूरा गरिरहे । तर सोध्न मन लाग्छ — कहिलेसम्म प्रहरीले मात्रै यी नेताहरुको गैरजिम्मेवारीपनको प्रहार भोगिरहने ? अनि यिनै प्रहारहरु प्रहरीका आमा, श्रीमती, नाबालक बच्चा अनि यिनै आफन्तहरुलाई रुवाइरहने ? हिजो सपना बाँड्ने नाममा भएका युद्धमा पनि यिनै प्रहरीले चारैतिरबाट प्रहार खेप्दै आफन्तलाई रुवाए । हिजोआज बाँडिएका तिनै सपना तिनै बितरकहरुबाट टुटाइँदा भएको जनआक्रोशको प्रहार खेप्दै फेरि आफूहरु मारिँदै आफन्तहरुलाई रुवाइरहेछन् ।

हिजो युद्धको नाममा थिलोथिलो पारिएको प्रहरी, जो बिस्तारै आफूलाई पुनस्र्थापित गर्दै थियो, फेरि कुनै न कुनै नाममा थिलोथिलो पार्न थालिएको छ । तसर्थ भन्न मन लागेको छ – हे प्रहरी संयमतामा असंयम भएर प्रहार गर्नेहरु अनि प्रहरीको धैर्यतामा अधैर्य भएर आततायी व्यवहार गर्नेहरु प्रहरीलाई थिलोथिलो पारेर तिमीहरु कहिल्यै बलियो हुने छैनौ । एउटा निर्दोष प्रहरी जवानलाई जिउँदै जलाएर तिमीले संघीयताको राप ताप्न पाउने छैनौ । अनि तिमै्र सुरक्षाको लागि निस्किएका प्रहरीलाई भाला रोपेर तिमीले चाहेको जातीय संघीयताको मजा लुट्न पाउने छैनौ । तसर्थ रोएको एउटा प्रहरी मनले सोध्न मन लागेको छ– संघीयतारुपी चेस खेलको बादशाहहरुलाई घेरेर बस्न बाध्य पिउसारुपी प्रहरीहरुको संयमतामाथि प्रहार गरेर तिमीले के पाउँछौ ? आखिर तिमीहरु प्नि त्यही बादशाहरुकै वरपर घुम्ने एउटा गोटी मात्र न हौ ।