रियो दि जेनेरियो : क्रोएसियाले विश्वकपमा राम्रो सुरुआत गर्न सकेन। समूहगत चरणको पहिलो खेलमै क्रोएसिया घरेलु टोली ब्राजिलसँग ३-१ गोलले पराजित भयो। खेलमा सुरुआती अग्रता लिएको भए पनि क्रोएसियाले त्यसलाई सदुपयोग गर्न सकेन।
यद्यपि क्रोएसियाको प्रदर्शन चर्चायोग्य रह्यो र प्रशंसा बटुल्यो। क्रोएसियाका खेलाडीलाई एकातिर विश्वकप जितेर सुरुआत गर्न नसक्नुको दु:ख थियो भने अर्कोतिर राम्रो टिमसँग राम्रो प्रदर्शन गर्नुको खुसियाली पनि।
तर योभन्दा फरक विषयले यतिबेला यी खेलाडी दु:खी छन्। ब्राजिलसँग खेलेको दिनको रात क्रोएसियाका खेलाडी बेलुका होटेलमा रहेको स्विमिङ पुलमा निर्वस्त्र भएर नुहाए। गोप्य रूपमा होटेलमा छिरेका फोटो पत्रकारले निर्वस्त्र अवस्थामा रहेका खेलाडीको तस्बिर लिए।
यतिबेला ती तस्बिर सञ्चारमाध्यममा छापिएपछि क्रोएसियाका खेलाडी तथा पूरा टिम तनाउमा छ। खेलाडीले व्यक्तिगत जीवनमा आक्रमण गरेको भन्दै विश्वकप विषयमा पत्रकारसँग बोल्न अस्वीकार गरेका छन्।
क्रोएसियाका प्रशिक्षक निको कोभाकले कुराकानी गर्न आफू बसिरहेको होटेलमा आएका पत्रकारसामु आक्रोश पोखे। ‘तपाईंहरू (पत्रकार)ले उनीहरू (खेलाडी) र उनीहरूको परिवारलाई जे गर्नुभयो, त्यो राम्रो भएन’, कोभाकले भने। – एजेन्सी













प्रतिक्रिया