१२ मंसिर २०८३, शनिबार

८ पटकको विश्व च्याम्पियन मार्क मार्केजले मोटोजीपीबाट लिए सन्यास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मोटोजीपी च्याम्पियन मार्क मार्केजले आठौं उपाधि जितेको केही दिनपछि नै अवकाश लिने घोषणा गरेका छन् ।

३३ वर्षीय स्पेनी खेलाडीले गत सप्ताहन्तमा पोर्चुगलमा विश्व च्याम्पियनसिपको उपाधि सुरक्षित गर्दै जियाकोमो अगोस्टिनी र आधुनिक युगका महान राइडर भ्यालेन्टिनो रोसीसँग उपाधि संख्याको बराबरी गरे ।

डुकाटीका राइडर मार्केजले गत जुनमा सन् २०२८ सम्म सम्झौता नवीकरण गरेका थिए, तर अब आइतबार भ्यालेन्सियामा हुने सिजनको अन्तिम रेसपछि व्यावसायिक करियरबाट बिदा लिनेछन् ।

“यात्रामा सहभागी सबैलाई धन्यवाद,” उनले भने, “मलाई आशा छ कि तपाईंहरूले पनि मलाई जस्तै रमाइलो गर्नुभयो ।” मार्केजले सन् २०१३ मा पहिलो उपाधि जितेका थिए र प्रिमियर/मोटोजीपी श्रेणीमा नयाँ वर्षको सुरुवातमै उपाधि जित्ने एक मात्र राइडर हुन् ।

उनले होन्डाबाट मोटोजीपी करियर सुरु गरी सन् २०१९ सम्म सात सिजनमा ६ वटा उपाधि जिते । सन् २०२४ मा स्याटेलाइट डुकाटी टोली ‘ग्रेसिनी रेसिङ’ मा आबद्ध भएपछि उनले पछिल्ला दुई सिजन डुकाटीको फ्याक्ट्री टोलीसँग बिताए । दुवै सिजन च्याम्पियनसिप जितेसँगै उनी रोसीपछि दुई फरक निर्माताबाट कम्तीमा दुई विश्व उपाधि जित्ने राइडर बने ।

“यो आधिकारिक हो,” टोलीको विज्ञप्तिमा भनिएको छ, “मार्क मार्केजले मोटोजीपीबाट अवकाश लिने निर्णय गरेका छन् र २०२६ भ्यालेन्सिया ग्रान्ड प्रिक्स व्यावसायिक राइडर तथा डुकाटी लेनोभो टोलीका सदस्यका रूपमा उनको अन्तिम दौड हुनेछ ।”

मार्केजका कान्छा भाइ एलेक्स पनि मोटोजीपीमा प्रतिस्पर्धा गर्छन् र गत सिजन समग्र अंकतालिकामा उनीपछि दोस्रो स्थानमा रहेका थिए ।

इटालियन महान् राइडर अगोस्टिनीले सन् १९६६ देखि १९७५ को बीचमा आठ उपाधि जितेका थिए भने भ्यालेन्टिनो रोसीले सन् २००१ देखि २००९ को अवधिमा आफ्नो वर्चस्व कायम राखेका थिए । प्रिमियर क्लासमा सर्वाधिक ८९ जितको कीर्तिमान रोसीको नाममा छ भने मार्केजले ८० जित हात पारेका छन्, जसमध्ये सात जित उनले यही सिजनमा हासिल गरेका हुन् ।

चोटपटक र दुर्घटनाले भरिएको सिजनका बाबजुद मार्केजको यो पछिल्लो च्याम्पियनसिप यात्रा सम्भव भएको हो । यस सिजन पहिलो जितका लागि उनले हंगेरीमा भएको आठौं रेससम्म कुर्नुपरेको थियो । गत मार्चमा थाइल्यान्डमा भएको सिजनको पहिलो रेसमा उनको टायर पन्चर भयो, त्यसपछि स्पेनिस ग्रान्ड प्रिक्स (जेरेज) र फ्रेन्च ग्रान्ड प्रिक्समा उनी दुर्घटनामा परे । फ्रेन्च ग्रान्ड प्रिक्समा खुट्टा भाँचिएपछि उनी त्यसपछिको ‘क्याटालन ग्रान्ड प्रिक्स’ मा सहभागी हुन सकेनन् ।

खुट्टा र काँधको शल्यक्रियापछि जुन महिनाको सुरुतिर मुगेलोमा आयोजित इटालियन ग्रान्ड प्रिक्सबाट पुनरागमन गर्दा उनी मार्को बेजेचीभन्दा १०२ अंकले पछाडि थिए । तर त्यसपछिका १३ ग्रान्ड प्रिक्समध्ये सातमा जित निकालेपछि उनले पुनरागमन गरे । कतार र शनिबार अल्गार्वेमा भएको ‘स्प्रिन्ट रेस’मा उपाधि पक्का गर्ने मौका गुमाए पनि अन्त्यतः आफ्नै देशमा हुने अन्तिम रेस सप्ताहअघि नै उनले च्याम्पियनसिप सुनिश्चित गरे ।